-तस्बिर वेब

राष्ट्रपतिद्वारा बिहान ९ बजेर ५१ मिनेटको शुभ साईतमा टीका ग्रहण

Hollywood Khabar October 18,2018 Comments

२ कात्तिक, काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभएको छ।राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो।स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गर्नुभएको थियो। 

शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा,कुमारी,महाकाली,महालक्ष्मी र महासरस्वतीको पूजा अर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा,तिलक र रक्षासूत्र ल्याइएको थियो। राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गर्नुभयो।त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गर्नुभएको थियो।राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो।