लेखक शारदा चौलागाईं

कविता "सम्बन्ध बिच्छेद "

Hollywood Khabar May 10,2020 Comments

तिम्रै लागि हो हिजो मैले,
आफ्नो अस्तित्वको अलिकति प्रवाह नगरी,
आँखा चिम्लेर सम्बन्ध जोड्छु भनि,
सारा आफन्तसङ्ग झुटो बोलेको,
अग्निलाई साक्षी राखी सिउँदो भरि,
हजारौंको भीडमा तिमीलाई चुनेको,
हिजो प्रिय मान्छे केबल तिमी थियौ,
सम्बन्ध टिकाउन कै लागि आज,
मैले शीतको थोपा-थोपा संगाले जसरी,
बिश्वास बटुलेर संगालिरहेको छु ।।

जब दरार आउँछ सम्बन्धमा ,
एकहुल मान्छे मेरो नजिक आउँछन्,
मलाई प्रश्न गर्छन् के कारण छोडेको?
म अनुत्तरित बन्छु,पुलुक्क हेर्छु,
लाग्छ मान्छेमा मानवता छैन अचेल,
यदि हुँदो हो त टुटेको ऐनामा,
फेरि ढुङ्गा हान्ने असफल प्रयत्न गर्दैनथे।। 
हुन त मान्छेलाई मेरो धेरै पीर रहेछ,
मलाई भन्दा मेरो चासो उनैलाई छ।।।

सम्झिदैछु अहिले बुवाले भन्नुभएको,
ए ! नानी काँडाले हान्नेलाई फूलले हान्नु ,
जाँदा कर्मको लेखाजोखा मात्र हुने हो,
न तिमीले,न अरुले केही लैजान्छन् ।
यहि भावनाले बाँच्ने चाहाना जाग्यो,
नत्र सम्झौतामा चलेको जीवन,
र स्वार्थ मिसिएको चिसा सम्बन्धले,
कयौ रात अनिदोमा बिताएको छु। 
अब पहिले जस्तै शीर उठाएर,
फेरि बिस्तारै-बिस्तारै जिउन सिक्दैछु।।