-नेपाल- मरिससबीच श्रम समझदारी

नेपाली कामदार मरिसस जाने बाटो खुल्ला -नेपाल र मरिससबीच श्रम सम्झौता 

Hollywood Khabar June 10,2019 Comments

२९,जेठ,काठमाडौं।नेपाल- मरिससबीच श्रम समझदारी भएको छ।स्वीट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय  श्रम सङ्गठनको शतवार्षिकी समारोहमा  मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट  समझदारीपत्रमा  हस्ताक्षर  गरेका हुन्।

समझदारीपत्रमा कामदारको छनोट तथा भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने उल्लेख  छ।दुवै देशले कामदारालाई अवैध तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवं नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।नेपाली श्रमिकलाई मरिससका कामदारको न्यूनतम ज्याला भन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनु पर्ने ,ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने सम्झौता भएको छ।

तेस्तै कामदार पठाउने सन्दर्भमा मरिससका रोजगारदाता र नेपालका रोजगार व्यवसायीबीचको प्रत्यक्ष समन्वय हुने सम्झौता गर्दै महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरू सुनिश्चित गर्नुपर्ने, तलब सुविधा समयमै भुक्तानी गर्ने व्यवस्था सुनिश्चित गर्न मरिसस सरकारको तर्फबाट नियमित अनुगमन हुनुपर्ने र साथै विप्रेषणलाई विनारोकावट पठाउन पाउने व्यवस्था सुनिश्चित गरिएको छ।तेसैगरी कामदारको मृत्यु हुन पुगेको अवस्थामा शव छिटो  नेपालमा ल्याउन वा परिवारको सहमतिमा मरिसस मै सदगत गर्दा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने छ।न्यायिक उपचारका लागि वकिल राख्ने र आवश्यक अनुवाद गर्न लाग्ने लागतसहित नि:शुल्क कानुनी उपचारको हक, विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा अस्थायी रोजगारीका लागि भिसा आवेदन गर्ने पाउने, कामदारको परिवार नजिकका नातेदारको मृत्यु भएमा वा यस्तै आकस्मिक अवस्था आइपरेमा विशेष विदा लिन सक्ने आदि व्यवस्था गरिएको छ।

त्यस्तै मरिससको कानुनको अधीनमा रही कामदारको दुर्घटना बीमा एवं उपचार दुवैको व्यवस्था, राहदानी लगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने, हरेक वर्षको सेवा अवधिका लागि एक महिना बराबरको उपदान व्यवस्था, कार्य अवधि समाप्त गरी नेपाल फर्किँदा रोजगारीको प्रमाण पत्र दिने व्यवस्था समेत गरिएको छ।तेस्तै नेपाली कामदार मरिससको विमानस्थल पुगेको ६ घण्टाभित्रै रोजगारदाता वा निजको प्रतिनिधिले कार्यस्थलमा लानुपर्ने सम्झौता भएको छ।