-एनआरएनए एनसीसीको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको बारेमा पत्रकार सम्मेलन सम्पन्न

एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको अनलाइन पत्रकार सम्मेलन सम्पन्न

Hollywood Khabar June 29,2020 Comments

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको आसन्न नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको बारेमा जानकारी दिने उद्देश्यले यहि जुन २८ तारिखका दिन जुम मार्फत अनलाइन पत्रकार सम्मेलन सम्पन्न भएको जानकारी गराउदछौं।

कोभिड–१९ भाइरसका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिमा यसको संक्रमणवाट जोगिन सामाजिक दुरी कायम गर्नु अहिलेको मुख्य आवश्यकताको पक्षलाई विशेष ख्याल गरी अनलाईन रुपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं साधारण सभा आउँदो जुलाई ३ देखि ५, २०२० सम्म गर्न लागिएको उक्त सम्मेलनमा बोर्डका पदाधिकारि र बार्षिक साधारण सभा तथा नेस्नल नलेज कन्भेनशन तयारी समितिका पदाधिकारीहरुले तयारीको बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त सम्मेलनमा बोल्नु हुदै एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहले यस ऐतिहासिक सम्मेलनमा सहभागी हुन सबैलाई अनुरोध गर्नु भएको थियो। उहाँले वर्तमान नेतृत्वलाई संसारको परिस्थिति देखाएर साधारण सभा नगर्न धेरै सुझाब आएपनि आफुहरुले सजिलो बाटो नखोजेर जोखिमको बाटो अबलम्बन गरेको जानकारी दिनु भएको थियो। पत्रकारहरुसंग साहले भन्नुभयो, सबै कुरा नयाँ छन, चुनौतीपूर्ण छन र साथसाथमा यी सबै अवसर हुन् भनेर हामी सक्रियताका साथ अगाडी बढेका छौं।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तथा आसन्न साधारण सभाका कन्भेनर डाक्टर अर्जुन बन्जाडेले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनु भएको थियो। आफुहरुले शुरुमा कसरी सम्भव होला र भनेर शुरु गरेको काममा धेरै नै मेहेनत गरेर अब त जसरी पनि गरिन्छ भन्ने स्थितिमा पुगेको पनि जानकारी समेत दिनुभयो। उहाँले साधारण सभा र ज्ञान सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्रि माननीय प्रदीप ज्ञवालीले नेपालबाट नै गर्नुहुने जानकारी दिनुभयो। साथै, आईसीसीका अध्यक्ष कुमार पन्त लगायतका बिशेष अतिथिहरुले निमन्त्रणा स्विकारिसक्नु भएको जानकारी पनि कन्भेनर बन्जाडेले संचारकर्मीहरुलाई दिनुभएको थियो।

यो पटकको साधारण सभामा बिधानका केहि कुराहरु संशोधन गर्न लागिएको र प्रक्रिया अनुरुप सदस्य माझ लैजाने तयारीमा आफुहरु रहेको उपाध्यक्ष तथा बिधान समितिका संयोजक बिआर लामाले जानकारी गराउनुभयो। उपाध्यक्ष लामाले प्रक्रिया अनुरुप आफुहरुले साधारण सदस्यदेखि विज्ञहरुसम्मले पठाएका सुझाब र सल्लाहलाई संकलन गरेको साथै सबैको आवाज सुनुवाई होस् भन्नेगरि काम गरिरहेको पनि जानकारी दिनुभएको थियो।

महासचिव पशुपति पाण्डेले संस्थाका सबै सदस्यहरुले एकैपटक सहभागी हुन् सक्नेगरि तयारी गरेको जानकारी दिनुभयो। भौतिक उपस्थितिमा हुने कार्यक्रम भन्दा भर्चुअल उपस्थितिमा हुने कार्यक्रम गर्न धेरै मेहेनत गर्नुपरेको अनुभव पनि पाण्डेले सुनाउनु बहेको थियो। सबै स्थान र सबैको चाहना अनुसारको समय ब्यबस्थापन गर्न अलिक अफ्ठेरो परेको बताउनु भयो। उहाँले पत्रकार सम्मेलन मार्फत सबै सदस्यहरुलाई जुलाईको १ तारिख भित्र नै अन्लाईन रजिस्ट्रेशन गर्न सार्बजनिक अनुरोध गर्नुभएको छ ।

यस साधारणसभाकै अवसरमा अमेरिकावाट सुरु भएको ज्ञान सम्मेलनको निरन्तरतालाई विशेष जोड दिई ज्ञान सम्मेलन समेत समावेश गरिएको छ। सम्मेलनमा विभिन्न शिर्षकमा रहेर विषयगत छलफलहरु हुने कुरा को जान्कारी नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले गराउनु भएको थियो। संयोजक डाक्टर तारा सिग्देलले आफुहरुले आठ वटा सिम्फोजियम र चार वटा टाउन हल छलफलको लागी तयारी गरेको जानकारी दिनुभयो। हामीले पढेर ज्ञान पाएकाहरुका साथै लामो समय काम गरेर अनुभवले ज्ञान हासिल गरेकाहरुलाई पनि छलफल सहभागी बनाउन लागेको जानकारी दिनुभयो। यो समितिका सदस्यहरु सतिश त्रिपाठी र डाक्टर राजेन्द्र पंगेनीले पनि कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।

त्यसैगरी यो तिन दिनको सम्मेलनको प्राबिधिक पाटोका बारेमा आईटी समितिका संयोजक पशुपति पाण्डे, सहसंयोजक द्वय दधि ढुंगाना र सदस्य पदम भण्डारीले प्रकाश पार्नु भएको थियो। उहाँहरुले सदस्यको सूचना सुरक्षालाई प्राथमिकतामा राखेर उहाँहरुको अधिकारलाई प्रदान गर्न हरसम्भव प्रयास गरिएको जानकारी दिनुभयो। यति धेरै संख्याका सहभागीहरुको अन्लाईन सम्मेलनको प्राबिधिक तयारी गर्नु सजिलो नभएपनि आफुहरुले धेरै नै समय खर्च गरेर अमेरिकाका नेपालीहरुले गौरब गर्न लायक काम गरिरहेको विश्वास पनि सह संयोजक दधि ढुंगानाले पत्रकार सम्मेलनमा ब्यक्त गर्नुभयो।

साधारणसभामा सहभागिताका लागि अग्रिम दर्ता गर्न सकिने व्यवस्था समेत मिलाइएको छ। नवौं साधारणसभामा सहभागिताका लागि आउँदो जुलाई १, अपरान्ह ५ बजे (पूर्वीय समय) भित्र अनलाइन रजिष्टर गर्नका लागि पनि मिडिया मार्फत सबै सदस्यहरु समक्ष अनुरोध गरियो। साथै संचारकर्मी मित्रहरुलाई पनि साधारणसभामा सहभागि हुन विशेष अनुरोध गरियो। नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय प्रदीप कुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा हुने साधारण सभामा तथा ज्ञान सम्मेलनको कार्यक्रम यस प्रकार छ ।

साधारणसभा तथा सम्मेलनको कार्यक्रम तालिकाः

जुलाई ३ : साधारण सभाको उद्घाटन कार्यक्रम

जुलाई ४ : ज्ञान सम्मेलन

जुलाई ५ : वार्षिक साधारणसभा

धन्यवाद

सतिश चापागाईं

मिडिया को-अर्डीनेटर

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

जुन २८, २०२०