-Nepali Congress Leader Prakash Man Singh

पार्टीमा सँस्थागत बिकास गर्नुपर्छ, सबैलाई मिलाएर सभापतिकै लागि अगाडी बढ्छु:प्रकाशमान सिंह

Hollywood Khabar September 10,2020 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर १०, २०२०

नेपाली काँग्रेसका नेता तथा पुर्व उपसभापति प्रकाशमान सिंहले सबैसँग कुरा गर्दैछु, सबै मिलेर र मिलाएर सहमतिमा नै आफू सभापतिको लागि उम्मेद्वार हुने कुरा बताएका छन्।

नेता सिंहले नेपाली काँगेस जतिको नेपाल र नेपालीको लागि योगदान गरेको पार्टी अरु कुनै नभएको, सिद्धान्त, सोच र अन्य कुरा सबै ठीक छ तर पार्टीलाइ हाल सँस्थागत रुपमा विकास गर्न नसकेको मात्र कमजोरी भएको बताएका छन्। हाम्रो पार्टीले आठै तहमा अर्थात गाउँ देखि केन्द्रसम्म अधिवेशन, पार्टीका निकाय, पार्टीसँग संबद्ध पेशागत र अन्य सँस्थाहरुलाई बैठक, भेला जास्ता कुरा नियमित गर्नुपर्छ। उनिहरुलाइ सकृय बनाउनुपर्छ। पार्टीको महाधिवेशनपछि गर्नुपर्ने मनोनयन र बिभागहरुको गठन पनि ६ महिना बिधानले भने पनि ३ महिनामा नै सक्नुपर्छ। पार्टीका आठै तह र आम नेपाली जनताको कुरा सुनेर सबै निकाय चलायमान गर्नुपर्छ अनि मात्र हामीले सहि मानेमा काम गरेको देखिनेछ र नागरिकहरुले हामीलाई म्याण्डेट दिनेछन, नेता सिंहले भने।

आफू १४ औं महाधिवेशनमा सभापतिको लागि आकांक्षी हो कि भन्ने प्रश्नमा नेता सिंहले भने, म गणेशमानको छोरा भएर एकै पटक आएको होइन मेरो आफ्नै राजनीतक इतिहास छ। नेपाल बिधार्थी संघ देखि, पार्टीको जिल्ला हुँदै केन्द्र सम्म निर्वाचित हुँदै आएको अनुभव छ। पार्टीमा सहमहामन्त्री, उपसभापति भएको समेत अनुभव छ। रामचन्द्रजी संसदीय दलको नेता हुँदा आफू उपनेता भएको मात्र होइन संसदीय निर्वाचनमा पनि पटक-पटक जितेको छु। संसदीय दलमा नेताको लागि पनि शेरबहादुर देउबासँग प्रतिस्पर्धा गरेको नै हो। सरकारमा गएर पटक-पटक मन्त्री र उपप्रधानमन्त्री सम्म भएको अनुभव भैसक्यो।

अब बाँकी भनेको सबैसँग सल्लाह गरेर, टिम मिलेर सभापतिका लागि जाने नै हो। पार्टीलाइनमा आफू त्यसका लागि योग्य भएको तर यो एकल कुरा होइन, टीमवर्क हो। त्यसैले सबै मिलेर जाने हो। सबैसँग सल्लाह गर्दैछु, सबै शुभचिन्तक र साथीभाइहरुको सल्लाह लिएर निर्णय गर्नेछौं, नेता सिंहले परिपक्व रुपमा बताए।

नेपाली काँग्रेसले पार्टीका स्थानीय देखि केन्द्र सम्म सबै तहलाई दुरुस्त र क्रियाशील बनाएर तयारी अवस्थामा राख्नुपर्छ। यसबाट परेको बेला चुनावमा जान होस् या कुनै पनि काम गर्न नै किन नहोस पार्टी शक्तिशाली र आम नागरिकमा पुगेको हुन्छ। हामीले संबिधान निर्माण होस् या अरु काम होस् अरु पाटीको भन्दा तुलनात्मक रुपमा धेरै योगदान गरेका छौ। तर अहिले आएर आम नागरिकमाझ नपुग्दा निर्वाचनमा हामीले पराजय भोग्नुपर्यो। यो केवल हाम्रो पार्टीलाइ संस्थागत बिकास नगरेका कारण नै भएको हो। अब पार्टीको सबै तहलाई सकृय बनाउनुको विकल्प छैन यो नै मेरो प्रमुख एजेण्डा हो, नेता सिंहको जवाफ थियो।