-सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी

परमाधिपति भण्डारीबाट प्रि-डिप्लोयमेण्ट तालिमको समापनलाइ संबोधन

Hollywood Khabar February 23,2019 Comments

२०७५ फाल्गुन १२ गते संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ UNMISS Mission, दक्षिण सुडानमा तैनाथ हुन जाने देवीदत्त गण (शासे) नवौँ डफ्फाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले एक समारोहका बीच प्रि-डिप्लोयमेण्ट तालिमको समापन गर्नु भएको छ।

उहाँले अवसरमा देवीदत्त गण (शासे) नवौँ डफ्फामा सहभागी भई जाने सकलदर्जाहरुलाई सम्बोधन गर्नुभएको थियो। सम्माननीय राष्ट्रपति भण्डारीले तालिमबाट प्राप्त गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सिप र क्षमता मिसन ईलाकामा उच्चतम उपयोग गरी शुरता र वीरताको गौरवमय इतिहास बोकेको नेपाली सेना शान्ति तथा समृद्धिका लागि अहिंसा, सहिष्णुता र करुणाको सन्देश विश्वमा फैलाउन संयुक्त राष्ट्रसंघको आह्वानमा विगत ६ दशकदेखि खट्टिएको स्मरण गराउँदै नेपाल र नेपालीको छवि उच्च राख्न शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारिताका साथ समर्पित हुन निर्देशन दिनु हुँदै कार्यक्षेत्रमा आफूलाई एक योग्य शान्ति सैनिकको रुपमा परिचय गराई आफ्नो पेशागत दक्षता, प्रतिष्ठा एवं मानवअधिकारको उच्च सम्मान तथा मानवीय सहयोगको भावनासहित विश्वशान्ति प्रति नेपालको प्रतिवद्धताको सन्देश फैलाउने कार्यमा सफलताको शुभकामना दिनु भएको थियो ।

उक्त समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, राष्ट्रपतिज्यूको नीजि सचिव, रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, उक्त जिल्लामा तैनाथ अन्य सुरक्षा निकायका प्रमुखहरु तथा नेपाली सेनाका अधिकृतलगायत तालिममा सहभागी अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको बिज्ञप्तिमा उल्लेख गरेको छ।