-तस्बिर साभार वेब

पर्यटक बसबाट १ करोड बराबरको अवैध सामान बरामद

Hollywood Khabar December 06,2019 Comments

२२ मंसीर परासी।दिल्ली–चितवन चल्ने पर्यटक बसबाट १ करोड बराबरको अवैध सामान बरामद भएको छ। पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले सुनवलको भूमही चोकबाट भन्सार छलेर ल्याएको अवस्थामा ना ८ ख १२०३ नम्बरको बसबाट सामान बरामद गरेको जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। कालो प्लेट नम्बरको उक्त बसलाई पर्यटक लेखेर सञ्चालन गरिएको हो।  

रुपन्देहीको सुनौलीस्थित बेलहिया भन्सार नाकाबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले भैरहवाबाट पछ्याउँदै आएको थियो। भैरहवाबाट परासी हुँदै चितवन जानुपर्ने बस बुटवल पुगेको थियो।३१जना नेपाली यात्रु लिएर आएको बसमा भूमही आइपुग्दासम्म ११ जना यात्रु थिए। यात्रु ओराल्न बस बुटवल पुगेको बताइएको छ।

सुनौलीदेखि बुटवलहुँदै भूमहीसम्म राजश्व कार्यालयको चेक पोष्टसहित करिब १० बढी स्थानमा सशस्त्र र नेपाल प्रहरीको चेक पोष्ट छन्। ति सबै चेक पोष्टलाई पारगर्दै आएको बसलाई भूमहीमा चेकजाँच गर्ने क्रममा मोबाइल, ट्रयाकसुट, महंगा औषधिलगायतका समान फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताए।  

बसको छतमा लामो टिनको फल्ट बटम बनाएर उक्त सामान लुकाइएको थियो। बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० बढी मोबाइल छन्।  एउटा मोबाइलको बजार मूल्य ३० हजारदेखि करिब १ लाखसम्म पर्ने रहेछ।त्यसैगरी १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधि छन्। बरामद भएको औषधिमा यौनवद्र्धक आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको छ। बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।