नेपाली सेनाको फूलपाती बढाईँ कार्यक्रम

बडा दशैं २०७५ को उपलक्ष्यमा फूलपाती बढाईँ कार्यक्रम सम्पन्न

Hollywood Khabar October 15,2018 Comments

२०७५ असोज ३० गते नेपाली सेनाका परमाधिपति एवं सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाईँ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको बिज्ञप्ति अनुसार बढाईँ कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी सम्माननीय राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारत टोलीले सलामी अर्पण गर्यो। तत्पश्चात बडा दशैं २०७५ को उपलक्ष्यमा कवाज टोलीले राईफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे बढाईँ, लहरे बढाईँ, एकठ्ठा बढाईँ तथा षट्कोण फर्मेसनमा बढाईँ र तोपबाट बढाईँ गरेको थियो । कार्यक्रमको अन्त्यमा, बढाईँ कवाजमा भाग लिने बाहिनी, गण तथा गुल्महरुले इज्जत अर्पण कवाज समेत प्रदर्शन गरेका थिए ।

सोही अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट फष्ट रेञ्जर बटालियन र महाबल गणलाई निशान र पेशागत प्रतियोगिता २०७४ मा प्रथम हुने केवलजंग गुल्मलाई व्यानर प्रदान गर्नुका गर्नुभयो। उहाँले २६ जना प्रमुख सुबेदार तथा सुबेदारहरुलाई मानार्थ उपसेनानीको दर्ज्यानी चिन्ह समेत प्रदान गर्नु भएको थियो ।

नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाईँ समारोहमा सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, सम्माननीय प्रधान न्यायाधीश ओम प्रकाश मिश्र, सम्माननीय सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिना, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथीबृन्द तथा पूर्वरथीबृन्द, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तित्वहरु, सेनानी समूह लगायत सञ्चारकर्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको कुरा बिज्ञप्तिमा उल्लेख छ।