Krishna KC

NRNA:संघको सम्मेलनमा घोषणा गरिएका बुँदा कति भए होलान, नेतृत्वलाइ प्रश्न ?

Hollywood Khabar December 16,2018 Comments

कृष्ण के सी/अमेरिका

प्रायजसो संघ-संस्थाहरुले फरक-फरक देशका सरकार प्रमुखहरुको बैठक र संझौताहरुको घोषणालाइ देखासिकी गर्दै आफ्ना सम्मेलनका पनि बुँदै-बुँदे घोषणा पत्र जारी गर्छन। त्यसपछि धेरैजसो संघ-संस्थाहरुले घोषणाप्रति के के गरियो भनेर कहिल्यै फर्केर हेर्दैनन। यो आरोप होइन तर यस्तै भएको छ गैरआवासीय नेपाली संघमा पनि। अनि हामी संघमा यस्तो नेता हेर्दैछौं जसले यस्ता कुराहरु सवल रुपमा पार लगाउन सकोस।

गैरआवासीय नेपाली संघ स्थापना भएको नै १५ बर्ष भयो। संघको परंपरा र बिधान अनुरुप क्षेत्रीय सम्मेलन, अधिवेशन र विश्व सम्मेलन हुन्छन। अनि क्षेत्रीय स्तरमा बैठक र भेलाहरु समेत हुने गर्दछन। ति सबै भेला, बैठक, सम्मेलन र अधिवेशनमा बुँदे-बुँदे घोषणा जारी गर्ने गरिन्छ। अनि हामी समाचार लेख्छौं यति बुँदे घोषणा गर्दै सम्मेलन सम्पन्न भयो। आजकल त त्यसलाई फोटो सहित आकर्षक क्याप्शन राखेर फेसबुक र ट्वीट पनि गरिन्छ।

सायद, संघको इतिहास देखि ऐले सम्म जारी गरिएका सबै घोषणाका बुँदाहरु जोड्ने हो भने त्यसको संख्या निकाल्न क्यालकुलेटर नै चाहिन्छ। अनि ति मध्ये कतिवटा घोषणाहरु सफल भए भन्ने जवाफ निकाल्न चाहिँ हातका औंला पनि धेरै हुन्छन। उसै पनि ठाडो हिसाबमा भनौ, १५ वर्षमा अन्तराष्ट्रिय सम्मेलन/अधिवेशन, ६ वटा क्षेत्रहरुका क्षेत्रीय सम्मेलन/बैठक त्यसैगरी राष्ट्रिय समन्वय परिषदका बार्षिक साधारण सभा समेत जोड्ने हो भने घोषणा गरिएका बुँदाको संख्या १००० ले पनि धान्दैन।

स्मरणीय कुरा, हरेक बैठक र सम्मेलनले गर्ने घोषणा अत्यन्तै सान्दर्भिक र आवश्यक हुन्छन। तर ति घोषणाहरु के-के भए र कुन कुन कार्यान्वयन भए भनेर हेर्ने हो भने उत्तर सन्तोष जनक पक्कै आउँदैन। अब यसका पछाडिको कारक तत्व के हो भन्ने तर्फ विचार गर्ने नेता संघभित्र चाइएको छ। कम्तिमा पनि घोषणा गरिएका मध्ये आधा मात्र बुँदाहरु कार्यान्वयन भएको भए पनि ५०० भन्दा धेरै कुरा पुरा हुन्थे। तिनमा एक चौथाई मात्र सफल भएको भए पनि २०० भन्दा धेरै सफल कथाहरु संघका सबैले गौरवताका साथ लिन्थे।

पहिलो कुरा यदि पुरा हुँदैन या घोषणा गरेका कुरा फर्केर हेरिंदैनन भने बुँदाहरु घोषण गर्नुको औचित्य रहन्छ जस्तो लाग्दैन। अझै भनौ, त्यसको उपादेयता के के हुन् र जवाफदेही को हुने भन्ने जस्ता बिषयमा कुराहरु उठाइँदैन। कुनै बुँदा प्रयास गर्दा पूरा या कार्यान्वयन भएको अवस्थामा जानकारी समेत नगराउनु चाहिँ सूचनाको अव्यवस्था भन्ने आरोप लगाउन सकिन्छ।

म, गैरआवासीय नेपाली संघका महासचिव र प्रवक्तासँग हाल सम्मका सबै सम्मेलनहरुका तिथि-मिति, स्थान र गरिएका घोषणाहरु, तिनका सफल पक्ष र असफल पक्षको लिष्ट सार्वजनिक गर्न अनुरोध गर्छु। त्यसपछि हामी आफै हेरौँला कति सय बुँदाहरु घोषणा गरिएछन् तिनमा कति पूरा भएछन।

भर्खरै हङकङमा एशिया प्रशान्त क्षेत्रको छैठौं बैठक डिसेम्बर ८-९, २०१८ मा सम्पन्न भयो। त्यो बैठकले पनि १५ बुँदे घोषणा जारी गरेको छ। तिनलाई हेर्दा धेरै राम्रा र अति नै आवश्यक बुँदाहरु छन। अब त्यसमा पनि कार्यान्वयन पक्षमा ढुसी लागेर घोषणाको इँटाको चाङमा अर्को एउटा इँटा नहोला भन्न सकिन्न।

मैले उठान गरेको बुँदै-बुँदाका घोषणा र तिनका लावारिसे अवस्था प्रति वर्तमान अध्यक्ष भबन भट्टको टिम मात्र जिम्मेवार छैन। स्थापना कालका अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्व पनि उत्तिकै जिम्मेवार छ। अनि बिचमा अध्यक्षको नेतृत्व लिनुहुने देवमान हिराचन, जीवा लामीछाने र निवर्तमान अध्यक्ष डा शेष घलेका पालाका टिम पनि उत्तिकै जिम्मेवार, गुण र दोषका लागि भागिदार छन्। ७७/७८ वटा एनसीसीहरुले पनि यो बिषय कहिल्यै फर्केर हेरेका छन् त ?

अब, गैरआवासीय नेपाली संघको गति फरक हुनुपर्ने कुरा स्पष्ट नै छ। अनि विगत देखि घोषणा गर्ने र त्यसलाई टुंगो र नतिजामा नपुर्याउने नेतृत्वप्रति बेलैमा सजग हुनु मात्र होइन प्रश्न उठाउनु पनि उत्तिकै जरुरी देखिएको छ। कतै कोहि नेतृत्वको बुद्धि पलाउने हो या बिरालो बाध्ने परंपरा कायम हुने हो त्यो भने हेर्न बाँकी छ।

कृष्णार्पण !!!