१३ देशका ६४ प्रतिनिधिहरु संगै विपद व्यवस्थापनको अभ्यास गर्दै नेपाली सेना  

Hollywood Khabar September 24,2018 Comments

९ असोज काठमाडौं। नेपाली सेनाले अमेरिकी सेनासहित्  १३ देशका ६४ प्रतिनिधिहरुको संयुक्त आयोजनामा विपद व्यवस्थापन सम्बन्धि अभ्यास शुरु गरेको छ।प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले काठमाडौंको होटल याक एण्ड यतिमा मंगलबार एक कार्यक्रमका बीच विपद व्यवस्थापन सम्बन्धि सैन्य अभ्यासको शुभारम्भ गर्नुभएको छ।विपद व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यासले प्राकृतिक विपदमा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जनधनको न्यूनतम क्षतीको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिबृद्धि गर्न मद्दत पु-याउने बिश्वास सेनाले लिएको जनाएको छ।

यसका साथै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैह्रसरकारी संस्थाहरुबीच एकैसाथ भूकम्प लगायत अन्य विपद् व्यवस्थापन कार्य गर्न सक्ने क्षमताको अभिबृद्धि गर्नु यस अभ्यासको उद्देश्य रहेको पनि सेनाले जनाएको छ। अभ्यासको क्रमममा  खोज र उद्धारको प्रयास तथा घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु श्री उपत्यका पृतना हेड क्वार्टर परिसर लगायत अन्य विभिन्न स्थानहरुमा संचालन हुनेछ ।मित्रराष्ट्र अमेरिका, बंगलादेश, बेलायत, बेल्जियम, चीन, क्यानडा, डेनमार्क, ईजरायल, भारत, माल्दिभ्स, फिलिपिन्स, सिंगापुर र श्रीलंका गरि १३ देशका ६४ प्रतिनिधिहरु अभ्यासमा सहभागि रहेका छन् ।

साथै उक्त अभ्यासमा नेपाल सरकारका बिभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रस लगायत विपद् ब्यवस्थापनमा कार्यरत संघ, संस्थाहरुको समेत गरि २३८ जनाको सहभागिता रहेको छ । विपद व्यबस्थापन सम्बन्धि यस्तो अभ्यास नेपालमा सन् २०११ बाट नेपाली सेनाले गर्दै आएको छ ।
कार्यक्रमको अवसरमा नेपाल सरकारका गृह सचिव प्रेम कुमार राई, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक संजीव गौतम र नेपाल स्थित अमेरिकी राजदुतावासका Michael C. Gonzales ले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो। अभ्यासको समुद्घाटन कार्यक्रममा बलाधिकृतरथी हेमन्त राज कुंवर, अन्य सुरक्षा निकायका प्रमुखहरु, रथीबृन्द, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, संचारकर्मी तथा विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।