NRNA मध्यपूर्वको क्षेत्रीय भेलाको सम्पूर्ण तयारी पूरा-प्रेस विज्ञप्ति

Hollywood Khabar August 20,2018 Comments

प्रेस विज्ञप्ति
मध्यपूर्व क्षेत्रीय भेला
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि नै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन समयसापेक्ष सुधारका लागि सरकार तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको छ।

नेपालीका लागि नेपाली भन्ने मूल नारा रहेको यस संघले वैदेशिक रोजगारी सम्बन्धि विषयहरुलाई आफ्नो कार्य प्राथमिकतामा राखेको छ। संघकै सुझाव र पहलमा नेपाल सरकारबाट पछिल्लो समयमा विभिन्न महत्वपूर्ण निर्णयहरु समेत भएका छन् । विश्व व्यापीकरणको लहरसँगै वैदेशिक रोजगारीको क्षेत्र समेत बृहत् बन्दै गएको छ र वैदेशिक रोजगारीसंग सम्बन्धित विषयमा चुनौति र समस्यामा पनि परिवर्तन भइरहेको छ ।

यसै सन्दर्भमा “सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार : ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार” भन्ने नारा सहित यही अगष्ट २३ देखि २५ तारिखसम्म युएईको दुबईमा  छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकको आयोजना हुँदैछ । मर्यादित र सम्मानित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीहरुले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउनु यस बैठकको मुख्य उद्देश्य रहेको छ ।

बीस लाख भन्दा बढी नेपाली दाजुभाई तथा दिदी बहिनीहरू श्रमिकका रुपमा यस क्षेत्रमा कार्यरत हुनुहुन्छ । संख्यात्मक रुपमा सबै भन्दा धेरै नेपाली कार्यरत रहेका यस क्षेत्रका नेपालीहरुको समस्याहरु सम्बोधन गर्नु यस सम्मेलनको प्रमुख उदेश्य हो ।

नेपालमा भित्रने कुल रेमिट्यान्सको करीब ६० प्रतिशत मध्यपूर्वबाट नै आउँछ । तर त्यो क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरु विभिन्न अप्ठ्यारोमा पर्दा सहज सहयोग पाउने वातावरण बन्न सकेको छैन । मध्यपूर्वमा कार्यरत नेपालीहरु माझ स्थानिय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभाव लगायत विविध कारणले जेलजीवन बिताइरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको पीडा एकातिर छ भने  अर्कोतर्फ काम गर्ने क्रममा गम्भिर दुर्घटनामा परी अंगभंग भएकाहरुको समस्या उस्तै छ । स्वास्थ्य तथा सुरक्षाका बारेमा चेतना नहुनाले कतिपयले अकालमा ज्यान गुमाउनु परेका यथार्थता सर्वविदितै छ । तसर्थ यी सबै पक्षमा बैठकले गम्भीरतापूर्वक छलफल गर्नेछ र त्यस्ता समस्या निराकरणका लागि सुझाव प्रस्ताव गर्नेछ ।

विदेशमा कडा परिश्रम गरेर विप्रेषण भित्र्याउनेहरुले सोचे जस्तो आम्दानी र बचत गर्न सकेका छैनन् । उनीहरुको आय मूल रुपमा अनुत्पादक उपभोगमा खर्च हुँदा भविष्य सुनिश्चित हुन सकेको छैन् । विदेशबाट पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने/गराउने वातावरण बन्न सकिरहेको छैन । यस विषयमा पनि बैठकमा छलफल गरिनेछ । साथै वैदेशिक रोजगारीमा जाने नेपालीहरूको जनचेतना वृद्धिका निम्ति गर्नुपर्ने कार्यहरु, विदेशमा  सिकेका ज्ञान तथा सीप मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने पनि यस पटकको बैठकको छलफलको अर्को महत्वपूर्ण विषय हो ।

त्यसका साथै वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमुलुक तालिम तथा फर्केर आएका युवा युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन, समाजमा पुनरस्थापना र समायोजन,स्वास्थ सुरक्षा सम्बन्धी र आफुलाई अफ्ठ्यारो पर्दा कुन निकायमा कसरी सम्पर्क गर्ने भन्ने कुराको चेतना, घरेलु कामदारको समस्या, सामाजिक सुरक्षा कोष, हजारे अभियान, वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण  फ्रि–टिकट तथा भिषाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा समेत बैठकमा छलफल हुने छ ।

यस्तै विदेशस्थित नेपाली नियोगमार्फत  विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, अनलाइन प्रणालीमार्फत विभिन्न निकायहरुलार्ई जोडी कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाहरुको लागि सञ्चयकोष जस्ता विषयमा बैठकले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । बैठकका निष्कर्षहरुलाई सरकार लगायत सम्बन्धित निकायहरु समक्ष  पुर्याइनेछ ।

बैठकमा नेपाल सरकारका तर्फबाट प्रमुख  अतिथिको रूपमा खानेपानी मन्त्री बिना मगर, पूर्व श्रम मन्त्री रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव  विपिन आचार्य, अन्य सरोकारवाला निकायका पदाधिकारीहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षकहरु, पदाधिकारीहरु, सदस्यहरु, विभन्न मुलुकका एनसिसिका प्रतिनिधिहरु र एनआरएनएका अभियन्ताहरु लगायत संचारकर्मीहरु सम्मिलित हुनु हुनेछ ।

गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक आर. के शर्माको संयोजकत्वमा हुन गइरहेको यस बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । यस अवसरमा सरकार र सरोकारवाला माझ मध्यपूर्वका मुद्दाहरु प्रति गम्भीर ध्यानाकर्षण गराउन बैठकमा सहभागी भई आवश्यक सहयोग गरेर बैठक सफल बनाउन सञ्चारकर्मी लगायत सम्बन्धित सबैमा संघ हार्दिक अनुरोध समेत गर्दछ ।

भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
२१ अगस्ट २०१८