NRNA ज्ञान र सिप भित्र्याउन सम्मेलन कोशेढुङा हुनेछ, उपाध्यक्ष पन्त, संयोजक डा शर्मा

Hollywood Khabar September 27,2018 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी १२ र १३ अक्टोवरमा दुई दिने विज्ञ सम्मेलन  र विधानसभाको आयोजना गर्दैछ ।

विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसाग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्ने  अभिप्रायले आयोजना गर्न लागिएको सम्मेलनका सन्दर्भमा सम्मेलन संयोजक द्वय डा. हेमराज शर्मा तथा कुमार पन्तसँगगरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौा ।

काठमाडौंमा विज्ञ सम्मेलन गर्दै हुनुहुन्छ, विशेषत: यो सममेलनको अवधारणा के हो ?
खास के हो भने, आजसम्म विदेशमा हामीले कमाएको पूँजी मात्रै नेपाल भित्रिरहेको छ, तर अबका दिनमा पूँजी मात्रै होइन,  विदेशमा जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ, उहाँहरुले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने महसुस भएरै यो सम्मेलनको आयोजन गर्न लागेका हौँ । गेरआवासीय नेपाली संघले यही अवधारणा अँगालेर अघि बढेको पनि १५ वर्ष भइसक्यो । तर अब यो अवधारणालाई वास्तवमै कार्यान्वयन गर्नुपर्छ भन्ने लागेर नै यो सम्मेलनको अवधारणा ल्याइएको हो ।

यस अवधीमा पूँजी भित्राउने बिषयमा राष्ट्रले नीतिगत निर्णय लिएको छ र यसले परिणाम दिन थालेको पनि छ।  विदेशमा नेपाली दाजुभाइ दिदीबहिनीले कमाएको ज्ञान र सीप कसरी भित्र्याउने र यसको लागि राष्ट्रले कस्तो नीति लिने भन्ने बिषयमा ठोस बहस  सुरु हुन सकेको छैन। यो सम्मेलन मार्फत सोही बहसको सुरुवात गर्न चाहेका पनि हौँ। सम्मेलनमा नेपाल सरकारको पनि साझेदारी हुने भएकोले पक्कै पनि  ठोस निष्कर्षमा पुग्नेमा हामी आशावादी छौँ ।

यस सम्मेलनको उद्देश्य के हो ?
विदेशमा बसेर नेपाली दाजुभाई दिदीबहिनीले सिकेका ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस् निष्कर्ष निकाल्ने र सोही अनुसारको नीति निर्माणमा सरकारको ध्यानाकर्षण गराउने हाम्रो उद्देश्य हो । नेपालमा विद्यमान नीति के कस्ता छन्, विश्वमा के कस्ता नीति अभ्यासमा छन् र तिनीहरुलाई नेपालको परिपेक्ष्यमा कसरी सान्दर्भिक बनाउने भन्नेमा हाम्रो जोड रहनेछ ।  राष्ट्रले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माण गर्नका लागि दक्ष गैरआवासीय नेपालीहरुको पहिचान गर्दै उनीहरुको ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहनेछ । अझ भनौं हामी यही सम्मेलनमार्फत समृद्ध नेपाल निर्माणका लागि आवश्यक जनशक्तिदेखि ज्ञान र सीप हामीसँग पर्याप्त छ कि छैन भन्ने विषयलाई पनि प्रष्ट पार्न चाहान्छौँ र ‘समृद्ध नेपाल’ बनाउन इँटा थप्न चाहान्छौँ ।

नेपालमा यसअघि पूँजी मात्रै लगानी गर्दै आएकोमा यसपालि यो नयाँ सोचको विकास कसरी भयो र ज्ञान र सीप भित्र्याउने तर्फ ध्यान गयो ?
गैरआवासीय नेपालीहरु जसरी आर्थिक रुपमा सवल हुने बाटोमा छन, ज्ञान सीप र प्रविधीको क्षेत्रमा पनि त्यती नै सक्षम छन् ।  नाम चलेका अन्तर्राष्ट्रिय विश्वविद्यालय,अनुसन्धान केन्द्रदेखि लिएर सरकारको नीतिगत तहमा काम गरेका थुप्रै गैरआवासीय नेपालीहरु छन ।  वैदेशिक रोजगारमा जानेहरु पनि विकसित देशको सीप र प्रविधीमा पोख्त भइसकेका छन् । उनीहरुले आफूले सिकेको सीपलाई नेपालको लागि सदुपयोग गर्न चाहन्छन् । नेपाल सरकार र एनआरएनले उनीहरुको लागि उपयुक्त वातावरण बनाउनु पर्छ भन्ने सोचका साथ यो सम्मेलन आयोजना गर्न लागिएको हो । त्यसको लागि यो सम्मेलन कोसेढुङ्गा हुने अपेक्षा गरेका छौँ ।

सम्मेलनमा के कस्ता विषयवस्तु समेटिनेछन् ? कुन–कुन क्षेत्रलाई जोड दिइनेछ ?
पहिलो दिन साझाको उद्घटान र दोश्रो दिन चारवटा प्लेनरी सत्र आयोजना हुनेछ । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधीको नीति, प्राविधिक जनशक्तिको अवस्था लगायत विषयमा छलफल हुनेछ । दोश्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । तेश्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधीको संभावना र यस क्षेत्रमा लगानी बिषयमा छलफल हुनेछ । साथै नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भुमिका हुन्छ भन्ने बिषयमा केन्द्रित सत्रहरु पनि समाबेश गरिनेछ । दोश्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिकविकास तथा ईन्जिनियरीङ, वैकल्पिक उर्जा, विज्ञान तथा प्रविधी,जोखिम न्यूनिकरण, वातावरणीय  प्रदुषणदेखि लिएर फाईनान्सियल रेफर्म, सामाजिक सुरक्षा लगायतका समानान्तर सत्रहरु रहनेछन् । तेश्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागीता हुनेछ, त्यहाँ हामीले सम्मेलनको समिक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्नेछौँ । सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुनेछ ।

यी बिषय सर्वसाधरणको सरोकारसँग कसरी जोडिएका छन?
सम्मेलनका सबै बिषयहरु आम जन जिविकासँग जोडिएका छन । यसका साथै सरकारका विकासका प्राथमिकता परेका बिषय पनि छन । जस्तो भनौँ, कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणिय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा,संघियतामा शिक्षाको मोडल आदि थुप्रै बिषयमा यस सम्मेलनमा छलफल हुनेछ । नेपालमा कृिषजन्य पदार्थ र जडीबुटिको प्रशोधन तथा व्यावसायिक विधिका लागि इनोभेसन को–क्रिएसन सेन्टर खोली उद्यमशीलता कसरी विकास गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने छुट्टै सत्रको आयोजना गरेका छौँ ।

यति धेरै बिषयहरु समेटेर परिणाममुखी होला त सम्मेलन ?
सम्मेलनका बिषयहरु अलि फराकिला भए भन्ने गुनासो हामीले सुन्दै आएका छौँ ।  तर यस्तो खालको सम्मेलन पहिलो पटक हुन लागेकोले सबै क्षेत्रका मानिसहरुको सहभागिता होस भन्ने चाहान्छौँ । बाहिर बस्ने नेपालीको ज्ञानको भण्डार के हो भन्नेबारे पहिचान पनि भई सकेको छैन । यस सम्मेलनबाट उनीहरुको स्किल डाईरेक्ट्री बनाउने छाँै ताकी राष्ट्रले आवश्यकता अनुसार उनीहरुलाई सदुपयोग गर्न सकोस् । साथै सम्मेलन प्रत्येक २ वर्षमा गर्ने पूर्वघोषित निर्णयअनुसार भविष्यमा नेपाल सरकारको प्राथमिकतामा रहेका निश्चित विषयमा मात्र केन्द्रित रहेर आयोजना गर्ने भन्ने योजना छ ।

सम्मेलनमा क–कसको सहभगिता रहनेछ ?
नेपाल भित्र र बाहिर कार्यरत विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र,नेपालस्थित कुटनीतिज्ञ लगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ ।  ‘रिसर्च एण्ड डेभलेपोमेन्ट’ सँग जोडिएका विज्ञ, अनुसन्धान संस्था र विश्व विद्यालयहरुका विज्ञहरुलाई हामीले आमन्त्रण गरेका छौँ । साथै यो सम्मेलन सर्वसाधरणका लागि पनि खुला गरिएको छ । यद्यपी व्यवस्थापनको लागि केही प्रवेश शुल्क तोकेका छौँ ।

सम्मेलनमा सहभागी हुने विज्ञलाई कसरी परिभाषित गर्नुहुन्छ ?
ज्ञान, सीप, र प्रविधिका क्षेत्रमा अनुभव भएका अथवा सो क्षेत्रमा नयाँ बिचार दिन सक्ने दक्ष, प्राज्ञिक सबै खालका व्यक्तित्व सम्मेलनमा आउनुहुनेछ । सम्मेलनमा सहभागी हुन विश्वविद्यालयबाट डिग्री नै लिनुपर्छ भन्ने छैन । नेपालको लागि उपयोग हुने विदेशमा सिकेको जुन सुकै सीपबारे दख्खल राख्ने व्यक्ति नै उपस्थित हुने हो । सम्मेलनमा निजी क्षेत्रबाट पनि सहभागिता रहनेछ किनभने ज्ञान, सीप, र प्रविधीलाई आर्थिक लगानीबाट अलग राख्न सकिँदैन, यी अर्काका परिपुरक हुन् ।

सम्मेलनमा कार्यपत्रहरु कसरी छनोट गर्नुभएको छ , कति जनाको सहभागीता रहन्छ ?
नेपालभित्र र बाहिरका विज्ञहरुको एउटा कार्यक्रम कमिटी बनाएका छौँ ।  यही कार्यक्रम कमिटिले छनोट गरेका विज्ञहरुको केही कार्यपत्रहरु छन् भने खुला रुपमा पनि शोधपत्र  मागेका छौँ । यी कार्यपत्रहरुको रिभ्यु प्रोग्राम कमिटीले गर्छ र छनोट गर्छ । हामीलाई करिब १५० कार्यपत्र प्राप्त भएका छन् भने थप ५०जना प्यानलिष्ट हुनुहुनेछ । अन्य सहभागी सहित करिब ४ सय जनाले भाग लिनेछन् ।  

सम्मेलनमा विदेशीहरु पनि सहभागिता हुन्छ कि?
अवश्य हुन्छ, नेपालकाबारे अध्ययन अनुसन्धान गरेका विदेशीहरु पनि यस सम्मेलनमा सहभागि हुनेछन् ।   खासगरी हामी जस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरुको अनुभव हाम्रा लागि प्रभावकारी हुन सक्ब्छन् भनेरै उनीहरुलाई पनि सहभागी गराउन लागिएको हो । जस्तै दिल्ली मेट्रोको ईन्जिनियरलाई हामीले निमन्त्रणा गरेका छौँ । उहाँका अनुभव काठमाडौंमा मेट्रो रेल निर्माणमा सहयोगी बन्न सक्छ ।  युनेस्कोका विज्ञान तथा प्रविधी नीति सम्बन्धि विज्ञको पनि सहभगिता रहनेछ । भारत, ईटाली, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायतका देशबाट करिब १० जना विदेशी विज्ञहरुले सम्मेलनमा भाग लिनेछन ।

नेपाल सरकारसँग सहकार्य गरिँदैछ , भनेपछि त यस सम्मेलनले नेपालको नीति निर्माणमा पनि केही टेवा पुग्न सक्ला ?
पक्कै पनि हाम्रो अपेक्षा पनि त्यहि हो । यो सम्मेलन नेपाल सरकारको साझेदारीमा हुँदैछ । सम्मेलनका सबै सत्रमा नेपाल सरकार प्रतिनिधीहरुको सहभागिता हुनेछ । पहिलो दिनका सबै सत्रहरु नितिगत बिषयमा केन्द्रित हुनेछ । यो सम्मेलनको मुख्य उद्देश्य नै नेपाल सरकारको नीति निर्माणमा सहयोग गर्ने नै हो  ।

सम्मेलन प्राज्ञिक बहसमा मात्र सिमित रहने हो ?
हामीले यो सम्मेलनलाई बहुआयामिक बनाउन चाहेका छाँै । सम्मेलनलाई ज्ञानको मञ्चन गर्ने थलो बनाउने हाम्रो उद्देश्य हो ।  कसैसँग ईनोभेटिभ आईडिया छ तर लगानी गर्ने पैसा छैन भने उनीहरुलाई सम्भावित लगानीकर्ता भेटाउन यो सम्मेलनले सहयोग गर्नेछ । यसको लागि हामीले एउटा छुट्टै सत्रको आयोजना गरेका छौँ । विदेशमा ज्ञान,सीप सिकेर नेपाल फर्केकाहरुको अवसर र चुनौती के छ, उनीहरु अनुभव साट्नको लागि अर्को सत्रको आयोजना गरिएको छ । सो सत्रमा विदेशबाट फर्किएकाहरुको एलुम्नाईका प्रतिनिधीहरुका प्रतिनिधीहरुलाई आमन्त्रण गरेका छौँ ।  यस्तै नेपाली विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने मुलुकका राजदुतहरु, युजीसी, नास्ट जस्ता अनुसन्धानका लागि श्रोत उपलब्धी गराउने निकायहरुको प्रतिनिधीहरु पनि आमन्त्रित छन् । रिसर्च एण्ड डेभेलोपमेन्टलाई नयाँ सिरामा पुर्‍याउन यस्ता अन्तरकृयाले सहयोग गर्नेछ ।

सम्मेलनको अनुमानित खर्च कति आंकलन गर्नु भएको छ ?
१ करोड भन्दा बढी खर्च हुनेछ ।  यो खर्च एनआरएनए वा सरकारको कोषबाट नभई स्पोन्सर र प्रवेश शुल्कबाट उठाईने छ ।

अन्त्यमा केही भन्न चाहानु हुन्छ?
एनआरएनमा ब्यपारीहरुको सहभागिता रहदै आएको र प्राज्ञिक क्षेत्रका मानिसहरुको सहभगिता न्युन रहेको छ भन्ने गुनासो छ। प्राज्ञिक क्षेत्रका गैरआवासीय नेपालीहरुलाई पनि आफ्नो ज्ञान र क्षमता देखाउने यो अवसर होा नेपालका राजनितिज्ञ र एनआरएनका नेताहरुसँग गुनासो गरेर बस्नु भन्दा आफैले केही गरेर देखाउने बेला आएको छ। यस्तो सम्मेलनमा हरेक दुई बर्षमा नेपालमा आयोजना हुने भएकोले यस सम्मेलनमा भाग लिन नसक्नु हुनेहरुको भविष्यमा सहभागता हुनेछ भन्नेमा हामी विश्वस्त छौ। ज्ञान, सिप, पुँजी र राजनितीलाई हामीले सँगै लिएर जान सके मात्र परिवर्तन संभव छ।  त्यसैले पहिलोपटक आयोजना हुन लागेको यस सम्मेलन सफल पार्न सबै गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्दछौ।