-एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि ?

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि ?

Hollywood Khabar March 21,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च २२, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा शक्तिको लागि एक किसिमको राजनीति सधैं हुने गरेको छ। त्यो खेल अझै पनि छ र अझै निरन्तर हुने नै देखिन्छ। खासगरी नेतृत्वमा आउनको लागि केहि बिधि र नीति तोडमोड गर्ने र आफू अनुकुल ब्याख्या र तिक्डम गर्ने प्रचलन नयाँ होइन। अहिले सम्म सबैले मध्येपूर्वलाइ क्रिडाथलो बनाउने र अमेरिकालाई पछाडी धकेल्ने चलन छ।

सुरु गरौँ अमेरिकाबाट;

  • यसै शिलशिलामा एनआरएनएले बहुत चर्चा कमाउन २०१९-२०२१ का लागि बनेका राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्यता मध्ये २०९३ पंजीकृत सदस्यता संबन्धि प्रश्न उठायो। त्यो पनि निर्वाचन सम्पन्न भएको एक बर्ष पछि छानविन गर्न भनेर बेतुकको आरसी राजन त्रिपाठीको संयोजकत्वमा त्रिपाठी आयोग बनायो।
  • २०१९ को निर्वाचनमा उठेको सो २०९३ पंजीकृत सदस्यता संबन्धि विवाद समाधान गर्न भएको बैठकमा गैरआवासीय नेपाली संघका तत्कालिन अध्यक्ष भवन भट्ट, महासचिव डा बद्रि के सी, आरसी गौरी जोशी समेत उपस्थित भएर बिषय टुङ्गो लागेको नै हो।
  • त्यो आपत्ति जनाइएको २०९३ जना पंजीकृत सदस्यताको लिष्टमा वर्तमान अन्तराष्ट्रिय परिषदका कार्यकारी सचिवालयका उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रबिना थापा, सचिव गौरी जोशी समेत रहेका छन्। यति मात्र होइन क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साह, म आफू स्वयं लगायत करिब ७०० जति त आजीवन सदस्य नै रहेका छन्। अब त्यसको छानविन गर्दा नतिजा के आउँछ त्यो कुरा उनीहरु आफैंले बुझुन।
  • संघको अक्टुवर २०१९ को काठमाण्डौ निर्वाचन सम्पन्न भएपछि अमेरिकाको उपस्थिति कार्यकारी सचिवालयमा दरिलो भयो। अमेरिकालाइ पछि धकेल्ने योजनामा एक्कासी धक्का लाग्यो। यसबाट एक मतियार महासचिव डा हेम राज शर्मा मार्काकाले त्यसपछि तिक्डम गर्न थाले। थुप्रै प्रक्षेपण गरिए, क्षेत्रीय बैठकमा महिलाहरुलाई अपमान गरियो। त्यसैको फलस्वरुप क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा त्रिपाठी कमिटी बनाइयो।
  • त्यो कमिटीको सदस्यमा एकजना बाहेक सबै त्यहि २०९३ छानविन भनिएका लिष्टमा नै थिए। आफैं छानविन लिष्टमा पर्ने अनि आफैंले आफ्नै छानविन गर्ने क्या मज्जाको न्यायिक कुरा ! त्यो प्रयास अरु केहि पनि होइन अमेरिकाको शक्तिमा विभाजन ल्याउने योजना थियो। अनि त्यसका लागि बलिको मुर्गा बनाइए आरसी राजन त्रिपाठी। अन्तमा नतिजा केहि पनि पाइएन।
  • यदि त्यसै गर्ने हो भने, भनिएको २०९३ सदस्यले मत दिएका सुनिल साहको वर्तमान एनसीसी नेतृत्व सखाप हुनेभयो। त्यसपछि उनको टिमले छानेको विश्वो सम्लेलनका प्रतिनिधि सबै अबैध हुने भए। ति अबैध प्रतिनिधिले मत दिएर जितेका स्वयं आरसी त्रिपाठी मात्र होइन अध्यक्ष कुमार पन्त सम्मले नै पदमुक्त हुनुपर्ने भयो। छानविनमा केहि नभेटिनु र त्यो कौडा र पासा आफैंतिर फर्केपछि त्यो त्रिपाठी आयोगलाइ थन्क्याइयो। त्यसपछि नयाँ अस्त्र उपाध्यक्ष सोनाम लामाको संयोजनमा अर्को कमिटीको पासा फालियो भनिन्छ।
  • यो अर्को उपाध्यक्ष लामाको कमिटी बनाउनमा पनि दुइ कारण छन्। पहिलो अध्यक्षका दावेदार देखिएकाले उपाध्यक्ष सोनाम लामा र दोश्रो बलियो मानिएकी उपाध्यक्ष रबिना थापालाइ अमेरिकामा नै विवादित बनाएर कम्जोर बनाउनु। दोश्रो यो पटकको सदस्यको सबै एक्सेस लिएर डाटा हेरफेर गरेर डा बद्री के सी र हेम राज शर्माका डमी उम्मेदवार कृष्ण लामिछानेलाइ राहत पुर्याउन खोज्नु। अनि त्यसको अपजस छानविनका नाममा संयोजक भएकाले उपाध्यक्ष लामालाइ फसाएर गिराउनु, बस-बाटो साफ !
  • कमिटीमा सबै अमेरिका बेसका मात्र राखिनुले पनि दालमा कालो त सबैले सजिलै देख्ने नै हो। तर पनि उपाध्यक्ष लामा लगायतले आफैंले नबुझ्नु चाहिँ संघ र उहाँहरु सबैलाइ घाटाको बिषय हो। यस्तो कमिटी कि संसारका सबै एनसीसीमा बनाउ अन्यथा यो पनि बन्द गर। बेलायतमा किन बन्दैन ?
  • उसो भए संघले आफ्ना सबै एनसीसीका सदस्यता छानविन गर्छ त ? के महासचिव आफैं रहेको होम कन्ट्री बेलायतको कार्यसमिति भित्रबाट सदस्यताको शुल्कमा ४ करोडको घोटालाबारे कमिटी बन्छ त ? त्यसलाई बचाउन लागेका महासचिव डा हेम राज शर्माको सोझो संलग्नता देखिएन र ? अब छानविन कसमाथि गर्ने ?
  • उसै पनि पैसाको खेल हुने ठाउँमा डा शर्माको सोझो रुपमा चासो त देखियो नै। ILO प्रोजेक्टमा पनि उहाँको घुमाउरो रुपमा चुनावी ताल-मेल मिलाउन लाभ लिएको कुरा जति होइन भने पनि प्रष्ट रुपमा नै देखियो। ILO ले आफैं छानविन गर्छु भनेर पत्र लेख्नुले पनि आर्थिक चलखेल भएको कुरा प्रमाणित नै भयो।
  • अष्ट्रिया, माल्टा, स्पेन, बेलायतको घोटाला र विवादको चरम सिमा नदेख्ने एनआरएनको अन्तराष्ट्रिय सचिवालयले किन अमेरिकाप्रति हात धोएर लागि परेको छ?
  • कति एनसीसीको त निर्वाचन नै हुँदैन, कतिले सदस्य नै बनाउँदैनन् र लिष्ट मात्र पठाउँछन्। कति एनसीसी दर्ता हुन्छन त कति हुँदैनन। त्यसप्रति महासचिवको जिम्मामा पर्ने कुराप्रति प्रश्न किन उठाउँदैनन् कसैले ? अध्यक्ष कुमार पन्तज्यूलाइ यो कुराको ज्ञान छ। तर पनि बिषयले किन प्रवेश पाउँदैन र समाधान हुँदैन् ?
  • एकाथरि मानिसहहरुको बुझाइमा मध्येपूर्वमा कम पढे-लेखेका नेपाली समुदाय छन् भन्ने गलत सोच छ। तर त्यो कुरा चाहिँ सत्य होइन। त्यो क्षेत्रमा सबै खाले नेपाली समुदाय छन्।
  • अर्को कुरा हरेक चुनावमा मध्येपूर्वलाइ क्रिडाथलो (युज) बनाउने गरिएको छ। वास्तवमा उनीहरुको श्रम समस्याका कुरा उठाउने व्यक्ति चाहिं पूर्व अध्यक्षहरुमा जम्मा दुइ जना मात्र छन्। अरु सबैले त्यो क्षेत्रलाइ चुनावी प्रयोग मात्र गरेको देखियो।
  • एक पटक पूर्व अध्यक्ष शेष घलेले अमेरिका नआए सम्म एनआरएनको शीर माथि पुग्दैन भन्ने उद्घोष गर्नुभएको थियो। त्यसैले उहाँले पहिलो कार्यकालमा अमेरिकालाइ धेरै फोकस गर्नुभयो। अमेरिकाले पनि मुख्यालय क्याम्पस बनाउन र लाप्राक नमुना बस्तीमा पनि ठुलो योगदान गरेको छ। यसमा अमेरिकीहरु धेरैजना मध्ये सबै भन्दा धेरै वर्तमान उपाध्यक्ष सोनाम लामाको योगदान रहेको छ।
  • १० औं बर्षमा टुङ्गो नलागेको नागरिकताको बिषय शेष घलेकै पालामा २०१४ मा अमेरिकालाइ चेयर गर्न जिम्मेवारी दिइयो। त्यसको फलस्वरूप बिषयलाइ एक तह माथि लगियो। तर एकाथरि एनआरएनहरुको चलन र प्रयास भने हरेक पटक अमेरिकालाई पछि धल्केल्ने योजना रहेको छ। होसियार; यो क्रम अझै पनि छ र रहिरहन्छ। (प्रमाणको लागि यो भिडियो लिकं हेर्नु होस्- https://youtu.be/rSCCyclARX8)
  • वर्तमान नेतृत्वमा अमेरिकाले ३ जनालाइ अन्तराष्ट्रिय परिषदको सचिवालयमा पुर्याएको छ। तर यसमा एनसीसी अमेरिकाको मात्र पहलले चाहिं होइन। उहाँहरु आफै, नेटवर्क र अरु थुप्रै कुरा छन्। भएपनि जस चाहिँ वर्तमान एनसीसी भएकाले लिन पाउने नै भयो।
  • अब पनि अमेरिकाले ति दुष्प्रयासलाइ बुझेर गतिलो जवाफ नदिने हो भने यसको अन्त हुँदैन। हाम्रो नेतृव संघमा कहिल्यै पनि पुग्दैन। हाम्रो नेतृत्व नपुगे सम्म हाम्रो मुद्धाको टुंगो पनि लाग्दैन। त्यसको फाइदा हामी अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत दर्जनौं देशहरु सबैलाई हो। यसका लागि एउटा मात्र प्रयास हुनुपर्छ- अमेरिका या तत् देशबाट एकिकृत, सशक्त, शक्तिशाली प्रदर्शन र नेतृवमा दावी।

अन्तमा, अहिले भनिएको जस्तो छानविन कमिटी कि सबै एनसीसीलाइ बनाउनुपर्छ कि चाहिं यो छिर्की हान्ने काम बन्द गर्नुपर्छ। अझै ठूलो कुरा त गत बिशेष महाधिवेशनमा प्रतिनिधि छिर्न नदिने महासचिव डा हेम राज शर्मालाइ छानविन र कारबाही गर्ने कमिटी बन्छ कि बन्दैन ?