NRNA Official Seal/LOGO

NRNA: कतारीको व्यंग्य गरिएको नाटकको अतिथि भएकै कारण आर के शर्माको गिरफ्तारी

Hollywood Khabar November 11,2018 Comments

१२ नोभेम्बर २०१८

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आर. के.) शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ ।

गत अक्टोवर १८ तारिखमा भएको उहाँको गिरफ्तारीको कारण के हो भन्ने विषय र अवस्थाका बारेमा अहिले सम्म त्यहाँको सरकारी निकायले आधिकारिक जानकारी गराएको छैन। गिरफ्तार गरिएको तेस्रो दिन छोटो समय परिवारका सदस्यसँग कुरा गर्न दिए पनि कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको बाहेक अन्य जानकारी पाउन नसकेको पारिवारिक स्रोतले जनाएको थियो ।

गत अक्टोवर ५ तारिकमा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाको आयोजनामा भएको एक साँस्कृतिक कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको थियो । शर्मा त्यस कार्यक्रमको विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। उहाँबाहेक उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले त्यस कार्यक्रम पछि नियन्त्रणमा लिएको बुझिएको छ।

गत विहिबार संयोजक शर्माले करिब १५ मिनेट परिवारका सदस्यहरुसँग कुरा गर्नुभएको र नेपाली समुदायको नेतृत्वकर्ता भएर पनि त्यस किसिमको कार्यक्रम किन रोक्ने प्रयास नगरेको भन्ने विषयमा नै सोधखोज केन्द्रित रहेको जानकारी श्री शर्माले परिवारका सदस्यहरुलाई गराउनु भएको जानकारी प्राप्त भएको छ ।

उहाँको गिरफ्तारी पछि संघले कतार स्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा उहाँको अवस्था एकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको छ ।

संघ यो प्रेस विज्ञप्ति मार्फत पनि संघका मध्यपूर्व संयोजक आरके शर्मा र हिरासतमा रहनुभएका अन्य नेपालीहरुको शिघ्र रिहाइका निम्ति जोडदार अपील गर्दछ । यसका साथै श्री शर्माको गिरफ्तारीको विषयमा निराधार र कपोलकल्पित रुपमा केही संचार माध्यम र सामाजिक संजालमा समाचार तथा टिका टिप्पणी भैरहेका प्रति पनि गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कसैले पनि व्यक्तिको स्वाभिमानमाथि चोट पुग्ने गरी संघ र संघका पदाधिकारीहरुलाई समेत जोडेर काल्पनिक, आधारहिन र भ्रामक समाचार संप्रेषण तथा टिका टिप्पणी नगरिदिनुहुन संघ हार्दिकतापूर्वक अनुरोध गर्दछ ।

भूषण घिमिरे

प्रवक्ता

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद