NRNA एनसीसी फिनल्याण्डद्वारा महोत्तरीमा ५५ विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

Hollywood Khabar September 30,2018 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ।

सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्धेश्यले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाका बालबालिकहरुलाई विद्यालय भर्ना गराउने कार्यको आज एक कार्यक्रमका वीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सुभारम्भ गर्नुभयो ।

सो कार्यक्रममा विद्यार्थीहरुलाई स्थानीय महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राथमिक विद्यलयमा भर्ना गराई झोला, लत्ताकपडा र स्टेसनरी आदी शैक्षिक सामाग्री वितरण समेत गरिएको छ। शैक्षिक सामग्री, झोला, कपडा र खाजामा गरि प्रति बर्ष हरेक विद्यार्थीले ६,००० रुपैयाँ बराबरको सहयोग प्राप्त गर्नेछन् । शैक्षिक सामग्री वितरण,अनुगमन लागायतका ब्यवस्थापकिय कार्यका लागि ६ सदस्यीय संचालक समिति गठन गरिएको छ । अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सृजना गर्न हरेक बर्ष उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार र सम्मान प्रदान गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ ।

अभिभावकत्व ग्रहणका लागि श्रोत जुटाउन गत अगष्टमा फिनल्याण्डको राजधानी हेलसिन्किमा मैत्रीपूर्ण दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरिएको थियो । भर्ना गरिएका विद्यार्थीहरलाई उनीहरुले विद्यालय शिक्षा पार गरुन्जेल सहयोग प्रदान गर्न पहल गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ । कार्यक्रमको दिगोपनका लागि शिक्षा मन्त्रालय तथा रामगोपालपुर नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्ड