-Arjun Raj Pant

ब्यङ्ग्य कविता:चिनेन कोइलीले

Hollywood Khabar April 12,2020 Comments

अर्जुन राज पन्त/४/१३/२०

कोकिल कण्ठी धुन सङ्गै आयो ऋतु राज

ऋतु राजाकै दूत माथि व्यङ्ग्य लेखे आज

 

बर्षौ देखि पुस्तौ देखि शोध्छस् काे हाे काे हो !

कहिले चिन्छस् आखिर तैँले खोजेको त्यो जो हो ?

 

साँच्चै शोधि हिडछस् कि खोइ तेरो थेगो पो हो !

शँधै शाेधी हिड्छस् कस्लाई तैँले काे हाे काे हाे?

 

सृस्टिकै त्यो चतुर पन्छी कागलाई समेत ढाँटी

उस्का अण्डा खाई दिन्छस् आफ्ना त्यँहा साटी !

 

नबनाउछस् गुँडै तैँले नहुर्काउछस् चल्ला

चलेकै छ तेरो सृस्टि गरेकै छस् हल्ला !

 

संसारकै खबर जान्ने कागका गुँडमा हूर्किस्

सिकाएन कि तँलाई बिद्या तैँले आफै बिर्सिस् ?

 

शँधै शोध्छस् एउटै प्रश्न तैँले घरि -घरि

नचिनेर पक्कै हो त एति बाठो चरी !

 

दुनियालाई लठ्ठै पारि गर्छस् आफ्नो जोहो

कागलाई समेत ठग्ने तैले नचिनेको को हो?

 

सात बर्षकी मेरी छोरी भन्छे घरि- घरि

जान्न म त बाहिर अब दिक्क पार्छ चरी !

 

हजार चोटी भनि अरे यँहि घरकी छोरी

शाेध्छस् मात्रै सुन्दैनस् ए बहिरो छस् र चरी ?

 

धोखा दिएको बदला लिदै ठुङ्गदिएर कागले

सुन्दैनन् कि तेरा दुवै कानका भित्रि भागले ?

 

बक बक धेरै बोल्नेले कि शुन्दैनन् र कुरा?

गर्नु सुन्नु मसलक्कै बोली मात्रै छुरा !

 

युवा बिहिन निर्जर बस्ति देखिस् नौलो कलाई ?

कुन मान्छेले भ्रममा पार्यो चंख पन्छी तलाई ?

 

मुखै छोपी आयो कि कोहि आयो टालो बाँधी ?

सशङ्कित नै बनिस् र पो चल्यो मनमा आँधी?

 

शिकारी नै आयो कि कोहि काँधमा बन्दुक बोकी ?

अनाहकमा पन्छी मर्ने तिनलाई गोलि ठोकी ?

 

बिदेशिएको आयो कि कोहि खैरो कपाल पारि

ढ्याब्रे चश्मा लगाएर पाली बोके दाह्रि?

 

चुनाबै पो लाग्यो कि खोइ आयो कुनै नेता ?

पाँच बर्षमा फेरी अर्को पाइलो पार्दै त्यता !

 

चप्पल पड्काई हिजो हिड्ने पजेरोमा आँउदा

आनुहार् नै छोप्ने गरि फूलका माला लाँउदा

 

अघि पछि उत्ति गाडी रबाफ गरि ठूलो

नभमण्डल ढाक्ने गरि उडाए कि धुलो !

 

गाह्राे भाे कि देख्न तलाई शङ्का भयो चीन्न ?

पाँच बर्षमै कुम्लिएर देखिएर भिन्न !

 

बेभिचारी भ्रष्टाचारी आयो कि कोहि गाँउमा ?

फेरी पनि झुक्काउनलाइअनेक थरि नाँउमा ?

 

कस्लाई सोध्छस एउटै प्रश्न तैले घरि घरि

को हो त्यस्तो शङ्का लाग्दो चिनाइदेन चरी

बोल्छस मात्रै शुन्दैनस् नि किन हो र तैले ?

तेरै सिको गरि सके नेता ज्यूले अहिले !

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, हाल टेक्सास अमेरिका, कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइलीका समेत लेखक हुन