हामी एनआरएनहरु पनि यही जमीनमा तपाइहरु जस्तै जन्मेका हौ-आरसी सोनाम लामा

Hollywood Khabar June 28,2017 Comments

अतिथि देवो भवः
करीब करीब १९८० डिसेम्बरको जस्तो लाग्छ म पहिलो पटक यही विमानस्थलबाट परको देशको यात्रा शुरु गरेको। पहिलो पटक विदेश जाँदा त यो विमानस्थल पनि कति राम्रो, कति सफा लागेको थियो। मुस्ताङ्गबाट आएको म ठीटोलाइ। त्यो यात्रा तेतीखेरको रोयल नेपाल एरलाइन्सबाट नै थियो। तर हङकङ्गको एरपोर्टमा उत्रीदा पो लाग्यो एरपोर्ट भनेको यस्तो पनि हुदो रहेछ भन्ने, कति सफा कति व्यवस्थित।
हरेक मान्छेहरुको आफ्नै आफ्नै जिम्मेवारी र सोच हुन्छ।  म सोझो मुस्ताङ्गे ठिटाको मनमा हाम्रो पनि यस्तै एरपोर्ट भइदिए कति राम्रो हुन्थ्यो। यती सुन्दर छ देश। एक पटक आएका मान्छेले विर्सन नसक्ने। तर एरपोर्ट पुग्ने बितिकै फोहर, अव्यवस्थित, गनाउने देखिन्छ। यस्तो देखेर विदेशीहरुले के भन्लान भन्ने मनमा रात भरी खेली रह्यो। तर आफुले गर्न सक्ने होइन भनेर मनलाई चित्त बुझाए।
यही एरपोर्टबाट गएका म जस्ता कति नेपालीहरुले विश्वमा नाम, दाम कमाएका छन। हेर्नुस न हाम्रा उपाध्यक्ष भवनजीलाइ,  उहाँले जापानमा पहिलो काम नै भाडाँ माझेको हो रे। आज भवनजी त्यहाँको एउटा प्रतिष्ठित व्यापारी हुनुहुन्छ। हजारौलाइ रोजगारी दिनुभएको छ। तर पनि नेपालमा नै गर्नु पर्छ, नेपाल हाम्रो आमा हो भनेर लागी पर्नुभएको छ। यही होइन र आफ्नो देशको माया, उहाँ त एउटा पचासौ लाख युवा एनआरएनएका पात्र मात्र हो।
हामी एनआरएनहरु हाम्रो देश कसैको भन्दा कम हुनुहुन्न भनेर प्रयास गरी रहेका छौ। तर हाम्रो केही लाग्दैन तेतिञ्जेल सम्म जब सम्म तपाइहरु सबै, मेरो देशको सरकारी कर्मचारी, उद्योगी, व्यवसायी, राजनितिज्ञहरु हामीलाइ पनि साथ लिनुहुन्न। हामी पनि यही जमीनमा तपाइहरु जस्तै जन्मेका हौ। माया छ देशको, सकेजति कोशिस गरि रहेका छौ। यहाँहरुको साथ नपाए हाम्रो केही लाग्दैन। यहाँहरुको होस्टेमा हैसे मात्र हो हाम्रो। हामी त अभागी हौ, यहाँहरु जस्तो आफ्नै आमाको काखमा टिक्न सकेनौ।
आजको यो एयरपोर्ट सफाइ अभियानको एउटा सहभागी बन्न पाएकोमा मलाइ मेरो त्यो  १९८० को पहिलो यात्राको सम्झना गराइ रहेको छ। समय सोच परिवर्तन भई सकेको छ। मन त मनै हो नि, त्यही एउटा मुस्ताङ्गे ठिटोको !
मलाइ विश्वास छ मेरो देश, मेरो एयरपोर्ट, विश्वको आधुनिकताले भरीएको नभए पनि सफा हसिलो मुहारहरुले स्वागत गर्ने बन्ने छ !
जय मेरो देश !
सोनाम लामा
क्षेत्रीय संयोजक
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, अमेरिकाज