-NRNA:लाप्राक नमूना वस्ति, ५७३ घरको निर्माण अन्तिम चरणमा

NRNA:लाप्राक नमूना वस्ति ५७३ घरको निर्माण अन्तिम चरणमा, हस्तान्तरणको पर्खाइ

Hollywood Khabar April 25,2019 Comments

२५ अप्रिल २०१९

गैरआवासीय नेपाली संघ ले नेपालमा गएको महाविनाशकारी भूकम्पको चौथो वर्षको अवसर पारेर गोर्खाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा निर्माणाधिन लाप्राक नमूना वस्तिको अवलोकनका साथै लाभग्राहीहरुसँग अन्तरक्रिया गर्‍यो।

अप्रिल २५, २०१९ बिहीवार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले भुकम्प पिडितको लागि निर्माण भएको नमुना बस्ती छिट्टै विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने बारे जानकारी दिनुभयो। उहाँले वस्ती बनेको गुप्सीपाखामा सामुदायिक भवन लगायतका अन्य संरचना, पूर्वाधार आदिका कुराका लागि पहल भईरहेकोबारे अवगत गराउनु भय। अध्यक्ष भट्टले नमूना बस्तीको रंगरोगन सहित बाह्य संरचनाको सम्पूर्ण काम सकिएको बताउँदै लाप्राकवासीहरुको धैर्यताको लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्यमा संलग्न नेपाली सेनाको कामको उच्च कदर गर्दै सेनालाई समेत धन्यवाद दिनु भयो ।

लाप्राकमा ५७३ घरको निर्माण सकिएर अन्तिम चरणको संरचनागत विकासको काम भइरहेको छ। प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अब सम्पन्न हुने क्रममा रहेको छ। अध्यक्ष भवन भट्ट आफै उपस्थित भएर निर्माण कार्यलाई गतिदिन पहल गरिरहनु भएको छ।

नमुना बस्ती निर्माण समितिको संयोजक तथा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष सपीला राजभण्डारीले अन्तरक्रिया कार्यक्रममा बोल्दै परियोजनाको प्रगतिका बारेमा जानकारी गराउनुका साथै नमूना वस्ति निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो।

समारोहमा धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमायाँ गुरुङ्गले गैरआवासीय नेपाली संघले गरेको सहयोग प्रति लाभग्राहीको तर्फबाट धन्यवाद दिंदै गाउँपालिकाले वस्तिलाई साँच्चैको नमूना वस्तिका रुपमा रुपान्तरण गर्न सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।

कार्यक्रममा गाउँपालिकाका पदाधिकारी र सदस्यहरु, स्थानिय समुदाय तथा बस्ती निमार्णमा खटिएका नेपाली सेनाको प्रतिनिधीहरु लगायत अन्यसरोकारवालाहरुको सहभागिता थियो ।

गैरआवासीय नेपाली संघ