NRNA Asia and The Pacific Meeting, 8-9 December 2018

NRNA: एसिया प्यासिफिक छैठौँ बैठक, प्रथम महिला सम्मेलनको तयारी पूरा-प्रबक्ता

Hollywood Khabar December 06,2018 Comments

७ डिसेम्बर, २०१८

प्रेस विज्ञप्ति

एसिया प्यासिफिकको छैठौँ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन

गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै नेपालको समृद्धि र नेपालीको हितको निम्ति गैरआवासीय नेपालीहरुको साधन स्रोत प्रयोगमा ल्याउनका लागि काम गर्दै आएको छ । संघले मुलुक समृद्ध नभएसम्म व्यक्तिगत सम्पन्नताको खास अर्थ रहँदैन भन्ने मान्यता राख्दै आएको संघका लागि नेपाल र नेपालीको समृद्धि स्वार्थको विषय पनि हो।

तसर्थ नेपालमा लगानीको राम्रो वातावरण निर्माण संघको प्राथमिकतामा रहँदै आएको छ। निर्माणमा सरकारको प्रमुख भूमिका रहने तथ्यलाई मनन गरी संघले लगानी सम्बन्धमा नीति निर्माण गर्न र नेपालको लगानीका अवसर सम्भावित लगानीकर्तासम्म पुर्‍याउन सरकारलाई सहयोग गर्ने नीति लिएको छ।

यसै सन्दर्भमा विशेषत एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले यही डिसेम्बर ८ र ९ मा हङकङमा गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको छैठौँ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन आयोजना हुँदैछ । यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छौँ।

यो सम्मेलन सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार भन्ने विषयमा केन्द्रित रहनेछ। विशेष गरेर नेपालमा लगानी प्रवद्र्धनका विषयमा हामी बृहत छलफल गर्नेछौँ। यसपटक ठूल–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाहरुबारे विशेष छलफल गरिनेछ। यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिनेछ।

साथै क्षेत्रीय सम्मेलनसँगै प्रथम महिला सम्मेलन पनि हुने भएकाले एसियाली क्षेत्रमा बस्ने नेपाली महिलाका विषयमा पनि गहन छलफल गरिनेछ। विशेषत: महिलामाथिको हिंसा, यौन दुव्यवहार लगायतका विषयलाई प्रमुख एजेन्डा बनाई, त्यसका लागि एनआरएनको भुमिका कस्तो रहनुपर्ला भन्ने बारेमा छलफल गरि त्यसको निष्कर्षको आधारमा सरकारको ध्यानाकर्षण गराउने हाम्रो तयारी छ।

हङकङमा हुने सम्मेलनको लागि नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालज्यू प्रमुख अतिथिको रुपमा सहभागी हुँदै हुनुहुन्छ। सम्मेलनमा संघका भूपू अध्यक्षहरु उपेन्द्र महत्तो, जीवा लामिछाने, देवमान हिराचन, शेष घले, वर्तमान अध्यक्ष भवन भट्टलगायत आइसीसीका पदाधिकारी, एनआरएन यूरोप, अमेरिका, मध्य पूर्व, ओसनीया क्षेत्रका गैरआवासीय नेपाली प्रतिनिधीहरु, हङकङका सरकारी निकायका अधिकारी र यस क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरुको सहभागिता रहनेछ।

सम्मेलनमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, उद्यमी एवं व्यवसायी राजेन्द्र खेतान आदिको पनि उपस्थिती रहनेछ। सम्मेलनमा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वहरू सहित करीब ३ सय ५० जनाको सहभागिता रहने अपेक्षा छ।

सम्मेलन आयोजनामा संघको एसिया प्यासिफिकका क्षेत्रीय संयोजक किरण विक्रम थापाको संयोजकत्वमा सहसंयोजकद्वय विनोद कुँवर र पारसमणी पोख्रेल र प्रत्येक देशका अध्यक्षसहितको समिति परिचालित छ।

सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्न स्थानीय रुपमा एनसीसी हङकङका अध्यक्ष राधिका गुरुङ (टीका) लगायत राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण पदाधिकारी खटिरहनुभएको छ। सम्मेलन हङकङको काउलुन होटेलमा आयोजना हुनेछ।

गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गरिरहेका छन्। यसले नेपालको विकासमा केही सहयोग पनि पुगेको छ। यसर्थ पनि यो सम्मेलन राष्ट्र निर्माण र लगानी प्रवद्र्धनमा कोसेढुङ्गा हुनेमा संघ विश्वस्त छ ।

यस अवसरमा सम्मेलनमा सहभागी भएर सूचना प्रवाहमा आवश्यक सहयोग गरेर सम्मेलन सफल बनाउन संचारकर्मी लगायत सम्बन्धित सबैमा संघ हार्दिक अनुरोध समेत गर्दछ ।

भूषण घिमिरे

प्रवक्ता

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद