-Arjun Raj Pant

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

Hollywood Khabar March 30,2019 Comments

अर्जुन राज पन्त/अमेरिका/३/३१/१९

वर्तमान थिएन कि, भविष्य देखेन कि, बौद्धिक बन्धक बन्न चाहेन कि वा ज्यान नै जोगाउन पो हो कि एक हरि नामक नेपाली विदेश गयो।

जन्म उतैको, कर्म उतैको, धर्म उतैको, भाषा उतैको, नागरिकता उतैको, चिन्ता उतैको, माया उतैको, सपना उतैको तर केहि समयमै भूपु नेपाली भन्ने पदवी पायो। पेट पाल्नै परिगयो, काम खोज्यो बल्ल बल्ल काम पायो। सबैजना उसको नाम सोध्थे- हरि भन्थ्यो। कसैले “वरी” सुन्थे। अनि उ भने साह्रै चिन्तित देखिएको रहेछु र पो त यसो भनेनी हँ भनेर खिस्स हाँस्थ्यो। यति मात्र हो र, कसै कसैले त “सरि” सुन्थे, नाम सोध्दा पनि सरि भन्ने बहिरो रहेछ भन्दै हातले सार गरेर हिड्थे।

कसैले हरिलाई परी सुन्थे। यसो आफुलाई ऐनामा हेर्थ्यो, मुख भरि यतिबिधि दार्ही जुँगा भएको आफ्नो मकै जुंगे अनुहार कतैबाट पनि परी जस्तो पाउँदैनथ्यो आफूलाई। अनि यो खैरेलाई के थाहा परी भन्ने भनेर ढुक्क हुन खोज्थ्यो। सके जति शास खिच्यो, स्वर थिच्यो, मुख बटार्यो, जिब्रो फटार्यो “हरि” भन्ने प्रयास गर्यो तर कसैले पनि उसको नाम सहि सुनेनन् र भनेनन।

उसलाई दिनभरिको काम भन्दा पनि आफ्नो नाम भन्न गाह्रो भयो। कोहि मान्छे देख्दा पनि कता नाम सोध्ने हो कि भनेर डर लागेर तर्किन खोज्थ्यो। अन्त्यमा एकजना साथीको सल्लाहमा नाम नै परिबर्तन गर्यो। सजिलो उपाय मिल्यो हरिबाट “ह्यारी” बन्यो।

हुनत यही नामबाट पनि उ उपहासको पात्र बन्न नपरेको त कहाँ हो र ! उसका स-साना भुरा भुरिहरुले मुखभरि यति धेरै रौँ भएकोले हाम्रा बाबाको नाम हेयरीबाट ह्यारी भएको होर ममी भन्थे। उसले के के सम्झिन्थी, मुसुक्क हाँस्थी। उ अमुक हुन्थ्यो, जे होस् कनी-कनी नाम भन्नु पर्ने समस्या अन्त्यभयो।

विधिको बिडम्बना, एक दिन उसको असामयिक निधन भयो। साथीभाई आफन्त सबै जम्मा भए। रुने रोए, श्रधाञ्जली दिनेले दिए, कसैले सामाजिक संजाल मै भए पनि भावपूर्ण समबेदना दिए। कसैले त्यसैलाई कपि पेष्ट गरेर रिप कमेन्ट लेखे। गोफण्ड खोलेर सहयोग उठाइयो, सप्ताहन्त पारेर इशाईहरुको एक सबदहन केन्द्रमा अन्तिम संस्कार गरियो।

एक जना भूपु नेपाली पण्डित खोजेर काज किरिया सम्पन्न पनि गरियो। फोनमा साह्रै ब्यस्त ति पण्डितले आफूले जाने जति सबै बिधि र सामग्रीले दान पूण्य सबै गराइ आत्मालाई यमलोक पठाए। सबै बिधिपछि ह्यारीको आत्मा पनि यमलोक पुग्यो।

यमलोकमा त संसार भरिका आत्माहरुलाई जम्मा पारेर एक अध्यारो आत्मा कोठरिमा राखिँदो रहेछ। पालै पालो नाम र गोत्र बोलाएर धर्म सभामा पेश गराइन्थे। आत्माहरु आ-आफ्नो कर्म अनुसार स्वर्ग वा नर्कको बाटो लाग्थे।

ह्यारीको नाम पटक पटक बोलाइयो, ह्यारी पेश भयो तर चित्रगुप्ताको रेकर्डमा ह्यारीको फाइल नै फेला परेन। नाम मिले गोत्र मिल्दैन, गोत्र मिले मन्त्र मिल्दैन, मन्त्र मिले जन्त्र मिल्दैन ! नाम त उ आफैले फेरेको थियो। भएको के समेत रहेछ भने- पण्डितले फोनमा बोल्दै ह्यारीको किरिया गराउँदा मुखबाट एक बाक्य मन्त्र अंग्रेजीमा पनि परेको रहेछ।

नाम गोत्र र मन्त्रको लफडामा परेको ह्यारीलाई पेश गर्दा-गर्दा यमदुतहरु पनि कायल भैसकेका थिए। पछि-पछि त उसको पालो आउँदा समेत पेश गर्न छोडे। बिचरा ह्यारीको आत्मा अलपत्र पर्यो। एक दिन त यमदुतहरुले के सम्म सल्लाह गरे भने यस्तो झन्झट बेहोर्नु भन्दा यो आत्मालाई बरु मर्त्यलोक फिर्ता गरिदिउ । ह्यारीको लागि फेरि अर्को लफडा सुरुभयो। कसैले काज किरिया भएर आएको यस्तो आत्मा मर्त्यलोक फिर्ता गर्न मिल्दैन भने, कसैले के भने। तर अन्त्यमा उनीहरुबीच एउटा सहमति भयो, जे पर्ला पर्ला उतै फर्काउने भन्ने।

सोहि बमोजिम ह्यारीको जन्मभूमी पठाउन खोजे। जन्मेको देशका मन्त्रीले लाल-लाल आँखा पार्दै यो भूपू नेपाली हो, यसको आत्मा हामी लिंदैनौ भने, उसको आत्मा लिन मानेन। फेरि मरेको देशमा पठाउने प्रयास गरे। त्यो देशले यो हाम्रो नागरिक नै होइन, हामी लिन्नौ भन्यो।

जन्मेको देशमा भूतपुर्व नेपाली रे राख्न नहुने, मरेको देशको नागरिक होइन रे लिंदै नलिने। यमदुतहरुलाइ फसाद आइलाग्यो, अलमल्ल परे। बिश्व भरिका कानुन हेरे, आफ्नै देशमा जन्मेको मान्छे केहि वर्ष बिदेश बस्दैमा कसरी भूपु नेपाली भयो ? कस्तो अचम्म कहिँ नभएको शब्द र ब्यवहार भन्दै छक्क परे। विचरा ह्यारीको आत्मा अनिर्णयको बन्दि भएर त्यहि अड्कियो।

यमपंचक शुरु भयो, पाँच दिन सम्मका लागि यमलोक बन्द भयो। सबै कर्मचारीहरु बिदामा गए। बिचरा उसको आत्मा मात्र थुनिएको थियो। धर्तिबाट आएका आत्माहरु सेल्फ स्क्यान गर्दै शिधै स्वर्ग गैइरहेका थिए। जन्मेको दिनलाई त आजिबन धिक्कारेको ह्यारीले मरेको दिनलाई पनि धिक्कार्न थाल्यो। बरु यो यमपन्चकको बेला मर्न पाएको भए पनि हुने नी, कमसेकम शिधै स्वर्ग जान त पाइन्थ्यो।

बिदा सकियो, आत्माहरु आउने क्रम शुरु भयो, बर्षभरी मृतात्मासंग बिताएका कर्मचारीहरुले पाँच दिन भए पनि अप्सराहरुसंग बिताए। काममा फर्किदा सबै दङ्ग र फुरुङ्ग थिए। सबैका अनुहारमा आलश्यता भन्दा रोमान्चकता धेरै देखिन्थ्यो। दुखी थियो त बिचरा ह्यारी मात्र।

हे प्रभु ! आजिबन मैले कसैको कुभलो गरिन, मारकाट गरिन, आफ्नो गास काटेर भए पनि बिपतमा सबैलाई सघाएकै हो। तर आज मरेपछि पनि म किन यस्तो अनिर्णयको बन्दि हुनु पर्यो ? जन्मेको देशमा बौद्दिक बन्धक भएर ति औतारी नेताहरुको भजन गाउन नसकेर केहि समयको लागि विदेश हिड्दा यमलोकमा समेत बन्धक हुनुपर्यो, हरे; कस्तो मेरो कर्म !

एउटा बन्धनबाट मुक्ति खोज्दा आज यमलोकमा समेत यस्तो बन्धनमा फस्नु पर्यो भन्दै आफ्नो भाग्यलाई धिक्कार्दै यता-उता भौतारीइरहेको ह्यारीको आगाडी एउटा मानब शरीरको आकृति देखियो। यसो हेर्यो, ढोका कुर्न बसेको द्वारपाले पनि होइन, हातमा हेर्यो कोर्रा पनि छैन, यो मानब शरीर कहाँबाट कसरी आयो ? सायद पोल्दा-पोल्दै दाउरा पो पुगेन कि, बत्ति गयो कि, पोल्ने खर्च नभएको बेखर्ची पो हो कि वा सर्पदंशबाट मरेर पुनर्जिबनको आशमा गंगामा बगेर पो आएको हो कि !

दिनमा रात र रातमा दाँत मात्र देखिने अँध्यारो भने जस्तै कतैबाट पनि उज्जालो नआउने कोठरीमा केहि पनि प्रष्ट देखिन्नथ्यो। ह्यारी उक्त मानब शरीरको नजिकै गयो। को हो त यो भन्दै नियाल्दा बल्ल पो चिन्यो, उनि त उसकै भूपु देशका एकजना निष्ठावान भनिएका मन्त्री पो रहेछन, जिउँदै स्वर्ग जान आएका !

ह्यारीलाई एउटा कुरा झल्याँस्स याद आयो, हो यी तिनै भूपू मन्त्री त हुन् जसले हामी जस्तालाई जिउँदै नारायणी गंगामा बगाउनुपर्छ भन्थे। उसलाई आफू भूपु देशमा छँदा सुनेको भागवत कथाको नारायणी गंगामा हड्डी पर्यो भने शिधै स्वर्गमा पुगिन्छ भन्ने कुरा समेत याद आयो। ह्यारी ति भूपू मन्त्रीसंग बिलाप गर्न थाल्यो-हजुर त जिउँदै स्वर्ग जान यसरी आउनु भएको रहेछ, म हजुरकै देशको भूपु नेपाली हुँ, केहि वर्ष देखि नाम गोत्र र मन्त्रको लफडामा फसेर यसरी बसेको छु, सुनेको थिएँ गंगामा हड्डी पर्यो भने स्वर्ग जान पाइन्छ रे, म जस्तो आभागीलई हजुरको हातबाट जिउदै गंगामा बगेर स्वर्ग जाने मौका त मिलेन-मिलेन, मरेपछि पनि यस्तो अनिर्णयको बन्दि भएर बस्नु परेको छ। बरु मलाई मेरो धर्म र कर्मको फल केहि पनि चाहिएन, यमराजलाई बिन्ति गरेर म जन्मेको मुलुकमा फिर्ता गरेर आत्मामात्र भएपनि गंगामा बग्न पाउ। हड्डी बगेर स्वर्गमा जान नपाए पनि आत्माको रुपमा बग्दा स्वर्ग नजिकैको कुनै फालिएको कुना काप्चिमा त पुगुलानी! भनिदिनुहोस न हजुर यमराजलाई, यो भूपु नेपाली भएपनि यसको जन्म र नागरिकता नेपाल कै हो, यो साविकको नेपाली नै हो। मेरो पासपोर्ट त नेपालको थियो अनि म कसरी भूपू हुनु ?

शब्दकोश र कानुन मै नभेटिने यो शब्द यहाँ कसैले बुझेनन् हजुर। नेपालको संबिधान खोजेर हेरे, त्यहाँ पनि यस्तो भूपू नेपाली भन्ने शब्द भेटेनन। शोधे-खोजे यस्तो शब्द र व्यवहार त कुनै पनि मुलुकमा हुन्न रे। यतिका बिन्ति गर्दा पनि ति बक-बक बोलिरहने मन्त्री नबोलेको देखेर विचरा ह्यारी चिन्तित भएर द्वारपालेलाई प्रश्न गर्छ, द्वारपालेले भन्छ-यो कुरा हामीलाई होइन यमदूतलाई शोध्नुपर्छ, मलाई यत्ति थाहा छ कि यो मनुवाको मुखमा ठेडी ठोकिएको छ, यो यमलोकको कानुन हो भूपू मन्त्री भएपनि उसले यो कानुन मान्नैपर्छ।

यत्तिकैमा धर्मशभाको लागि घन्टी बज्छ। यमराज, चित्रगुप्ता लगायत सबै उपस्थित भइसकेका हुन्छन। आत्माहरुलाई पेश गर्दै, स्वर्ग वा नर्क पठाउने काम शुरु हुन्छ। भूपू मन्त्रीको पालो आउँछ। आत्माहरुसंग मात्र व्यवहार गरिरहेका ति कर्मचारीहरुलाई पनि जिउँदो मानिस पेशगर्न निकै गार्होपर्छ, मुखमा ठेडी ठोकिएकै हालतमा जन्जिर लगाएर मंत्रीलाई पेश गर्छन। आत्माहरुको इजलासमा जिउँदो मानिस देख्दा हेर्नेहरुको भिड लाग्छ, मन्त्रीलाई पेश गर्दै यमदुतले आफ्नो बयान शुरु गर्छन-महाराज; यी नेपाल देशका निष्ठावान र इमान्दार भनिएका मन्त्री हुन्। मर्त्यलोकमा यिनको भोग सकिएपछि म लिन गएको थिएँ।

साइकलमा मात्र हिड्ने भनिएका यी मन्त्रीलाई खोज्न धेरै कठिन भयो। म कहाँ-कहाँ पुगिन, सबै साइकल पसल, गल्लि गल्लि, मर्मत केन्द्र खोजे कतै भेटिएनन। अन्त्यमा दिब्य दृष्टि लगाएर हेर्दा त पजेरोमा श्रीमतीसंग पो भेटिए ! मैले आफ्नो परिचय खुलाएर भने-हे मनुवा अब तिम्रो यो लोकमा भोग सकियो, ल मसंग हिड, भन्दै उनको आत्मा खिच्न खोज्दा उनले म एक निष्ठावान मन्त्री हुँ, म जान्न, तैले भनेर हुन्छ भन्ने जवाफ दिंदै मलाइ नराम्ररी हकारे । यसो कुरा बुझ्दा कता कता राम्रै पो हुन् कि भन्ने पनि लाग्यो। तर पनि मैले विनम्रतापुर्बक भने-तिमी को हौ, के हौ, मेरो सरोकारको कुरा होइन, मैले जसरी भएपनि यमलोक लानुपर्छ, तिम्रो निशाफ उही हुन्छ। ल हिड, बरु जिन्दगीमा पाप गरेकै छैन भन्ने लाग्छ भने तिमीलाई म जिउदै लागिदिन्छु। यसरी विनम्रतापुर्बक आनुरोध गर्दा समेत यिनले मानेनन्। कसैको मौनता र सहनशीलताको फाइदा उठाएर दुर्बाच्य बोल्न बानी परिसकेका पो रहेछन। यी मन्त्रीले मलाई समेत दुर्बाच्य बेले, त्यहि भएकोले यो हालतमा लिएर आए, अब यिनीमाथि छानबिन होस् प्रभू !

चित्रगुप्ताले मुख खोले- हल्ला त मैले पनि सुनेकै हो, इतिहासमा यिनले एक पटक त राम्रो काम गरेकै हुन्, तर यिनले आफू जस्ता नियम कानुन बनाउनु पर्ने र कार्यान्वयन गराउनु पर्ने मान्छेको दोष त्यसमा केहि पनि देखेनन, न त तिनीहरुलाई कारबाही नै गरे। त्यस्तै माफियाहरुको मिलेमतोमा केहि सिमित फटाहाहरुले यिनीबाट फाइदा उठाए भन्दैमा सिङ्गो समुदायप्रति बिष बमन गरे, दुर्बाच्य बोले, कानुन र शब्दकोशमै नभएको भूपु नेपाली भन्ने बिल्ला पनि भिराए, कुसाशन र भ्रस्टाचारले डुबेको मुलुकमा यो भन्दा ठूलो अरु कुनै मुद्धै छैन भने झैँ गरेर बर्षौ सम्म एकोहोरो बाज्दै हिडे। मुलुकका सबैभन्दा ठूला अपराधी डिभि, पीआर परेका र भरेकालाइ मात्र देख्न थाले। फिनी रोटि खुस्केको कहिल्यै देखेनन्, खाली गहुका गेडा मात्र गनेर बसे। न त त्यस्ता फटाहाहरुबाट क्षतिपूर्ति नै लिने प्रयास गरे, सिङ्गो समुदायप्रति दुर्बाच्य बोल्दै जिउदै बगाउनुपर्छ भन्न समेत भ्याएछन।

महाराज यतिमात्र होइन- उनीहरुको पैत्रिक सम्पतिमाथि समेत धावा बोलेछन, उनीहरुले छोडेर गएको जागिरमा भएको अर्को परिबारको भरणपोषण देखेनन, न त उनीहरुले गास काटेर गेरको दैबी प्रकोपको दान नै देखे, नत अर्थतन्त्रको योगदान नै देखे, रुखको एक हाँगामा ऐजेरु लाग्दा उक्त हाँगा मात्र काटेर फालेर मिठो फल दिने रूख जोगाउन छाडेर पुरै रुख ढाल्न खोजे, न त उनले आफुले खाने तलब भत्ता कहाबाट आउछ भनेर नै देखे, न आफ्नो सम्पतिको चित्त बुझ्दो श्रोत खुलाउन नै सेके, न निश्पक्ष भएर कर्मचारी सरुवा गराउन नै सके।

दुईचार जना फटाहाहरुसङ्ग रिस उठ्यो भन्दैमा सारा समुदायलाइ नै नारायणी नदीमा बगाउनुपर्छ भन्दै हिडेछन। यी ढाेगी मन्त्रीले आफुसंग चुनाब लड्ने पैसा समेत नभएको भन्दै देश बिदेशका बिशुद्घ् श्रमजीबी जनताको छाक काटेर समेत पैसा उठाएछन्। मन्त्री हुनासाथ इन्धनको समेत दोहोरो सुबिधा लिएर भ्रष्टाचार गरेछन। यिनको अकुत सम्पतिबाट बिगतमा उठाइएको चन्दा तिनै गरिबहरुलाई फिर्ता गराउनु पर्ने देखिन्छ महाराज।

दिनभरी कमाएर बेलुका खानेकाे पसिना समेत खाएका रहेछन। अझै अरुलाई बिना कारण नारायणीमा बगाउनुपर्छ भन्ने यी मंत्री त त्यो मुलुकको सबैभन्दा फाेहाेर हनुमन्ते खाेलमा बगाउन लायक पनि देखिएनन। जे हाेस आफू बग्न नपाए पनि त्यो खाेलामा आफू चढ्ने गरेको साइकल बगाएर दाेष चाहिं मेटाउन खाेजेको रेकर्ड देखिन्छ महाराज। यसरी यमराजसामु मन्त्रीको वृतान्त सुनाउदै चित्रगुप्ताले उनको फायल खोज्न यमराजसंग आनुमति मागे।

फायल खोल्दा पहिले पृष्ठको “नमक बचन” शिर्षकमै समस्या देखियो। उनले जसको नुन खाएका रहेछ उनैप्रति दुर्बाच्य बोलेको देखियो। तै पनि अर्थ कर्म र संस्कार शिर्षकमा के छ म हेर्छु भन्दै यमराजलाई भने-त्यो मुलुकमा त यत्तिकै मन्त्री पनि कोहि छैनन् रे भन्ने हल्ला सुन्छु, कि हप्की दप्की गरेर उत्तै फिर्ता गर्दिने र ?

यमराज सोच मग्न हुन्छन, एकछिन् धर्म सभामा सन्नाटा छाउँछ, दूतहरु एक आपसमा मुखा-मुख गर्छन, कसैले शंका गर्छन, भर्खर छुट्टीबाट आएका बूढा कतै उनै अप्सराहरुसंग बिताएका रंगिन क्षणहरु भुल्न नसकेर टोलाएका त हैनन् ?

यही सोचमग्नताको खाली समयमा नाम गोत्र र मन्त्रको लफडामा परेको ह्यारीको फायल खोज्ने काम हुन्छ। त्यहि भिडमा एक प्रशान्त क्षेत्र हेर्ने अंग्रेजी र नेपाली बोल्न जान्ने दोभासे यमदुत पनि फेलापर्छ, उसैको सहयोगमा फायल पत्ता लाग्छ, फायल हेर्दा आजिबन निष्ठावान भूपु नेपालीले जन्मेको मुलुकमा महाभूकम्प जाँदा गाँस काटेर गरेको सहयोग स्वर्ण अक्षरमा फेलापर्छ। इतिहासको काल खण्डमा उसको जन्मभूमि नराम्रो गृहयुद्धमा फस्दा ज्यानकै बाजी राखेर काम गरेर पनि नियम कानुनले पाउने सुबिधा समेत नखाएको रेकर्ड देखिन्छ। चित्रगुप्ताले प्रश्न गर्छन-तिमी भूपु नेपाली त भएछौ तर भूपु राष्ट्र सेवक भयौ कि नाई ?

ह्यारी अमुक हुन्छ, यत्तिकैमा यमराजले आफ्ना आँखा खोल्छन, ह्यारीको फायल पेश हुन्छ। यमराजको आदेश हुन्छ, यो नाम गोत्र र मन्त्रको लफडामा परेको भूपू नेपालीलाई गुरु शिखरनाथलाई शोधेर नाम सच्चाएर स्वर्ग पठाउनु। यो मन्त्रीलाई जस्तो छ त्यही हालतमा भारतखण्डको राँची नामक शहर पठाउनु, शुध्रेर आएपछि पुन पेश गर्नु।

यत्तिकैमा नजिकैको आत्मा कोठरीबाट आवाज आउँछ। यी मन्त्रीलाई त मेरै भूपु देशमा नियम कानुन बनाउन पठाउनु पर्छ। यमराजको हाँसो छुट्छ !!!! यो कुन आत्मा हो ? आफ्नो भूगोल कानून सबै बिर्सेर यमलोकमा समेत विबेक बन्धकता देखाउने ? तैले मलाई सिकाउनुपर्छ ? यस्ता औतारीहरुको झुण्डले त त्यहाँ सरकार बन्छ, नियम कानून बनाउन त एक टिठ लाग्दो मनुवा बिचरा बारम्बार अनशनमा बस्नुपर्छ, धर्मसभा सकिन्छ, सबै उठेर आ-आफ्नो बाटो लग्न थाल्छन।

खोई कसले कसरी आफ्नो नाम सच्याउने हुँन हरि हुने हो कि ह्यारी हुने हो भन्दै यता-उता हेर्छ। अन्योल मै जन्मेको अन्योलमै हुर्केको बिचरो भूपु नेपाली यमलोकमा पनि अन्योल मै पर्छ अनि चौरासी लाख जुनी सम्म पनि नाम नफेर्ने प्रण गर्छ !

****लेखक/कविका अन्य रचनाहरु****

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

 

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant