NRNA Official Seal/Logo

NRNA: गैरआवासीय नेपाली दिवसबारे पत्रकार सम्मेलन अक्टोवर १०, दिनको १ बजे

Hollywood Khabar October 08,2018 Comments

नमस्कार ।
अक्टोवर ११ गैरआवासीय नेपाली दिवस। गैरआवासीय नेपाली संघले यस अवसरमा सदा झैं यस वर्ष पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउन गैरहेको जानकारी गराउँदछौं । यो वर्षको गैरआवासीय नेपाली दिवस अझ विशेष हुने भएको छ। यस दिवसका सन्दर्भमा हुन गैरहेका विशेष कार्यक्रमहरु यो दिनलाई विशेष बनाउने कारण बनेका छन्।
 
हरेक दुईवर्षमा विदेशमा आयोजना हुने संघको क्षेत्रीय सम्मेलनको सट्टा गैरआवासीय नेपाली दिवसको अवसर पारेर नेपालमा नै खास विषयमा सम्मेलन गर्ने वर्तमान कार्यसमितिको निर्णय अनुसार अक्टोवर १२ देखि १४ सम्म विज्ञ सम्मेलन हुने भएको छ। सो सम्मेलनमा २०० भन्दा बढी संसारभर छरिएर रहेमा स्वदेशी तथा विदेशी विभिन्न क्षेत्रका विज्ञहरुले आर्जनगरेका विज्ञता, अनुभव र शिपलाई नेपालका सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर कार्यपत्र प्रस्तुत गर्न गैरहेका छन् । नेपाल सरकारसंगको सहकार्यमा हुन गैरहेको यो सम्मेलन गैरआवासीय नेपाली अभियानको एउटा महत्वपूर्ण फड्को हुने हाम्रो अपेक्षा छ। नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीबाट सम्मेलनको समुद्घाटन हुन गैरहेको छ ।
 
त्यसैगरी गत अधिवेशनले संघको विधानमा आवश्यक परिमार्जनहरुका विषयमा गम्भीरतापूर्वक छलफल गरेर संशोधनका निम्ति प्रस्ताव तयार गर्न विधान सभा गर्ने निर्णय गरेको थियो । तसर्थ यही अक्टोवर १२ मा विधान सभा पनि हुन गैरहेको छ।
 
संघको संस्थागत संरचनामा समयानुकुल परिवर्तन आवश्यक पर्ने हुन्छ । केही देशबाट शुरुभएको अभियानको करिब ८० देशमा संजाल विस्तार भैसकेको छ। पंजीकृत सदस्यहरुको संख्यामा भएको बृद्धिले महाधिवेशन व्यवस्थापनमा ध्यान दिनुपर्ने टड्कारो अनुभव भैसकेको छ।
 
संघको उद्देश्य र लक्ष्य अनुसार धेरै भन्दा धेरैलाई समेटेर अघि बढ्न सकिने संरचनाको निर्माण गर्दै जानु आवश्यक छ। विधान सभाका अवसरमा विधानका प्राविधिक विषयमा मात्र सीमित नभएर संघ भित्रका अरु विविध विषयहरुमा पनि विचार विमर्श गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ। संघको भावि दिशा निर्देशमा विधानसभा एउटा महत्वपूर्ण हिस्सा हुने विश्वास संघको छ ।
 
संघले विगतमा सुरु गरेका ठूला परियोजनाहरुको निर्माण सम्पन्न हुँदै छन् । यसै क्रममा संघको आफ्नै भवनमा सचिवालय सार्ने र शंखमुलमा निर्मित पार्क ललितपुर महानगरपालीकालाई हस्तान्तरण गर्ने कार्य यस वर्षको गैरआवासीय नेपाली दिवसकै अवसरमा हुन गैरहेका छन्।
 
ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको पुनरनिर्माण योजनाको हस्तान्तरण, पर्यटन प्रवर्धनात्मक कार्यक्रम, रक्तदान, सडक सुरक्षाका निम्ति अपनाउनु पर्ने निर्माण विधिको प्रदर्शन र सडक सुरक्षा शिक्षा प्रदान गर्ने लगायत थुप्रै कार्यक्रमहरु यस पटक आयोजना हुन गैरहेका छन् र कतिपय भैसकेका पनि छन् ।
 
लाप्राक नमूना वस्तिको निर्माण अनपेक्षित प्राकृतिक प्रतिकुलताका कारण अझै पूर्णरुपमा सम्पन्न भैसकेको छैन । तर पनि अव निर्माणकार्य अन्निम चरणमा पुगेको छ।
यिनै विषयहरु सहित गैरआवासीय नेपाली दिवसका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा यहाँको लोकप्रिय संचार माध्यमबाट गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
 
समय : दिउसो १ बजे
मिति २०७५ असोज २४ गते (२०१८ अक्टोवर १०)
स्थान : नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकू, चौंथो तल्ला
 
धन्यवाद !
 
भुषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ