NRNA नेतृत्व र प्रधानमन्त्री खड्ग प्रसाद ओलीबीच भेटघाट

Hollywood Khabar February 24,2018 Comments

सम्माननीय प्रधानमन्त्रीज्यूसंग भेटघाट
सन् २०१८,फेब्रुवरी २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्री के.पि शर्मा ओली संग भेट गर्यो। संघका अध्यक्ष भट्टले प्रधानमन्त्रीको गरिमामय पद सम्हाल्नु भएकोमा समस्त गैरआवासीय नेपालीहरुको तर्फबाट उहाँलाई बधाई दिनु भयो । साथै अघिल्लो दिन मात्र प्रधानमन्त्रीज्यूको जन्मदिन परेकोमा एकदिन ढिलै भएपनि प्रधानमन्त्रीज्यूको दिर्घायु र कार्यकालको पुर्ण सफलताको कामना गर्नु भयो। उहांले ठूलो बहुमतको सरकार बन्नुबाट राजनैतिक अस्थिरताको अन्त्य हुने र मुलुकमा आर्थिक विकासले गति लिने अपेक्षा सबै गैरआवासीय नेपालीहरुले राखेको बताउनु भयो ।
उहांका अनुसार देश समुन्नत नभए सम्म व्यक्तिगत अर्थ रहदैन भन्नु हुंदै मुलुकको समृद्धि गैरआवासीय नेपालीहरुको पनि स्वार्थ भएको धारणा राख्नु भयो। संघको सन्जाल ७८ देशमा फैलिसकेको जानकारी समेत दिनुभयो ।
उहांले संविधानले नेपालको नागरिकताको निरन्तरतालाई भावनात्मक रुपमा स्वीकार गरेको र एक पटकको नेपाली सधैंको नेपाली भन्ने हाम्रो भनाइलाई सबैले स्वीकार गर्नसके विदेशीएका नेपालीहरुलाई पनि पुस्तौं पुस्तौं सम्म जोडेर राख्न सकिन्छ भन्ने धारणा राख्नु भयो । गैरआवासीय नेपालीहरु विस्तारै सक्षम र सकृय हुँदै छन् भन्ने धारणा राख्नु हुँदै गैरआवासीय नेपालीहरुको संख्या मात्र बढेको नभई गैरआवासीय नेपालीहरुको क्षमतामा पनि विस्तार भएको धारणा राख्नु भयो । पेशा, व्यवसाय, रोजगारी सबै क्षेत्रमा गैरआवासीय नेपालीहरु अघि बढिरहेको र मुलुकले पनि यसको फाईदा लिन सक्ने विचार राख्नु भयो ।
संघका अध्यक्षले नेपालको विकास एक दुई जनाको प्रयासले संभव छैन भन्दै सबै हात एकै साथ भन्ने नाराका साथ संघको वर्तमान नेतृत्व चयन भएको र त्यसै भावना अनुसार काम गरिरहेको बताउनु भयो । साथै उहांले विगतमा सुरु गरेका परियोजना वा प्रयासलाई निरन्तरता दिएको र केही नयाँ काम पनि आरम्भ गरेको बताउनु भयो । साथै उहांले छरिएर रहेको श्रोतलाई एकीकृत गरी एक लगानी योग्य स्तर(Size) मा पुर्याउने हेतुले लगानीका लागि विशेष संयन्त्र (Special Purpose Vehicle) स्थापनाका लागि प्रयासरत रहेका बताउंदै यसमा पूर्व अध्यक्षहरु लगायत केही साथीहरु लागिरहनु भएको जानकारी दिनु भयो र यस कार्यमा सरकार र प्रधानमन्त्रीज्यूबाट सहयोग मिल्ने अपेक्षा रहेको बताउनु भयो ।
उहांले वैदेशिक रोजगारी नेपालका लागि जीवन नली हो भन्नेमा दुइमत नरहेको बताउनु हुँदै सबभन्दा दु:खमा पर्नेमा पनि वैदेशिक रोजगारीमा गएका युवाहरु हुने गरेको धारणा राख्नु भयो । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन र वैदेशिक रोजगारमा गएकाहरुको भविष्य सुनिश्चित गर्न संघले प्रयास गरेको र संघका यस सम्बन्धि सुझावहरुमा प्रधानमन्त्रीज्यूको ध्यान जाने विश्वास प्रकट गर्नु भयो ।
यसका साथै उहाँले नेपालमा गएको महाभूकम्प पश्चात अमेरिकामा रहेका तर प्रकृया पुर्याई त्यहां बस्ने अनुमति नभएकाहरुलाई लक्षित गरेर अमेरिकी सरकारले (Temporary Protection) दिएको र हाल त्यसको अवधि समाप्त हुदैछ र त्यसलाई थप्ने तर्फ अमेरिकाका साथीहरु बाट प्रयास भईरहेको बताउंदै सरकारका तर्फबाट पनि केही पहलको अपेक्षा रहेको बताउनु भयो।
सो समारोहमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले मुलुकको समृद्धिको लागि काम गर्न प्रधानमन्त्री र सरकारलाई शुभकामना दिनुका साथै मुलुकको समृद्धिमा गरिने काममा साथ दिन सघ सधै तयार रहेको बताउनु भयो ।
प्रत्युत्तरमा सम्माननी प्रधानमन्त्रीले आफ्नो एक मात्र उद्देश्य मुलुकको हितका लागि काम गर्ने र सरकारको उद्देश्य नै नेपालीको समृद्धि हो भन्ने धारणा राख्नु भयो । उहांले गैरआवासीय नेपाली नागरिकताको विषय नेपालको संविधानले नै संबोधन गरिसकेकोले त्यसको कार्यान्वयन मात्र बांकी रहेको धारणा राख्नु भयो । साथै उहांले नेपाल र नेपालकमानिहित क्षमता(Potential)को उपयोग गरेर नै देश विकास संभव भएको र जहां बसे पनि नेपालीले नेपालको हितलाई ध्यानमा राख्नु पर्ने धारणा राख्नु भयो ।
संघका महासचिव डा बद्री के सीद्वारा संचालित कार्यक्रममा संघका उपाध्यक्ष सपिला राजभण्डारी, पदाधिकारीहरु, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र पूर्व पदाधिकारीहरु,सदस्यहरु लगायत ३० जना भन्दा बढी गैरआवासीय नेपालीहरुको संलग्नता थियो ।
गैरआवासीय नेपाली संघ सचिवालय