तस्बिर साभार वेब

प्रहरीले कुटपिट गरेको कारण क्वारेन्टाइनमा आन्दोलन

Hollywood Khabar May 26,2020 Comments

१४ जेठ राजविराज ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी बल्लभ नरसिंह माविको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन्। क्वारेन्टाइनमा राति मदिरा पिएर आएका प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले खानासमेत छाडेका छन्।उनीहरूले आरोपित प्रहरी सहायक निरीक्षक (असइ) सञ्जयकुमार सिंहलाई कारवाही नभएसम्म खाना नखाने अडान लिएका छन्।

बर्साइन प्रहरी चौकीका असइ सिंहले मङ्गलबार राति क्वारेन्टाइनमा बसेका भारतीयलाई निकाल्न खोजेपछि विवाद भएको कुसुमलाल मण्डलले बताए। भारतको चण्डिगढ घर भएका दम्पति आफ्नो बुवा र ससुराको वार्षिकी तिथिका लागि तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरा आएका थिए भने सितामढी घर भएका एक भारतीय कुशहा टोलमा बस्दै आएका छोराछोरी भेटन आएका थिए ।

रातको समयमा दम्पतिलाई निकाल्न खोजेको भन्दै क्वारेन्टाइनमा बसेका उनका आफन्तले प्रहरीलाई अवरोध गरेका थिए।निकाल्ने भए हामी सबैलाई निकाल्नु पर्ने भन्दै क्वारेन्टाइनमा बसेका बाहिरिएपछि प्रहरी पछाडि हटेको थियो।कुशहामा छोराछोरी भेट्न आएका भारतीय भने राती नै आफन्तकहाँ गएको प्रहरीले जनाएको छ।क्वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन्।कुटपिट गरेको आरोप अस्विकार गर्दै असई सिंहले आफूलाई ठेल्दै आएकालाई लाठीको दुई किनारमा समातेर ठेलेको तर नकुटेको बताए ।