NRNA US निर्वाचन: आक्रोस, दाहाल शर्मा टिमको प्रसंसा र तीन सदस्य कमिटी

Hollywood Khabar August 02,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको बंदिता शर्मा दाहालले चेयर गरेको निर्वाचन आयोगमा चारजना व्यक्तिहरु हुनुहुन्छ। दाहाल स्वयं, बिश्व बराल, भुवन गुरुङ र अन्जन श्रेष्ठ।
डिसी महानगर क्षेत्रमा भएको २०१५ को साधारण सभाले संस्थाको बिधान बमोजिम उहाँहरुको नाम प्रस्ताव गर्दै सर्व-सम्मत निर्णयका साथ पास गरेको हो। सो समयमा यो पंक्तिकार पनि NRNA NCC अमेरिकाको कार्यसमितीको निर्वाचित मिडिया कोअर्डिनेटर/आयोजक मध्यको थियो। यो आयोग टिममा कानुन, NRN अभियन्ता, प्राविधिक र अन्य गरि गठन गरिएको छ।
एकातिर NRNA NCC अमेरिकाको पदावधि समाप्त भएको अवस्था छ। अर्को तिर निर्वाचन आयोग जस्तो एउटा कामको लागि मात्र सकृय हुने ब्यबस्था अनि सँस्था भित्रको खिचातानी र विवाद, वर्तमान NCC टिमले सदस्यता माथि देखाइएको झमेला सबै कारण कठिन बाटो पाएको आयोगले अन्तत निर्वाचनको नजिक सम्म संस्थालाई तान्दै राइट ट्रयाकमा लैजाँदैछ। एउटा निर्वाचित टिम दिन खोज्दै छ।  यो अर्थमा शर्मा दाहालको नेतृत्वको आयोगलाइ धन्यवाद दिन छुच्चो हुनुपर्ने अवस्था र कारण छैन।
कतिपयलाई आफ्नै कारण आयोगप्रति रिस उठेको होला, गुनासो होला, कतिलाई खुसी होला, आक्रोस होला, उहाँहरुको इनबक्स र टेक्स्ट, इमेल अनि फोनमा पनि गाली आयो होला। मन्थन र लडाई त सबैले गर्छन, राजी पनि हुन्छन तर त्यसबाट निस्कने कालकुट बिष कसले पिउने भन्ने निर्णय लिन भने धेरै कठिन हुन्छ। भन्न सजिलो हुन्छ तर काम गर्न कति कठिन हुन्छ त्यो भने भोग्नेलाइ मात्र थाहा हुन्छ।
यहानेर केही प्रश्न सबैलाई सोधौ-
१. तपाइँ, म र हामी मध्य कतिजनाले यो निर्वाचन आयोगलाइ काम गर्न सजिलो बनाउन सघाएका छौं ?
२. मागेको कुरा र भनेको कुरा कतिले दिएका छौ ?
३. बेलैमा आवश्यक सबै कुरा दिएर, डा पौडेलको नेतृत्वको NCC टिमले समयमै निर्णय गरेर कति कुरा दियो ?
४. तपाइँ र म मध्य आफ्नो स्वार्थ नराखीकन कति जनाले आयोगलाइ साथ र सहयोग अनि सुझाव दिएका छौं ?
५. छातीमा हात राखेर भनौ, निर्वाचन आयोगलाइ सघाउनुको साटो उल्टा सिधा गाली गर्ने मध्य तपाई र म पनि छौ कि छैनौ ?
६. जब म  आफैंले सहि बाटो हिंडेको छैन भने, अर्कोलाई अर्ती र गालि दिने अधिकार कताबाट पाइएला ?
७. मैले नै बिषय बस्तु जान्दिन भने मेरो कुरा अरुलाई मान्य किन हुनुपर्ने ?
लेखकले आफ्नो विचार लेख्नु ठीक हो। तर अभियन्ता र जिम्मेवारबाट गलत कुरा भन्नु ठिक होइन।  ब्रेकिङ्ग न्यूज हान्ने साथीहरु र दुलोमा बसेर फेसबुकको दुरुपयोग गर्ने बाहेक संचारका सबैले आयोगलाइ साथ दिएको छ। परिस्थिति र सुचना दिन मध्य रातमा पनि सूचना संप्रेषण गरेर सघाएका छन। पत्रकारिताको धर्म निभाएको छन, यो अर्थमा उनीहरु पनि धन्यवादी छन्।
एकातिर विवाद चर्केर व्यक्तिगत लफडामा पुगी-सक्यो, अर्कोतिर NCC कार्यसमितिले समयमा नै काम गर्न सकेन र अलमलमा पुर्यायो। आयोगलाइ सहयोग गरेन, हरेक पटक सुचनाको रिस्क्याजुल गर्न बाध्य पार्यो। पहिलो कमजोरी वर्तमान NCC नेतृत्वबाट भएको हो। उसले समयमा निर्वाचन गराउन सबै तयारी गराएन। यो अर्थमा आरोप होइन तर कमी कमजोरी NCC नेतृत्वले गरेको हो।  लाइफ टाइम मेम्बर पनि हटायो, हरेक सिटीबाट नियतबस सदस्यहरुको जानी-छानी-पजनी गरेको छ।
एका पक्षले जुडिसियल कमिटीको ढोका तान्न पुगे, कुरा बुझेनन कि बानी परेको हो, थाहा भएन। जुडिसियल कमिटीको फैसला निर्वाचन आयोगलाई राय हुन्छ तर आदेश हुँदैन। यति सामान्य कुरा पनि नबुझ्नेहरुले संस्था कसरी चलाउलान र उम्मेदवार भएका छन्? जुडिसियल कमिटी र निर्वाचन आयोग दुवै साधारणसभा/अधिवेशनले बनाउने उस्तै तर फरक जिम्मेवारीका अंङ्ग हुन्। कानुन पढेर मात्र हुँदैन, त्यसको सहि ब्याख्या गरेर सही रुपमा प्रयोग गर्न पनि जान्नुपर्छ भन्ने सुनेको थिए। तर यहाँ त कानुन कै व्यक्तिहरुले बिधि-बिधानको धज्जी उडाएका छन्।
NCC अमेरिकाको निर्वाचन संबन्धि सम्पूर्ण कुरा निर्णय गर्ने काम निर्वाचन आयोगको मात्र हो। यो कुरा NCC बिधान, ICC बिधान र ICC को निर्देशिकाले समेत एउटै ब्यबस्था गरेको छ, कतै बाझिएको छैन। अदालत पुगे पनि सम्मानित न्यायाधिसज्यूबाट हेर्ने कुरा सँस्था/कर्पोरेटको बिधान नै हो। यो कुरा खगेन्द्र जी सी, बिनोद रोका, दुर्गा भुर्तेलज्यूहरुले किन भन्न सक्नु हुन्न त्यो भने हामीले नबुझेको कुरा हो।  उहाँहरुलाई यो कुरा थाहा छ, बुझ्नुहुन्छ तर पनि किन अर्को बाटो हेर्दै हुनुहुन्छ? बाँकी आफै बुझ्नुहोस्।
कतिपयलाई भर्खरै ICC बैठकले बनाएको तीन सदस्य कमिटीको कुरा उठाएर चलित, अपचलित र बिचलित भएको अवस्था होला। पहिलो कुरा, निर्वाचन गराउन आयोगलाइ आवश्यक कुरा उसँग छ। केवल एउटा व्यक्तिको उम्मेदवारीबारे निर्णय गर्न भएको कुरा आयोगको सम्पूर्ण चुनाव गराउने कामलाई असर गर्नु हुँदैन।
आयोगले प्रमाण र बिधान व्यवस्थाले जे दिन्छ त्यो गर्ने हो। आयोगले कोही कसैलाई व्यक्तिगत रुपमा के चाहिन्छ त्यो गर्दैन र गरेन पनि। सो बिषयमा आवश्यक कुरा संस्था जोगाउन कै लागि पनि संस्थाका अध्यक्ष डा शेष घले समेतबाट आएकै छ। अन्य कुरा आयोग आफैसँग छ, अब रोकिने किन, कारण के? जे कामका लागि बनाएको हो आयोग त्यो काम गर्दैछ। मेरो खेतको धान पहेंलो र तेरो खेतको धान किन हरियो भन्ने आरोप लगाउनु पूर्व पहेंलो र हरियो हुने कारण बुझ्नु जरुरि छ। 
एउटा व्यक्तिले सिस्टम रोक्न सक्दैन, एउटा कारणले सँस्था ठप्प हुँदैन, एउटाको इच्छाले गति रोकिन्न, सेनामा हरेक सिपाहीको महत्व उतीकै हुन्छ तर एउटा सिपाही घाइते हुँदा युद्ध रोकिन्न। ट्वीन टावरमा आतंककारी आक्रमण भएर ठूलो क्षती हुँदा पनि राष्ट्रपतिज्यूले आम नागरिकलाइ ब्याक टू नर्मल, आ-आफ्नो काममा जानुहोस, आवश्यक कुरा राष्ट्रले गर्छ भन्नुभएको हो, NRNA अमेरिकाको निर्वाचनबाट यो पटक सिक्ने कुरा त्यो हो।
अब सम्झनु पर्ने कुरा के हो भने, जे जसरी बनाएको भएता पनि ICC को तीन सदस्य कमिटीले हेर्ने कुरा ICC र NCC को बिधान मात्र हो, निर्वाचन होइन। अनि त्यो रिपोर्ट IES बैठक हुँदै ICC बैठकमा बुझाउने हो। ICC बैठकले त्यसलाई हेरेर निर्णय गर्ने हो। स्मरणीय कुरा, त्यस्तो कमिटी संबन्धित क्षेत्रको क्षेत्रीय संयोजक/उपसंयोजक (RC/DRC) को संयोजकत्वमा मात्र बनाउने बैधानिक ब्यबस्था छ। यसर्थ भनिएको कमिटिले RC/DRC को राय बेगर केही गर्न/लेख्न र प्रचार गर्न, निर्णय गर्न मिल्दैन मात्र होइन सक्दैन। अब त्यो कमिटीको काम भनेको रिपोर्ट दिने हो, त्यो पनि बिधानका बारे, निर्वाचनको निर्णय गर्ने होइन।
ICC ले गरेको सो बिषयको निर्णय बिधानमा थपेर आगामी बिश्व सम्मेलनमा पास गरेर, मन्त्रालय पठाएर, मन्त्रालयले स्वीकृति दिएको दिन देखि लागुहुने हो। अर्थात सबै कुरा भयो भने त्यो कुरा २०१९-२०२१ का लागि लागु हुन सक्छ, ऐले होइन। दुनियाँलाइ गोलमटोल पार्नु जरुरी छैन। सोझो बाटो, बिधानको बाटो र मनको बाटो फरक कुरा हुन्। अचम्मको कुरा त, ICC मिटिङ्ग नै पो कति पटक बस्ला त यो कार्यकालका लागि ? त्यसैले त्यो कमिटीको कुराले NCC अमेरिकाको चुनाव तिर कुनै अलमलको खुराक हुन्न, यो मेरो विचार होइन, आधार र कारण सहितको अवस्था हो। 
अमेरिकाका कतिपय कानुनका ज्ञाता र NRN अभियन्ताहरुबाट नै अड्डा अदालतका कुरा उठेका अवस्थामा पनि यो निर्वाचन आयोगको काम रोकिन्न, रोकिने कारण पनि कुनै छैन। एउटा कुरा भने भन्नै पर्ने हुन्छ। अदालत जाने कुरा व्यक्तिको आफ्नो स्वतन्त्रता हो। फैसला न्यायालयको हो, परिस्थिति हाम्रो हो, अवस्था हामीले पकाएको हो, नतिजा हामीले भोग्ने हो।
अन्तमा यो पंक्तिकारले NRNA NCC अमेरिकाको निर्वाचन आयोगलाइ सके सम्म, जाने सम्म, मिले सम्म र बुझे सम्म सहयोग गरेको नै हो। मेरो प्रयासले उहाँहरुलाई सहयोग भयो या भएन त त्यो मैले जानिन तर कर्तब्य भने पुरा गरेको छु। मलाइ थाहा छ, बिगतमा मैले NRNA अमेरिकाको निर्वाचन भोगेको छु। हालको निर्वाचन आयोगका सदस्यहरुले आफन्तको मेडिकल इमर्जेन्सीमा समेत समय दिन पाउनु भएको छैन। संस्थाकै निर्वाचनका लागि, हाम्रा लागि। यो पटक पनि उहाहरुको रात-दिन र हरेकपलको मिहेनत अनि प्रेशर सबैलाई धानेर अगाडि जानु भएकोमा यो आयोग टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु मेरो कर्तब्य नै हो।
कुरा व्यक्तिको, इच्छाको, मनको र लवीको होइन कुरा सँस्थाको हो, कुरा बिधानको हो, कुरा विधिको हो, कुरा आम नेपाली मुलका नेपाली जातीको पनि हो। यो कसैको फाइदा बेफाइदाको अर्थमा हेर्ने कुरा होइन। कसैलाई मन दुखाउने, स्याम्प्याथी र इम्प्याथीको अर्थमा पनि होइन।  जहिले पनि कुनै पनि अवस्थामा होस् बिधि-बिधानको बाटो जाने गरियो र अरुलाई पनि सल्लाह दिने काम गरियो भने, कसैले पनि ऐलेको जस्तो धोका पाउंदैन, संस्था पनि सहि बाटोमा जान्छ।
अझै पनि कतिपयको आक्रोस फेसबुक तिर देखेको छु। यो बिषयमा आक्रोस पोख्ने ठाउँ भनेको निर्वाचन आयोग होइन, उसले जे उपलब्ध छ त्यो नै गरेको हो। बरु आक्रोस नै पोख्नु छ भने जम्मा तीन मध्य दुइ पक्षलाइ हो।
१. एउटा पक्ष हो अनावश्यक आश्वाशन दिने, सुतेको व्यक्तिलाई उठाएर राजा बनाउने सपना देखाउने। बीच बाटोमा लगेर, छोडिदिने, गलत सल्लाह दिएर समय, धन र मान सबै नस्ट गराउनेहरु।
२. अर्को, आफ्नो फाइदाको लागि झुठा कुरा बोलेर, आफ्नो भर्यांङ्ग चड्न तिनै आफ्नै दुनियाँमा भएका व्यक्तिलाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्न प्रयास गर्नेहरु।
३. तेश्रो ति सबै पक्षलाइ बेलैमा अध्ययन र मुल्यांकन गर्न नसक्ने र आफु प्रयोगको ल्याबमा छिर्ने व्यक्ति।
यी तीन मध्य पहिला दुइले खराब नतिजा दिएका हुन्। अन्तमा पिल्सिएका एक व्यक्तिलाइ सहिद बनाउने कुरा भएको हो। यो बिषयमा बेलैमा सहि सल्लाह र सुझाव कसैले दियो त? यो पंक्तिकारले त दिएको थियो, प्रमाण मसंग अझै छ, एक होइन बारंबार सुझाएको थियो।
अब पनि एउटा अभियानमा आएको व्यक्तिलाई काम गर्ने बाटो दिने, अर्को पटकको लागि ढोका खुल्ला राख्दिने, कोही कसैसंग सहि उपाय छ त? सबैलाई हल्ला र खुराक बटुल्नु छ। आक्रोस सही ठाउँमा, नतिजाका भागेदारसंग गर्ने हो, निर्वाचन आयोगमा होइन। धमिलोमा माछा होइन भ्यागुता हातपर्छ। गलत कुराको जिकिर र स्वार्थको सहयोगले अरुलाई धोका हुन्छ अनि आफ्नो हैसियत देखिन्छ।
आज सम्म यो बिषयमा कतिजनाले आफ्नो कुरा फेर्नुभयो? अनि यो पंक्तिकारले कतिपटक कुरा फेरेको छ? हाइपोथेटिक्स, हावामा गर्ने होइन, बिषयको टेण्डेन्सी र बिधि-विधानको अध्ययन गरेर, आफ्नो स्वार्थ भन्दा बाहिर गएर, कोही रिसाउला या खुसाउल नभनेर मात्र गर्ने हो। अनि मात्र तपाइँका कुरा हिजो, आज र भोलि पनि सहि हुन्छन र हुनुपर्छ। यदि सहि रुपमा संस्थाको हितार्थ कोही छ भने यो समय देखिने अवस्था छ, नियत र नियति अनि निस्वार्थ।