एनआरएनए अमेरिकाको बैठक १०० दिनको समीक्षाका साथ सम्पन्न

Hollywood Khabar January 07,2018 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको तेस्रो बैठक आफ्नो कार्यकालको पहिलो १०० दिनको समीक्षाका साथ अन्य विविध निर्णय  गर्दै सम्पन्न  भएको छ ।
टेक्सस राज्यको ह्युस्टन सहरमा सम्पन्न भएको सो बैठकमा हाल सम्मका उपलब्धिको समीक्षा गरिएको थियो । २०१७ को सेप्टेम्बर १७ तारिखका दिन आफ्नो कार्यभार  ग्रहण गरेको वर्तमान कार्य समितिले आफ्नो पहिलो बैठकबाट निर्णय गर्दै सुरु गरिएका अधिकांश कार्यहरू अन्तिम चरण पुगेको निष्कर्ष निकालेको छ ।
जस अन्तर्गत एनआरएन हेल्प डेस्क स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ । अमेरिकाभरि रहेका नेपालीलाई सहयोग गर्नका लागी टोल फ्रि नम्बर ८४४ ६७६२८७२ लिएको र सो सेवा अव केही साता मै सुरु गरिने हेल्प डेस्क समिति संयोजक तथा उपाध्यक्ष उमा कार्की थापाले बैठकमा जानकारी गराउनुभयो ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समितिका पंजिकृत सदस्यहरूलाई परिचयपत्र प्रदान गर्नका लागी समिति सदस्य गोपेन्द्र भट्टराईलाई दिएको जिम्मेवारी अनुसार परिचय पत्रको वितरण प्रक्रिया सुरु भएको जानकारी बैठकमा दिइयो ।
एनआरएन अमेरिकाका कोषाध्यक्ष डा. प्रकाश अर्यालले संस्थाको आपत्कालीन कोषको स्थापनाका लागी जिम्मेवारी दिइएको र एक लाख डलर बराबरको कोष स्थापनाका गर्नका लागी एक छुट्टै समिति समेत गठन गरी कोष सङ्कलनका लागी कार्यक्रम सुरु गरिएको बताइएको छ ।
यसै गरी अमेरिका लगायत विश्वभरि रहेका गैर आवासीय नेपाली वालवालिकाहरुलाई नेपाली भाषा तथा संस्कृति सिकाउनका लागी संस्थाका सदस्य कृष्ण लामिछानेलाई पुस्तिका प्रकाशनको जिम्मेवारी दिइएको र सो कार्य अन्तिम चरणमा पुगेको बैठकमा जानकारी गराइएको छ । अबको केही साता भित्र पुस्तिकाको बिमोचन गरिने पुस्तिका प्रकाशन समितिका संयोजक कृष्ण लामिछानेले जानकारी गराउनुभएको छ ।
अमेरिकामा रहेका नेपाली विद्यार्थीलाई जनही एक हजार राशि बराबरको छात्रवृत्ति चार जना जेहेन्दा विद्यार्थीलाई दिनका लागी प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी छात्रवृत्ति संयोजक स्वराज खाताले बैठकमा जानकारी गराउनुभयो ।
कार्य समिति सदस्य बिन्दु सापकोटाको संयोजकत्वमा गठन भएको सांस्कृतिक समितिले हाल सम्म आफ्नो समूहले गरेको प्रगति विवरण प्रस्तुत गर्दै निकट भविष्यमा नै एक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरियो ।
यसै गरी अमेरिकामा टिपिएस प्राप्त गरी बसिरहेका गैर आवासीय नेपालीहरूको हितमा उक्त टिपिएसलाई नविकरण गर्न व्यापक रूपमा राज्य स्तर र केन्द्रीय स्तरमा विभिन्न सङ्घ संस्थाहरू सँग परामर्श र समन्वय गर्दै दबाब सृजनाका लागी आवश्यक पहल गर्ने निर्णय बैठकमा भएको संस्थाका  प्रवक्ता विनोद  तिवारीले बताउनुभयो ।
अमेरिकामा रहेका नेपालीहरूलाई अमेरिकी मूल प्रवाहमा ल्याउनका लागी अमेरिकी सरकारका स्थानीय, राज्य र केन्द्रीय स्तरमा सहभागी हुन खोज्ने नेपालीहरूलाई सहयोग गर्ने निर्णय बैठकबाट गरियो । यसै गरी नेपाली नागरिकताको निरन्तरताका लागी नेपाल सरकार र अन्य सम्बन्धित निकायसँग पहल गर्ने समेत निर्णय भएको छ  ।
अमेरिकामा रहेका नेपालीहरूले भोग्दै आएको दोहोरो कर प्रणालीको अन्त्यका लागी निकट भविष्यमा नितिगत तहमा निर्णय गराउनेगरि नेपाल तथा अमेरिकी सरकारसँग आवश्यक पहल गर्ने निर्णय समेत बैठकमा गरिएको छ ।
बैठकको दोस्रो दिन संस्थाका महासचिव बि आर लामाद्वारा  प्रस्तुत गरिएको प्रतिबेदनमाथी घनिभुत रूपमा छलफल भएको थियो। समय अभावका कारण सबै विषयमा छलफल हुन नसकेपनि महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको थियो।
बाल जोशी
मिडिया कोअर्डिनेटर
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका