पोखराको रोपाइँ महोत्सवमा २५ सय पर्यटक हिलोमा लुटुपुटु हुने 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

68 views
-तस्विर वेब

१०असार,पोखरा।यसबर्षपनि असार १५ गते राष्ट्रिय धान दिवसका दिन पोखरामा रोपाइँ महोत्सव हुने भएको छ।पोखरा पर्यटन परिषदले पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडामा आयोजना गर्ने रोपाइँ महोत्सवमा हल गोरु दौडाएर, हिलोमै माछा समाएर, हिलो छ्यापाछ्याप गरेर र दही चिउरा खाएर रमाइलो गरिने भएको छ। महतगौंडा बिरुवाफाँटस्थित  किसान ऋषिराम भण्डारीको करिब ४ सय रोपनी खेतमा यसपटक पनि स्वदेशी एवं विदेशी गरि २५ सय पर्यटक हिलोमा रमाउन आउने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेको दावी छ।

रोपाइँ महोत्सवमा अमेरिकाको रोट्रेडम युनिभर्सिटी,जापान, सिंगापुर, चीन, जर्मन, इटाली, फ्रान्सलगायतका देशका पर्यटक पनि हिलोमा रमाउन पोखरा आउँने गरेका छन् ।रोपाइँ महोत्सवमा हल गोरुको दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा महिला, पुरुषको दौड, विदेशी पर्यटक र पत्रकारको दौड, हिलोमै हुने रस्साकस्सी,असारे गीत, दही चिउरा र विभिन्न खानाका परिकार र सांस्कृतिक कार्यक्रम हुने गरेका छन्।

महोत्सवलाई सफल बनाउन अध्यक्ष पोखरेलकै संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति र १८ वटा उपसमिति गठन गरिएको सचिव डिल्लीप्रसाद गौतमले जानकारी दिए । महोत्सवमा रमाउन आउने पाहुनाका लागि आचारसंहितासमेत बनाइएको छ ।गोरु दौड प्रतियोगितामा पहिलो हुनेले ५ हजार तथा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । असारे रोपाइँ तथा गीत प्रतियोगितामा पनि त्यति नै राशीको पुरस्कार राखिएको छ । महोत्सव सफल बनाउन १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।