साङ्केतिक चित्र

पर्साको एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा गरि एक अर्ब ५५ लाख बेरुजु

Hollywood Khabar February 09,2019 Comments

२७ माघ ,वीरगञ्ज पर्सा।पर्साको स्थानीय तहमा  एक अर्ब ५५ लाख बेरुजु पाईएको छ। सिंहदरबारको अधिकार स्थानीय तहमा बाँडिए पनि विकासप्रति उत्तरदायी हुन नसक्दा पर्सामा रु १ अर्ब ५५ लाख ८८ हजार बेरुजु भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको हो। 

सामाजिक अभियानकर्मी चन्द्रबहादुर श्रेष्ठले भन्नुभयो, “सङ्घीय सरकारले स्थानीय तहलाई भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, महिला विकास, समाजिक सुरक्षा योजना अनुगमनलगायतका जिम्मेवारी प्रदान गरेपनि दरबन्दीअनुसारको दक्ष कर्मचारी अभावमा विकासे योजना कार्यान्वयन नहुँदा बेरुजु बढ्न गएको छ।”पर्सामा बेरुजु भएको रकममध्ये वीरगञ्ज महानगरपालिकामा रु ५१ करोड २२ लाख, पोखरिया नगरपालिकामा रु दुई करोड ९१ लाख, बहुदरमाई नगरपालिकामा रु पाँच करोड ५२ लाख, पर्सागढी नगरपालिकामा रु पाँच करोड आठ लाख बेरुजु भएको देखिन्छ। 

त्यसैगरी पर्साका गाउँपालिकामा भएको बेरुजुको तथ्याङ्कलाई हेर्ने हो भने ठोरी गाउँ पालिकामा रु चार करोड ५० लाख, जगरनाथपुर गाउँपालिकामा रु तीन करोड ५८ लाख, धोबिनी गाउँपालिकामा रु चार करोड सात लाख, छिपहरमाई गाउँपालिकामा रु पाँच करोड १३ लाख, पकहामैनपुर गाउँपालिकामा रु चार करोड ४५ लाख, विन्दवासिनी गाउँपालिकामा रु चार करोड ५९ लाख, सखुवाप्रसौनी गाउँपालिकामा रु चार करोड ६१ लाख, पटेर्वासुगौली गाउँपालिकामा रु पाँच करोड नौ लाख तथा वीरगञ्ज महानगरपालिकामा गाभिएको तत्कालीन वेलवामा रु चार करोड ६७ लाख बेरुजु देखिएको छ । 

निर्वाचित जनप्रतिनिधिले बेरुजु रकम फर्छ्यौट गर्न नसकेको, बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भर्पाइ नराखेको, गाउँसभा र नगरसभाको निर्णयबेगर योजना सञ्चालन गरेको, नक्कली उपभोक्ता समिति गठन गरी ठेकेदारमार्फत काम गराएको, अनुगमन मूल्याङ्कन कमजोर भएको, सेवाप्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेको जस्ता त्रुटीका कारण विकासे बजेट बेरुजु भएको बताइएको छ । 

जनप्रतिनिधि नयाँ भएको र नगरसभा ढिलो भएकाले बेरुजु रकम बढ्नसक्ने पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले बताउनुभयो।उहाँका अनुसार बेरुजु रकम पुरानो भएकाले त्यसलाई नयाँ योजनामा खर्च गरिने छ।पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् ।