पुरानो बसपार्कमा‘भ्युटावर’बनाउने योजना अनिश्चित:काठमाडौं महानगर पालिका मौन

0
shares

by Soni Sharma | Updated: 12 May 2019

522 views
तस्बिर वेब

३० बैशाख काठमाण्डौं।मुख्य लगानीकर्ता पछि हटेपछि पुरानो बसपार्कमा २९ तलाको ‘भ्युटावर’ बनाउने काठमाडौं महानगरपालिकाको योजना अनिश्चित बनेको छ । निर्माता कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खोजेको मुख्य लगानीकर्ता सिंगापुरका ब्रिटिस गोर्खा सैनिकले आफ्नो लगानी फिर्ता मागेका छन् । बिकोई त्यही ठेकेदार कम्पनी हो, जसले खुलामञ्चमा अवैध सटर बनाई साना व्यापारीलाई भाडामा लगाएको थियो । 

पोखराका धीरज गुरुङमार्फत सिंगापुरका दुई सय ८० जना अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले लगानी गर्ने भएका थिए । उनीहरूलाई कम्पनीको ४९ प्रतिशत सेयर दिनेगरी सम्झौता भयो । त्यसका लागि गोरखा सैनिकले पहिलो किस्ताबापत २४ करोड रुपैयाँ कम्पनीको बैंक खातामा हालिदिए । रकम हात पर्नेबित्तिकै बिकोईले लगानीकर्तासँग विवाद झिक्यो । विवाद बढ्दै गएपछि गोर्खा सैनिकले लगानी फिर्ता मागे । बिकोईले २० जेठको भाकामा नोयल अमेल कम्पनीको नाममा २४ करोड रुपैयाँको चेक काटेको छ । 

भ्यू टावर निर्माण पाँच वर्षमा सक्नुपर्ने सम्झौता छ । चार वर्षमा एक प्रतिशत काम पनि भएको छैन । महानगरले टावर अलपत्र पर्ने अवस्थामा पनि तत्काल केही गर्न नसकिने बताएको छ । ‘कन्सल्टेन्सी आएर प्राविधिक मूल्यांकन गर्छ । अनि मात्रै हामी केही गर्न सक्छौँ,’ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘तत्काल एक्सन लिने अवस्था छैन र लिँदैनौँ पनि ।’