NRNA विज्ञ सम्मेलनको तयारी सम्बन्धमा सरोकारवालासँग छलफल

Hollywood Khabar April 02,2018 Comments

१ अप्रिल २०१८
गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा आयोजना गर्ने विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य तीव्र पारेको छ । सम्मेलनको तयारी स्वरुप १ अप्रिलमा संघले नेपालस्थित सरोकारवालाहरुसँग छलफल गरेको छ। छलफलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न चार अनुसन्धान केन्द्र तथा अन्य विभागका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुले यस सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्नुपर्ने भनाइ राख्नुभएका थिए ।
छलफलमा एन.आर.एन.ए. एकेडेमीका संयोजक डा.प्रमोद ढकालले सम्मेलनको उपयोग संस्थागत विकासमा हुनुपर्ने धारणा राख्नुभयो । गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले नेपालमा गैरआवासीय नेपालीहरुले उनीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रुपमा सम्मेलनलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो।
संस्थाका उपाध्यक्ष कुमार पन्तले नेपालमा अध्ययन र अनुसन्धानमा संलग्न विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुको सहयोगले सम्मेलन अझ बढी प्रभावकारी हुने र सो संलग्नता मार्फत विदेशमा बस्ने नेपालीसँग संस्थागत सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो ।  सम्मेलनमा विज्ञहरुसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएका विधान संशोधन समितिका संयोजक डा.हेमराज शर्माको नेतृत्वमा सरोकारवालाहरुको छलफलबाट प्राप्त सुझाव समेटेर सम्मेलन सम्बन्धमा विस्तृत विवरण प्रकाशित गर्ने तय भएको छ ।
यस्तै आयोजना सम्बन्धमा नेपालमा एक इकाई समेत स्थापना गर्ने निर्णय छलफलबाट भएको छ। सो छलफलमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, विधान संशोधन समितिका संयोजक डा.हेमराज शर्मा तथा एनआरएनए एकेडेमी संयोजक डा प्रमोद ढकाल लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
गैरआवासीय नेपाली संघ