NRNA Face to Face Meeting January 2019

NRNA:गैरआवासीय नेपाली संघको विश्व सम्मेलन १३-१६ अक्टोबरमा

Hollywood Khabar January 10,2019 Comments

गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अधिवेशन अक्टोबर १३-१६, २०१९ मा आयोजना गरिने भएको छ।

संघको वार्षिक समिक्षा एवं आगामी कार्यक्रम तय गर्न काठमाण्डौमा शुक्रबार आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा सो निर्णय गरिएको हो। कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो।

यसैबीच बैठकले बहुप्रतिक्षित गोरखाको लाप्राकमा निर्माणाधिन एकिकृत नमुना वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ।

यस्तै जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना समेत अन्तिम चरणमा रहेकोले छिटै सो परियोजना पूरा हुने जानकारी बैठकमा गराइएको छ ।

यसैगरी नेपालमा आर्थिक लगानीसँगै ज्ञान सीप र प्रविधि भित्र्याउने, उज्यालो नेपाल परियोजनालाई तीव्रता दिइने, नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहकार्य गर्ने, नेपालका हाइड्रो पावरमा लगानी गर्ने, एक सय मिलियन डलरको लगानी नेपालमा भित्र्याउने योजनालाई मूर्त रुप दिने, कृषिमा आधुनिकिकरण एवं बजारीकरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै अघि बढ्ने लगायतका आगामी रणनीति समेत तय गरेको छ।

बैठकमा संघलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने सम्बन्धमा घनीभूत छलफल गरिएको छ। यस्तै गैरआवासीय अन्तराष्टिय पत्रकारिता पुरस्कारका लागि छनोट कमिटी बनाउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा विभिन्न संघका विभिन्न समितिहरुले आ-आफ्नो वार्षिक कार्य प्रगति पेश गरेका थिए। बैठकमा अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य, सपिला भण्डारी, महासचिव डा. बद्री के सी, प्रवक्ता भूषण घिमिरे, क्षेत्रिय संयोजक, उपसंयोजक, आइसीसी सदस्यहरु, सल्लाहकारहरु, अनररी काउन्सिल सदस्य लगायतको प्रत्यक्ष र करिब सय जनाले अनलाइन मार्फत सहभागिता जनाए।