NRNA US माथि जालझेल, खुफियाको खेल, बिधान VS राजनीति

Hollywood Khabar July 27,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-२०१९ कार्यकालको नेतृत्वका लागि आगामी अगस्ट ११ र १२ मा मतदान हुँदैछ। निर्वाचन आयोगमा ३१९ पद (३१७ निर्वाचनबाट २ मनोनित) का लागि परेका मनोनयन मध्य १६७ जनाको नाम आयोगले सार्वजनिक गरेको छ। दावी र बिरोध दुवैको अन्तिम लिस्ट जुलाई २९ मा आउने कुरा भनिएको छ। संभवत पछिल्लो पटक थप गरिएका नामावलीको पनि दावी-बिरोधको १ या २ दिनको समय आउने छ। साथमा पहलो लिस्टका दावी-प्रमाणित भएकाहरुको नाम घट्न सकेन छ। तर ति सबैको सुनुवाई अनि अन्तिम नामावली भने अगष्ट १ मा मात्र आउने अनुमान गर्न सकिन्छ। तर पनि चुनाव भने अगष्ट ११ र १२ मै हुनेछ।
अब कुरा गरौँ बिषयबस्तु तर्फ:
१. पहिलो कुरा त हरेक व्यक्तिले कुनै पनि संस्थाको बिधान पढ्ने मात्र हो भने पनि संस्थामा आउने विवादको आधा समस्या समाधान हुने थियो। त्यो कुरा यो पंतिकारले महिनौ पहिला मात्र होइन पटक पटक लिखित रुममै भन्ने गरेको छ।
२. दोश्रो कुरा कानुन, बिधान र विधिमा राजनीति मिसायो भने त्यो जिकिरमा लयर त के सुपर लयरले पनि फेल खान्छन। जब कुनै पनि कुरा नियत राखेर प्रयास गरियो भने त्यो कुराले राम्रो नतिजा दिदैन, केही कसैलाइ त खुसी देला तर धेरैलाई बेखुसी बनाउँछ। मुख्य त संस्थालाइ धरासायी बनाउँछ। ऐलेको कुरा विवाद भएको होइन विवाद पकाइएको हो, बनाइएको हो, यो नियोजित रुपले गरिएको राजनीति हो।
३. तेश्रो कुरा, संस्था र व्यक्तिप्रति आफुलाई यस्तो होस् भनेर विचार लाग्नु, यो आइदियोस भनेर लाग्नु, आफुले यस्तो भैदिए हुने भन्ने लाग्नु नितान्त व्यक्तिगत कुरा हुन्। तर त्यो भन्दा फरक कुरा बिधि-बिधानका कुरा हुन। हामी चाँहि आफ्नो इच्छा, लोभ र लालचा अनि विचारलाइ बिधान संझन्छौँ र त्यसैका लागि जिकिर गर्छौं। त्यसै कारण नतिजा अर्कै आउँछ, हाम्रो समय, दुख र खर्च खेर जान्छ। ऐलेको NRNA अमेरिकाको निर्वाचनमा पनि त्यसै भएको छ।
४. चौथो कुरा, नेपाली समुदायमा एउटा मात्र कुरा धेरै सिक्न र सुन्न पाइन्छ। को कसरी जित्छ या को कसरी हार्छ, को आउँदा फाइदा को आउँदा बेफाइदा हुन्छ। यस्तो कुरा नै मुख्य बनाइन्छ। भएको बिधि र प्रकृया हेरिंदैना, बिधान बनाउँदा ध्यान दिने गरिंदैन अनि चुनावमा त्यो बिधान तोडेर जान बस एउटा हनुमान चालिसा जपिन्छ।
५. तर; NRNA नितान्त फरक संस्था हो। यो एउटा ब्राण्ड बेसको जस्तो खालको संस्था हो। यसलाई सजिलै बुझ्न लाइन्स र रोटरी क्लब जस्तै रुपले पनि हेर्न सकिन्छ तर ठ्याक्कै तेस्तो भने होइन। नेपाल सरकारले बिदेशिने संख्या कालन्तरमा नहराउन र भोली नेपाली मुलका भुटानी जस्तो अर्को कथा नहोस, थोरै भए पनि नेपालप्रति योगदान होस्, अन्य देशमा नेपालको प्रतिनिधित्व होस भन्ने जस्ता यावत कुरा अपेक्षा गरेर सुरु गरेको NRNA संस्था हो। NRNA मा हामी एनआरएनहरुको मात्र होइन नेपाल सरकारको पनि लगानी र सदिच्छा छ। NRNA हेर्ने एउटा बिभाग सरहको नेपाल सरकारको कर्मचारी छन्। के त्यो सेन्टिमेन्ट ऐलेको हाम्रो NRNA अमेरिकाको निर्वाचनमा छ त ? सामान्य नन-प्रफिट संस्था जस्तो NRNA होइन, यसलाई त्यो अर्थमा बुझेर हुँदैन। यसलाई कर्मथलो, जन्मथलो र घर-दैलो, कर्म र माटोको मर्म, बिधि र प्रकृया, कानुन समेत जोडेर हेर्नुपर्छ। त्यहि कुरामा हामी चुकेका छौ।
६. बिस्तारै NRNA अमेरिका भित्र हाम्रो प्रयास व्यक्तिका इच्छा र विचार, फाइदा र बेफाइदा, तेरो र मेरो, देब्रे र दाइनेपन्थि तिर गयो। आफ्नो फाइदाको लागि जे पनि गर्न थालियो। जित-हार र फाइदा वेफाइदाले गुटवन्दि चरम शिखरमा पुग्न लाग्यो।  
७. यति मात्र होइन अन्तिममा त खुफिया खेल पनि सुरु भयो। जर्मनी र रसिया देखि खेल खेल्न न्यूयोर्क पुगे। जो बुढोपाको उही बाटो हगुवा भनेको जस्तो भयो। केही NRNA अभियन्ता र बिरासत नै NRNA अमेरिकाको निर्वाचनमा खुफिया भएर लागे, के यो सहि हो ?
८. हरेक देशको कानुन फरक छ, त्यो कुरा हामी सबैले बुझेको छ। तर पनि हरेक देशमा बन्ने NRNA को NCC उस्तै भ्यालुको हुनुपर्छ, एकै खालले चल्नुपर्छ, एउटै स्वादको हुनुपर्छ, एउटै गोरेटोमा हिड्ने प्रयास गर्नुपर्छ। यहि कुरा अध्यक्ष डा शेष घलेले बारंबार भन्नु भएको छ। NRNA Vision 2020 & Beyond पनि यसैको प्रयास हो। यो अर्थमा अध्यक्ष डा घले सच्चा रुपमा NRNA संस्थाको लागि लडेको व्यक्ति हो। करोडौंको ब्यबसायिक नाफा-घाटा छोडेर संस्थाको लागि गोरखाको लाप्राक गयर बसेको व्यक्ति हो, खुफिया गर्न चहारेर हिंडेको अध्यक्ष होइन।
९. तसर्थ, जिकिर र सोच होइन संस्था र यसको मर्म अनुसार बुझेर बिधि-बिधान अनुरुप जानुपर्छ। NRNA को NCC र ICC को संबन्ध जान्नुपर्छ। हो; हरेक देशको कानुन फरक छ, तर NRNA संस्थाको उधेश्य अनुरुप जानुपर्ने बाटो एउटै हो, त्यो सबैले मान्नुपर्छ। अन्यथा तपाइ र मेरो सोच सच्चा NRNA लिडर तर्फ छैन, त्यो बुझ्नु पर्छ।
१०. कुरा को जित्छ या को हार्छ त्यो होइन। कुरा संस्थाको बिधान र बिधि अनुरुप को अगाडि आउँछ र कसले कति योगदान दिन्छ भन्ने हो। राजनीतिको आवश्यकता फरक ठाउँमा पर्छ। तर यो NRNA अमेरिकाको चुनावको बिषय राजनीतिको प्रतिष्ठाको लडाइ होइन, नितान्त बिधानको हो। अनि बिधान अर्को नआउने बेला सम्म अध्यावधिकलाइ नै मान्नुपर्छ, कुनै विकल्प छैन। चाहे तपाइलाइ मन परोस या नपरोस। बिधानसंग राजनीति र पौंठेजोरी खेलेर होइन त्यसको पालना गरेर सहि ठाउँमा पुगिन्छ। अन्यथा बाटो हराउँछ, अदालत गए पनि घरमा बसे पनि।११. हाल त्यो सबै कुराको चल-खेल NRNA अमेरिका माथि परेको छ। यहाँ जालझेल भएको छ। गुप्त रुपमा खुफिया खेल भएको छ। धेरैका गुप्त एजेन्डा छन्, यो कुरा यो पंतिकारले वारंवार भन्दै आएको छ। यहाँ सबैजना आफ्नै डम्फु बजाउन तल्लिन छन् । नहुने र असंभव कुरालाई पनि लिंडे-ढिपी गर्नु भनेको कुनै जालझेलका लागि हो, सड्यन्त्रका लागि हो। त्यो भन्दा पनि ठूलो कुरा त राजनीति हो। समाज र संस्थालाई समाज शाश्त्रिय सोच अनुसार चल्नु पर्छ। समाजशास्त्रले समाजलाइ जोडेर हेर्छ। राजनैतिक सोचका आधरमा चलाउनु हुन्न जसले समाज होइन परिवारलाइ पनि फोरेर हेर्छ। उदाहरणको लागि डा शाशाङ्क कोइराला र डा शेखर कोइरालालाइ हेरे पुग्छ, जहाँ महामन्त्री हुन उनीहरु आपसमा प्रतिस्पर्धी थिए र डा शशाङ्कले बाजी मारे। राजनीतिले एउटा घर र व्यक्ति पनि फुटाएर सुरु गर्छ उताको र एताको भनेर। राजनीतिको प्रयास NRNA अमेरिकामा पनि भएको छ।
१२. NRNA अमेरिकाका अध्यक्ष डा पौडेलले बेलैमा NCC बोर्डबाट निर्णय गरेर NCC स्थापनाको कुरा आयोगले मागेकै बेलामा नै पठाएको भए भनिएको यो विवाद आउने नै थिएन। उहाँ पनि आफ्नो बार्गेनिङ्गका लागि मोल-मोलाई गर्न लग्नुभयो। संस्थाको बिधान जस्तो संवेदनसिल कुरामा कच्चा खेलाडी राखियो, सदस्यता प्रमाणीकरण गर्न अनाडीको लाइन बनाइयो, सबैभन्दा बढी समस्या त यो दुइ-कुराले नै ल्यायो। यो भुल्नु हुन्न कि, हिजो मेम्बर कमिटीका संयोजक श्री पराजुलीको संयोजनमा अनुभवी र आइसीसी समेतको प्रतिनिधि भएका व्यक्तिहरुले सो कार्य गर्नुपर्छ भन्दा कार्यसमितीमा भोटिंग गराएर प्रस्तावित नाम हटाउने कार्य गर्ने पनि वर्तमान अध्यक्ष डा केशब पौडेल नै हो।उहाँ फेरी अध्यक्षमै प्रत्यासी हुनुहुन्छ। लुकाउनु पर्ने कुरा केही पनि छैन। त्यो कुरामा नियत थियो या के थियो त्यो त परिणामले देखाएको छ।
१३. टेक्सास साधारण सभाले पास गरेको कुरा: हरेक सदस्यको पिक्चर आइडि, स्टेट आईडी/पासपोर्टको प्रति सदस्य बन्दा नै भेरिफाइ गर्न गरेको निर्णयलाइ अमान्य गराउने अर्को चोरी बाटो हिंडाउन कसको रोल छ ? त्यसैको कारण सदस्यताको यो भयावह अवस्था आएको हो। बर्षौं देखिका लाइफ मेम्बर समेत हटाउने काम किन गरियो ? भेरिफिकेशन कमिटिमा कसका मान्छे थिए ? कमिटीमा अरुलाई आउन हुन्न किन भनियो ? आफै वेबसाइट गुफामा राख्ने, आफै ढुंगा-माटोलाइ सदस्य बनाउने, आफै भेरिफिकेशन गर्ने, आफै उम्मेदवार हुने, अनि आफै साधारण सभाको निर्णय तोड्ने, कारण के हो?  जवाफ प्रष्टै छ, जालझेल !
१४. यति मात्र होइन, बिधान बुजेर पनि कसैलाई अध्यक्ष बनाउने आस्वाशन दिएर देवघाट सम्म लगेर शिलान्यास गराउने को हो ? हरेकलाइ अध्यक्षको उम्मेदवार बनाएर लडाउने को हो? मिलाउने भन्दा भड्याउने को हो? अनि अमेरिकी टिम कम्जोर बनाउने, लुपहोल राखेर अन्यलाइ मौका दिने को हो? योजना अनुरुप काम नगर्ने, आफ्नो टिमलाइ चलाउन नसकने को हो? पदावधी समाप्त हुँदा पनि नयाँ नेतृत्व दिन नसक्ने को हो? जम्मा एउटा व्यक्तिलाइ जनसम्पर्क समितिमा भावी अध्यक्षको उम्मेदवार बनाउन NRNA को प्ल्याटफ़र्म बनाउन संस्थालाई दाउ लगाउने को हो?  सबै खराब नतिजाको जवाफ देही अब हुने को हो ?
१५. सबै कुराले संस्थालाइ कम्जोर बनाए पछि अन्य ठाउँका खुफियाले सड़यंत्र त गर्ने नै भए। अब त NRNA अमेरिकालाइ काँक्रो जस्तो चिरा-चिरा बनाएर नुन-खुर्सानी दलेर खानेछन। हरेक पटक IES मा अमेरिकी नेतृत्व किन हार्छ ? यो चिन्ता अमेरिकामा दशवटा धार खडा गर्नेलाइ थाहा छैन मात्र होइन चासो नै छैन। छ त केवल आफ्नो डम्फु बजाउने!
अब यो पटक, त्यो सबैलाई पाखा लगाउन सबैले चेतना खोल्नुपर्छ, बुझ्नुपर्छ एउटा सच्चा एनआरएन भएर सोच्ने बेला आएको छ। किन कि यो लडाई रानजीति र बिधि-बिधानको हो।
अस्तु !