NRNA NCC USA

NRNA:न लवि मिल्ने न छवी मिल्ने एनआरएनए एनसीसी अमेरिकाको चुनाव

Hollywood Khabar May 03,2019 Comments

कृष्ण के सी/अमेरिका/५/३/१९
कतैबाट पनि मिलेन भने हामीले भन्ने र सुन्ने गरेको उखान छेउ न टुप्पोको भन्ने हो। ऐलेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन पनि छेउ न टुप्पो भएको छ।

जे सुकै र जति नै होइन भने पनि अन्तराष्ट्रिय परिषदको अक्टुवर २०१९ मा हुने निर्वाचनले विश्वब्यापी रुपमा लवी गर्छ। यो पंक्तिकार पनि त्यो लवी गर्ने इतिहासबाट अछुत्तो छैन। २०१५ र २०१७ को काठ्माण्डौको चुनाबमा खुलेर नै लवी र क्याम्पेन समेत गरेको हो। अनि २०१९ को लागि लवी गर्ने काम सुरु भैसकेको छ। भलै अध्यक्षका उम्मेद्वारहरु को को हुन् त्यो जिज्ञासा बाँकी नै रहला।

पहिलो कुरा त भवन भट्ट दोश्रो कार्यकालका लागि आउने छन। अर्को तर्फ वर्तमान उपाध्यक्ष कुमार पन्त अनिवार्य रुपमा अध्यक्षका प्रत्यासी हुन्। हाल तेश्रो व्यक्तिको रुपमा उपाध्यक्ष कुल आचार्यलाइ लिने गरिएको छ।

अब कुरा गरौँ अमेरिकाको चुनावको। अरु ठूला देश भन्दा अलि पछि सुरु भएको, बिचमा ह्वात्त बढेको, रालगोलमा अल्झेको, आपसमा नमिलेको, थोरै उपलब्धि धेरै मुद्धा भोगेको तर पनि जीवित रहेको एनआरएनए एनसीसी हो अमेरिका। कतिपय अवस्थामा विवाद भन्दा पनि संस्थालाई दुरुस्त रुपमा लान नसकेको अवस्थाले गर्दा अरु भन्दा धेरै गुणा अगाडी जानुपर्नेमा झन् पछाडी धकेलिंदै आएको छ एनसीसी अमेरिका।

संस्थापक अध्यक्ष सुमन तिमल्सिनाको पाला देखि नै विदादमा रुमलिएको यो एनआरएनए एनसीसी अमेरिका अझै पनि त्यो झमेलाबाट बाहिर आउन सकेको छैन। ऐले पनि एनआरएनए एनसीसी अमेरिका अदालतमा दुइ-दुइ मुद्धा बोकेर बसेको छ। तर पनि चुनाव आएको छ र उम्मेदवारहरु प्रचारमा छन्।

अमेरिकाको वर्तमान चुनावमा तीन अध्यक्षका तीन टोली र केहि उम्मेद्वारहरु टोली भन्दा बाहिर छन्। तिनै टोलीका सपोर्टर र किङ्ग मेकर भनिएकाहरुको तरिका र अध्ययन हेर्दा भने यो, न छवि मिल्ने देखिन्छ न लवी नै मिल्ने देखन्छ। कुन छेउ र कुन पुच्छर मिलेको देखिंदैन। कतिलाई व्यक्तिगत इगोको समस्या छ भने कतिलाई पुरानो तुष निकाल्नुछ। कतिको क्षमता छैन तर पनि पद भने चाइएको छ। इन्फ़्याक्ट केहि थोरै उम्मेद्वारहरु मात्र यो पटक क्षमता र संघको लागि आवश्यक देखिएका छन्। तर उनीहरु मैदानमा धेरै पछाडि छन्।

पहिलो कुरा गरौं सुनिल साहको टिमको। यो टिमलाइ डा यादब पण्डित, वर्तमान अध्यक्ष डा केशब पौडेल, विष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, हरिबोल भण्डारी लगायतले सपोर्ट गरेका छन्। तर यो टिमको टुप्पो एकै मिलेर गएको छैन। हरिबोल भण्डारी, कृष्ण लामिछानेहरु कुमार पन्ततिर जोडिएका छन् भने बाँकी अरु भबन भट्ट या अन्यत्र छन्। सुनिल आफैले भने त्यो खालको लवीको निर्क्योल गरेका छैनन्।

दोश्रो सुर्य लम्सालको टिमको कुरा गरौँ। यसलाई पासाङ लामा, मुनिन्द्र नेम्बाङ्ग, सोनाम लामा र जनजाति समूहहरुले सपोर्ट गरेका छन्। यो टिमका पासाङ लामा कुमार पन्त तिर छैनन्। सोनाम लामा कुमार पन्तको टिमबाट उपाध्यक्षका उम्मेद्वार हुन् भनिन्छ। सुर्य लम्साल आफैले ग्लोबल लवी गरेको अवस्था छैन। यो टिमबाट पनि भोलि दुइ-धारमा जाने अवस्था छ।

अर्का अध्यक्षका उम्मेदवार हुन् संजय थापा। थापा बामपन्थी राजनीतिबाट आएका हुन्। प्रवासी नेपाली मंच अमेरिकाका पूर्व अध्यक्ष पनि हुन्। उनि जितेर गएमा कुमार पन्तको लागि सपोर्ट गर्ने बताउँछन्। उनका टिममा केहि ब्यकितहरु कुमार पन्तको पक्षमा छैनन्।

यसरी हेर्दा तिनैजना अध्यक्षका उम्मेदवारहरुको पछाडी रहेका अन्य उम्मेदवार र टिमको लागि हिंडेका व्यक्तिहरु लवीमा मिलेका भने छैनन्। अन्तत काठमाण्डौ पुग्दा फेरि पनि ९ जना ९ तिर हुने निश्चित नै छ। उसै पनि अमेरिका नेतृत्वमा पुग्न सकेको छैन। आपसी लडाइ, अनि केहि पदिय व्यक्ति र उम्मेदवारहरुको त छविमा नै प्रश्न उठेका छन्। यो तरिकाले त् अमेरिका झन् पछाडी धकेलिनेछ।