-Acharya Pipalmani Sigdel

कविताभित्र खेल्ने प्रमुख तत्व: शीर्षक देखि व्यञ्जना र आयाम सम्मका कुरा

Hollywood Khabar June 06,2019 Comments

आचार्य पीपलमणि सिग्देल/न्यूयाेर्क

कविताको विश्लेषण गर्ने अनेक आधारहरू छन्। कविता भावनात्मक अभिव्यक्ति भएकाले भाव, विचार, विषय जस्ता कुरा रहेका हुन्छन् भने संरचनाका अनेक विषय पनि हुन्छन्।

फुटकर गद्य कविता प्रस्तुत गर्ने सन्दर्भमा यसैको केन्द्रीयतामा विश्लेषणका आधार खोज्नुपर्ने हुन्छ। कविता तत्वकै आधारमा कविताको विश्लेषण सम्भव हुन्छ। कविता तत्त्वका रुपमा शीर्षक, संरचना, लय, भाषाशैली, कथनपद्धति, भाव, विम्ब, व्यञ्जना र आयामलाई लिने गरिन्छ।

शीर्षक

कवितामा व्यक्त हुने केन्द्रीय कथ्य वा भावको रुपमा शीर्षक रहेको हुन्छ। शीर्षक कविताको सारसंक्षेप पनि हो। शीर्षकले कतै अविधा, कतै लक्ष्यणा त कतै व्यञ्जना अर्थ बोकेको हुन्छ। जस्तो अर्थमा शीर्षक प्रयुक्त भए पनि केन्द्रीय भाव, विषय, सन्दर्भ र अभिव्यक्ति वहन गर्न नसके शीर्ष औचित्यहीन हुन जान्छ। अनुभूति र वैचारिक सीमालाई विश्रृङखलित हुनबाट जोगाउन पनि औचित्यपूर्ण शीर्षकको आवश्यकता हुन्छ। त्यसैले शीर्षकलाई कविताको आधारभूत तत्व मानिन्छ ।

संरचना

संरचनाले कवितालाई प्रभावकारी बनाउँछ । विचार, भाव वा विषयले कलात्मक संरचना पाउन सकेन भने कविता निष्प्रभावी हुन जान्छ । अतः कविताका धर्मलाई जीवन्त राख्न पनि संरचनामा ध्यान दिनुपर्ने हुन्छ ।

कवितामा संरचना दुई किसिमका हुन्छन्:

(क) बाह्य संरचना

कवितालाई सुव्यवस्थित पार्न बाह्य संरचनामा विशेष ध्यान दिनुपर्छ । भाव र विचारलाई व्यवस्थित पार्न वर्ण, शव्द, पङ्क्ति, अनुच्छेद, सर्ग, परिच्छेदमा, भाषा, शैली, शिल्प, लय आदिको संरचना गरिएको हुन्छ। कविताको लघु रुपमा भन्दा मझौला र बृहत् रुपमा संरचनाको स्वरुप स्पष्ट देख्न सकिन्छ। बाहिरी आकार प्रकार, आयातन र अनुच्छेद व्यवस्थापनबाट बाह्य संरचना झल्किन्छ। बाह्य संरचनाको क्रम भङ्ग भएमा कविताको केन्द्रीय कथ्यमा समेत असर पर्न जान्छ। त्यसैले बाह्य संरचनालाई कविताको महत्वपूर्ण अङ्ग मानिन्छ ।

(ख) आन्तरिक संरचना

कविताको आन्तरिक पक्ष भनेकै गुणात्मक स्वरुप हो। आदि, मध्य र अन्त्यको क्रममा कविताको भाव समेट्दै समुन्वयात्मक शैलीमा विचार र विषयवस्तुमा अन्तर्लय तथा कलाको विन्यास भर्नु नै आन्तरिक संरचनाको काम हो। आन्तरिक संरचना विम्ब र प्रतीकको माध्यमबाट पनि व्यक्त हुन सक्छ। बाह्य संरचना कलाकारको मूर्ति हो भने आन्तरिक संरचना कलाकारिताको जीवन्तता हो। भाव र विचारलाई कवित्व प्रदान गर्दै निष्कर्षमा पु¥याउने काम आन्तरिक संरचनाले गर्दछ ।

लय वा छन्द :

साहित्यको अन्य विधा भन्दा कविता लयकै कारण फरक छ। लय कविताको प्रमुख तत्व हो। लय वा संगीत तत्वविना कविता कविता हुन सक्दैन। गद्य र पद्य स्वरुपमा लय विधान तय गरिएको हुन्छ।

पद्य अर्थात् शास्त्रीय छन्दमा मात्रा र वर्ण अनुसार गण, यति, गति, अनुप्रास आदिले लयको काम गरेको हुन्छ।

गद्य कवितामा गण, यति, गति, मात्रा र वर्णको व्यवस्था नभएपनि अन्तर्लयको प्रभावकारी उपस्थिति हुन्छ । स्वर र व्यञ्जन वर्णको समान र असमान वितरण गरी गद्य कवितामा लय विधान गरिएको हुन्छ। उच्चारण, विश्राम तथा आवृत्तिको संयोजनले गद्य कवितामा श्रुतिमधुरता तथा लयात्मकताको विन्यास भएको हुन्छ। कोमल पदावली तथा प्राञ्जल भाषाको प्रयोगले गद्य कवितामा पनि साङ्गीतिक मिठास भेट्न सकिन्छ ।  यसरी गद्य र पद्य कवितामा लय या सङ्गीतको स्थान भने महत्वका साथ रहेको पाइन्छ ।

भाषाशैली

मानवीय अनुभूति साहित्यिक रुपमा प्रस्फुटन हुनका लागि भाषाको महत्वपूर्ण भूमिका रहने गर्दछ। भाषामा वर्ण, शब्द, पद, पदावली, वाक्यांश, वाक्य, अनुच्छेद आदि अङ्गहरू रहेका हुन्छन् । भाषाले नै कविताको केन्द्रीय कथ्य या भाव वहन गर्ने भएकाले कविताको भाषा स्तरीय, कोमल, ओजस्वी तथा ध्वन्यात्मक शैलीको हुनुपर्छ। व्याकरणसम्मत तथा मानक भाषाको प्रयोग कवितामा अपेक्षित हुन्छ।

भाषाकै प्रस्तुतिबाट उच्चतम् शैलीको पनि विकास हुन्छ । अभिव्यक्तिको निजात्मक पन पनि भाषाकै माध्यमबाट व्यक्त हुन्छ। काव्यकारको विशेषता केलाउने सन्दर्भमा पनि भाषिक शैलीलाई हेर्ने गरिन्छ। भाषा ध्वन्यात्मक, प्रतीकात्मक, विम्बात्मक, सरल, जटिल आदि अनेक किसिमका प्रयुक्त हुन सक्छन्। कतिपय कवि त भाषाको नौलो प्रयोग नै गर्दछन् । कविको व्यक्तिगत शैलीमा भाषा प्रवाहित हुनसक्छ । त्यसैले कविताको अभिन्न तत्वका रुपमा भाषाशैली रहेको हुन्छ ।

कथन पद्धति

साहित्यमा मौखिक अभिव्यक्तिलाई लिखित रुपमा उतार्न सकिन्छ। मनोभावनालाई लिखित साहित्यले स्थायित्व एवं आधार प्रदान गर्दछ। कविताको विषय कविको आफ्नै धारणा वा अन्य विषयमा केन्द्रित हुन्छ।

संस्कृतका आचार्यहरूले कवि स्वयं वक्ता भएर कवितामा प्रस्तुत भए त्यसलाई कविप्रौढोक्ति र अरु पात्रलाई वक्ता बनाएर प्रस्तुत गरेको भए कविनिबद्धवक्तृप्रौढोक्ति हुन्छ भनेका छन्। कवि आफै उपस्थित भए पनि अथवा नभए पनि कविकै धारणा कवितामा व्यक्त हुने हो। कविले कतै स्वयं त कतै अरुलाई नै प्रयोग गरी भाव एवं विचार सम्प्रेषण गरिरहेको हुन्छ । कविताको कथन पद्धति संरचनासँग सम्बन्धित हुन्छ ।  यसरी हेर्दा कविताको प्रमुख तत्वका रुपमा कथन पद्धतिलाई पनि लिने गरिन्छ ।

केन्द्रीय कथ्य वा भाव

कविता केन्द्रीय कथ्य या भावको विन्यासविना सार्थक हुँदैन । भाव नै कविताको रस या गुदी हो। भाव स्पष्टताका साथ प्रवाहित हुनका लागि संरचनाले पनि भूमिका खेलेको हुन्छ। आन्तरिक संरचनाले भावलाई सुगठित पर्दछ भने बाह्य संरचनाले अभिव्यक्तिको क्रम निर्धारित हुन्छ । अन्तर्लयका साथ आदि, मध्य र अन्त्यको स्वरुपमा पद, पदावली, श्लोक र अनुच्छेदको संयोजन कवितामा आवश्यक हुन्छ।

विचारका अनेक श्रृङ््खलाहरूलाई क्रम मिलाएर प्रस्तुत गर्न सकेमात्र कविता अर्थपूर्ण हुन जान्छ । आत्माविनाको शरीरको अर्थ नभएजस्तै भावविनाको कविताको पनि कुनै अर्थ छैन । कविताका अंशमा भावको प्रस्तुति गर्दै समग्र भावमा कविता पुग्नुपर्ने हुन्छ । अतः कवितामा केन्द्रीय भाव एवं कथ्यको स्थान महत्वपूर्ण हुन्छ ।

विम्ब

कविताको सशक्त तत्वमध्ये विम्ब पनि एक हो । कविताको विचारलाई सशक्त रुपमा व्यक्त गर्दै केन्द्रीय कथ्य एवं भावलाई सदृढ पार्न पनि विम्बको भूमिका रहन्छ । विम्ब पूरै कविताव्यापी भएर पनि प्रयोग हुन सक्छ र कतैकतै खासखास भाव र विचारलाई उत्कर्षमा पु¥याउन पनि प्रयोग हुन्छ ।

मूलतः कविताको आन्तरिक संरचनासँग विम्ब सम्बन्धित हुन्छ तर बा≈य संरचनासँग पनि आवद्ध भई कवितालाई सबल तुल्याउन सहयोग पु¥याउँछ। त्यसैले विम्ब कविताको महत्वपूर्ण तत्व हो ।

व्यञ्जना

शब्दशक्तिका तीन भेद अभिधा, लक्षणा र व्यञ्जनामध्ये व्यञ्जनाको स्थान विशेष रुपमा रहेको हुन्छ। संस्कृत साहित्यका समीक्षकहरूले व्यञ्जनाका बारेमा विशेष वकालत नै गरेका छन् ।

आचार्य विश्वनाथले अभिधा र लक्षणा आ–आफ्ना अर्थ दिएर शान्त भएपछि जसद्वारा कुनै अर्को अर्थ बोध हुन्छ, त्यसैलाई व्यञ्जना भनेका छन् । व्यञ्जनालाई शाब्दी र आर्थीका भेदले विभाजन गरिन्छ । संस्कृत साहित्यमा व्यञ्जनाका अनेक भेद रहेका छन् । आन्तरिक र बाह्य संरचनाद्वारा अभिव्यक्त विचारको अप्रस्तुत तरिकाले प्रतिच्छायाँ दिनुप¥यो भने व्यञ्जनाको आवश्यकता पर्दछ ।

व्यञ्जनाले कवितामा चमत्कार थप्दछ । संस्कृतका समीक्षकले व्यञ्जना प्रधान काव्यलाई नै उच्च कोटिको काव्य मानेका छन् । विचारलाई उत्कर्षमा पु¥याउन एकभन्दा बढी भाव वा विचार प्रस्तुत गरी सशक्तता प्रदान गर्न पनि व्यञ्जनाको अहं भूमिका रहन्छ । अतः व्यञ्जनालाई कविताको महत्वपूर्ण अङ्ग मानिन्छ ।

आयाम

कविता तत्वमध्ये आयाम पनि एक हो । हरेक कविताको निश्चित आयाम हुन्छ । कथन र श्रवण कालको अवधिलाई नै कविताको आयाम भनिन्छ । कवितालाई पनि लम्बाइ, चौडाइ र उचाइका आधारमा मापन गर्न सकिन्छ । कविताको पङि्क्त लम्बाइ हो भने पङक्तिमा रहेका वर्णहरु चौडाइ हुन् त्यस्तै भाव, विचार, विम्ब र कलात्मक प्रस्तुततिको समग्र स्वरुप नै गहिराइ हो ।

समग्रमा कुनै कविताकृतिको आयाम भन्नु कथ्यश्रव्य स्तरमा प्रथमत: त्यस कृतिको कथन श्रवणकालको लम्बाइ नै हो र त्यो मुख्यतः कालिक ( कालगत, समयगत) मापन हुने गर्दछ ।  यसरी अनेक अंग मिलेर कवितारुपी शरीर तयार हुन्छ ।