एनआरएनए एनसिसि अमेरिकाद्धारा हेल्प डेस्क र हेल्प लाइन नम्बर संचालन

Hollywood Khabar February 18,2018 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले शनिबार टेक्सासको अष्टिनमा एक कार्यक्रमको आयोजना गरि हेल्प डेस्कको उद्घाटन गरेको छ। अमेरिकामा रहेका नेपालीहरुका समस्या समाधान गर्ने उद्देश्यसहित एनसीसी अमेरिकाका अध्यक्ष डा केशब पौडेल तथा उपाध्यक्ष एवम हेल्प डेस्क समिती संयोजक उमा कार्की थापाले संयुक्त रुपमा हेल्प डेस्क तथा हेल्प लाइन नम्बरको संचालनमा आएको घोषणा गर्नुभएको हो।
अव देखी ८४४६७६२८७२ नम्बर डायल गरेर प्राप्त हुने जानकारी अनुसार आफ्ना समस्या टिपाउन सकिन्छ। हेल्प डेस्क समिती संयोजक तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले एनआरएनएले समाधान गर्न सक्ने समस्या भएमा एनआरएनले समाधान गर्ने र एनआरएन मार्फत समाधान नहुने समस्या आएको खण्डमा सरोकारवाला निकायसंग समन्वय गरेर समस्या समाधानको उपाय खोजिने बताउनुभयो। हेल्प डेस्कलाई प्रभावकारी बनाउन सबैपक्षहरुसंग समन्वय गरिरहेको र सबै च्याप्टरहरुमा च्याप्टर स्तरिय हेल्प डेस्क समिती बनाइने पनि उहांले बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष डा केशब पौडेलले आलोचनाका लागी आलोचना मात्रै नभएर राम्रो कामको प्रशंसा गर्नुपर्नेमा जोड दिंदै हेल्प डेस्क तथा टल फ्री नम्बरको शुरुवात यस्तो राम्रो काम भएको बताउनुभयो। हेल्प डेस्कसंगै आइडी कार्ड, नेपाली भाषा पुस्तक, छात्रबृत्ती लगायतका प्रशंसायोग्य कार्यक्रमहरुलाई सबैको सहयोग अपरिहार्य भएको अध्यक्ष डा पौडेलले बताउनुभयो।
कार्यक्रमका अवसरमा एनआरएन अमेरिकाका महासचिव बि आर लामा, महिला संयोजक इन्दिरा त्रिपाठी, युवा संयोजक स्वराज खाती, प्रबक्ता बिनोद तिवारी, बोर्ड अफ डाइरेक्टर संजय थापा, कृष्ण लामिछाने, गोपेन्द्र भट्टराई, डा. अर्जुन बञ्जाडे, हेल्प डेस्क समितीका थलराज पन्त, सरोज सिग्देल, ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपाने, पुर्ब अध्यक्ष गेहेन्द्र के सी, जन सम्पर्क समिती अमेरिकाका उपसभापती सिपी पौडेल, डा कमल अधिकारी, चन्द्रशेखर यादब, लगायतले हेल्प डेस्क कार्यक्रम प्रभावकारी भएमा एनआरएनए प्रतिको जन बिश्वास अझ बढ्दै जानेमा जोड दिंदै शुभकामना व्यक्त गरेका थिए।