लेखक अधिवक्ता दिपक कुमार बिष्ट

पुरुष उत्पीडन : दबिएका आवाजहरु दोश्रो श्रृङ्खला

Hollywood Khabar January 26,2020 Comments

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो पुरुष प्रधान देशमा पुरुष हिंसाको कुरागर्दा अचम्म लाग्नु स्वभाविक पनि हो।नेपाली समाजमा लुकेर रहेको एउटा तितो यथार्थ हो पुरुष पीडाहरु।पुरुष माथि पनि हिंसा हुन्छ भन्ने वास्तविकतालाई समाजमा सहजै स्विकार्न सक्ने अवस्था अझै  देखिन्न।

हिंसा आखिर हिंसा नै हो चाहे त्यो महिला माथि होस या पुरुष माथि ।जुनसुकै किसीमको हिंसा भए पनि त्यसका बिषयमा आवाज उठाउनु जरुरी छ । आधुनिकताको बिस्तारिकरणसंगसंगै  महिला हिंसा र पुरुष हिँसा करीब करीब एउटै रफ्तारमा बढिरहेको कुरा उपत्यकाभित्र रहेका महिला तथा बालबालिका सेलहरुमा आउने गरेका विवाद यानेकि केसहरुको विवरणले देखाउँछ।पीडित पुरुष स्वयंले आफू पुरुष भएर पनि एउटी नारीबाट या अन्य व्यक्तिहरुबाट अन्याय अत्याचार सहेर बस्नु परेकोमा आफैलाई खेद हुने हिनता बोध हुने तथा परिवार,समाज र साथीभाइले केहि भन्लान् कि भन्ने संकोच र डर त्रासले गर्दा चुपचाप सहेर मनको पीडा मनभित्रै गुम्स्याएर बस्ने गरेको देखिएको छ। पुरुष हिंसालाई बढवा दिनमा पुरुषमा रहेको पुरुष वादी सोचले नै प्रमुख भूमिका खेलिरहेको देखिन्छ । आफ्नो पुरुषार्थ मै समाजले ठुलो प्रश्न चिन्ह लगाइदेला कि वा नामर्दको उपमा पो दिने हो कि भन्ने डरले गर्दा एउटा पुरुष, हिंसाबाट ग्रसित भएर बस्नु परेको अवस्था छ। संविधान तथा नेपालमा प्रचलित कानुनहरुले पुरुष हिंसालाई खासै महत्त्व दिएको पाईदैन।

शारीरिक, मानसिक,घरेलु होस् वा सामाजिक, हिंसा त हिंसा नै हो।चाहे त्यो पुरुषद्वारा भएको होस्, चाहे महिलाद्वारा। हो, पुरुषहरू पनि हिंसाको सिकार हुन सक्छन्।पुरुषबाट महिलाहरू मात्र अन्याय र अत्याचारको चपेटामा परेका हुँदैनन्,पुरुषहरू पनि महिलाबाट प्रताडित भएका हुन्छन् भन्ने कुरा पछिल्लो समयमा विभिन्न सामाजिक घटना परिघटनाले देखाएको छ।

शारीरिक हिंसाको मारमा महिला बढी परेको हुनसक्छन् भने मानसिक हिंसाको मारमा पुरुष पनि कम  परेका छैनन्।यो समाजमा एउटा नारी त खुलेर रुन कराउन सक्छन् तर एउटा पुरुष आफू माथि भएको हिंसा खुलेर व्यक्त गर्न वा मन हल्का हुनेगरि रुन कराउन सक्दैन किनकि पुरुषलाई छोरा मान्छे भएर नि रुने हो भनेर सानैदेखि रुन हुन्न भनेर रटाईएको छ ।  छोराको आँखामा आँसु पटकै सुहाउँदैन भन्ने धारणा बसायका छौँ । जसले गर्दा साँच्चै लोग्नेमान्छे हुन यानेकि मर्द छोराले रुन हुन्न रुने मान्छे लाछी नामर्द र कमजोर ठहर्याईने हाम्रो सामाजिक अवधारणाले पनि पुरुषलाई रुन बाट रोकेको देखिन्छ । 

विडम्बनाको कुरा के हो भने, एउटी महिला आफू बलात्कृत भएको उजुरी दिन सजिलै प्रहरी कहाँ जान सक्छिन् तर एउटा पुरुष आफू कुनै नारीद्वारा बलात्कारको सिकार भएको उजुरी दिन सजिलै जान सक्दैन।ठुलो आँट गरेर गई हाले पनि उसलाई त्यहाँ एक पटक हाँसोको पात्र बनाइन्छ । जसोतसो उजुरी दर्ता भइहाले पनि त्यसलाई हल्का रूपमा लिएर बेवास्ता गरिन्छ । महिला र पुरुषको समस्यालाई हेर्ने हाम्रो सोचाइ नै गलत छ । सामाजिक परिवेशले जन्माएको हामीहरुमा जरा गाडेर बसेको यो सोचाइलाई परिवर्तन गर्न जरुरी छ। महिला भन्ने बित्तिकै सबै असल नै हुँदैनन् र सबै पुरुष खराब पनि हुँदैनन्।

संविधानले दिएको महिलाको हकको दुरुपयोग गर्दै विवाहजस्तो पवित्र सामाजिक बन्धनलाई लत्याएर खाडीमा पतिले बगाएको पसिनाको कमाईलाई मोजमस्तीमा उडाएर पुरुषलाई कमाई खाने भाँडोको रूपमा प्रयोग गर्दै हिँडेका पनि नभेटिएका होइनन्। मलाई सकेर गई, सर्वस्व लुटेर गई भन्दै रुँदै बिलौना गरेका पुरुषका क्रन्दनयुक्त आवाजहरू पनि हामी उपेक्षा गरिरहेका छौं ।

बाहिर समाजलाई देखाउन अरूलाई आइस्योस-गइस्योसको चिल्लोचाप्लो घस्ने तर घरभित्र श्रीमानलाई  तथानाम गाली गर्दै झाडु हान्नेहरु पनि यही समाजमा देखिन्छ। नारी पुरुष बराबरी भने झैँ साँच्चै बराबर भएका छन् हिंसाको मामिलामा आजकल । महिला हिंसाको मारमा त विशेष गरी चेतनास्तर कम भएका ग्रामीण विकट भेगका गरिब निरक्षर, आफ्नो हक अधिकारको बारेमा समेत जानकार नभएका,श्रीमानको  कमाईका भरमा बाच्नुपर्ने महिलाहरू परेको हुन्छन् भने पुरुष हिंसाको मारमा त चेतनशील, धनाढ्य, साक्षर र सक्षम व्यक्तिहरू नै बढी परेका हुन्छन् ।बाध्य भएर सहेर बस्ने गरेकाले समाजमा पुरुष हिंसाले प्रश्रय पाइरहेको अवस्था छ। पुरुषत्व भङ्ग हुने नामर्द कहलाईने डरले महिला हिंसा सहेर आफैँमा हीनताबोध गर्दै बस्ने पुरुषहरुको संख्या दिनानुदिन बढ्दो देखिन्छ। दिन दुइगुणा रात चौगुना समाजमा हिंसा बढीरहेको छ। समाजरुपी रथ हाँक्ने दुई पाङ्ग्राको प्रतिनिधि कर्ता हुन् नारी पुरुष तर एकले अर्कोमाथि हिंसा अन्याय अत्याचार गर्दै जाने हो भने कहाँ रहन्छ सामाजिक सद्भाव, सम्मान र एकता ।समयमै सोचौं, सोच्न ढिला नहोस।