-नेपाल रेडक्रस सोसाइटीको पहिलो वार्षिक साधारण सभा कार्तिक ४ गते

नेपाल रेडक्रस सोसाइटीको पहिलो वार्षिक साधारण सभा कार्तिक ४ गते

Hollywood Khabar October 19,2019 Comments

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको पहिलो वार्षिक साधारण सभा भोलि कार्तिक ४ गते काभ्रेको बनेपामा आयोजना हुन गइरहेको छ ।

भोलि विहान ९ बजे नेरेसोको राष्ट्रिय प्रशिक्षण केन्द्रको सभाहलमा प्रथम वार्षिक साधारण सभाको औपचारिक शुभारम्भ हुनेछ। शुभारम्भमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासङ्घ तथा विभिन्न मुलुकका राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।

केन्द्रीय कार्यसमिति र केन्द्रीय सभासद्हरू, देशका सातै प्रदेशका रेडक्रस समितिबाट अनिवार्य एक महिला सहित दुई दुई जना र ७६ वटा जिल्ला शाखाबाट एक–एक जना प्रतिनिधिहरू गरी करिव एक सय ४० जना प्रतिनिधिहरूले सभामा वैधानिक तवरमा भाग लिनुहुनेछ र उहाँहरूको अधिवेशनस्थलमा आउने क्रम सुरू भैसकेको छ । रुकुम–पूर्वको तदर्थ जिल्ला शाखा समितिबाट एक जना, संस्थाको अभिन्न अङ्गको रूपमा रहेको जुनियर, युवाका साथै शिक्षक नायकका प्रतिनिधिहरु गरी थप ७ जनाले पनि पर्यवेक्षकको रूपमा भाग लिनुहुनेछ ।

भोजन, आवास, आर्थिक स्रोत, सहभागी दर्ता, प्रस्ताव छानविन, बन्दोबस्ती र समन्वय, प्रचारप्रसार, कानुनी परामर्श तथा सुरक्षालगायतका आवश्यक प्रवन्धहरु मिलाइएको छ । स्थानीय काभ्रे जिल्ला शाखाले बन्दोवस्तीमा सहयोग गरिरहेको छ।

नेरेसोको सर्वोच्च निकायको रूपमा रहेको यस वार्षिक साधारण सभाले आ.व २०७४÷७५ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आ.व. २०७६/७७ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा मूलतः छलफल गर्नेछ । यसका अलावा संस्थाको लागि उपयुक्त कानुनको व्यवस्थालगायत समसामयिक विषयहरुका साथै संकटासन्नता न्यूनीकरण गर्न र समुदायलाई प्रभावकारी रुपमा थप सहयोग गर्ने रणनैतिक र कार्यक्रमगत विषयमा छलफल गर्नेछ।

आ.व. २०७६/७७ को लागि रु. ३ अर्ब ६६ करोड कूल बजेट प्रस्ताव गरिएको छ।

साधारण र विकासतर्फको बजेटमा क्रमशः १८.६३ र ८१.३७ प्रतिशत हिस्सा रहेको छ । गत आ.व.मा नेपाल रेडक्रसका विविध सेवा तथा विकास गतिविधिबाट २६ लाख ८२ हजार २ जना मानिसहरू लाभान्वित भएका थिए। गत वर्ष सञ्चालित गतिविधिमा केन्द्रीय कोषबाट ४ अर्ब ८ करोड ६७ लाख २१ हजार खर्च भएको थियो ।

वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा नेरेसोका अध्यक्ष सञ्जीव थापाले मानवीय कार्यक्षेत्रमा सरकारको सहयोगी भूमिका निर्वाह गर्न संस्थाको थप प्रतिवद्धता रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, संस्थाका समुदाय लक्षित गतिविधि सञ्चालन सम्बन्धमा रहेका जल्दाबल्दा सवालहरूबारे विचार विमर्श गरी उपयुक्त समाधानका लागि केन्द्रीय कार्यसमितिलाई यस सभाले निर्देश गर्नेछ ।

नेरेसोका महामन्त्री देवरत्न धाख्वाले भन्नुभयो, विगत ५६ वर्षदेखिका संस्थाका सेवा गतिविधिहरु सञ्चालन गर्न सहयोगी, सम्पूर्ण शुभेच्छुकहरु र सञ्चार जगतको सहयोग प्रति हामी कृतज्ञ छौँ ।

जय रेडक्रस ।

थप जानकारीको लागि, दिव्यराज पौडेल, निर्देशक, नेरेसो सञ्चार विभाग, फोन ः ९८४१६९९०६८, इमेलः dibyarp@gmail.com

थप नोट

१. नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानअनुसार प्रजातान्त्रिक विधिबाट संस्थाको केन्द्रीय तहको नेतृत्व चयन गर्न र वार्षिक कार्यक्रमहरु तय गर्न यस अघि धरानमा वैशाख २३–२५ गते बोलाइएको महाधिवेशन जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशनात्मक पत्र आई अचानक स्थगित गर्नुपरेको परिस्थितिमा वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल २०७६ चैत्रसम्मको लागि थप गरिएको थियो । त्यस पश्चात वि.सं. २०७६ साउन २८ मा बोलाइएको वार्षिक साधारण सभा पनि निर्देशनबाटै स्थगित हुन पुगेको थियो । साधारण सभा, महाधिवेशनमार्फत् कार्यक्रम बजेट पारित गर्ने वैधानिक प्रकृया एवं निर्वाचनलगायत संस्थागत सेवा गतिविधिहरुमा भइरहेको अवरोध हटाउन संस्थाको तर्फबाट दिइएको रिट निवेदनमा सम्मानित सर्वोच्च अदालतले संस्थाको पक्षमा भाद्र २४ गते गरेको फैसला आएपछि यो वार्षिक सभा पुनः बोलाइएको हो ।

२. नेपाल रेडक्रसको सङ्गठनात्मक विवरण प्रदेश शाखा समिति ७ वटा मानार्थ सदस्य

३ जिल्ला शाखाहरु ७७ यशस्कर सदस्य ७१२ उपशाखाहरु १,५३७ विशिष्ट सदस्य १,९१६ सहयोग समितिहरु १४३ आजीवन सदस्य १,९८,५५९ जुनियर सर्कल– ४,५०३, युवा सर्कल– १,७५२ साधारण सदस्य २३,१४० जुनियर युवा सदस्य ८,५२,४६८ संस्थागत सदस्य ४४ जम्मा रेडक्रसका स्थानीय निकायहरु ८,०१९ जम्मा सदस्य सङ्ख्या (संस्थागत बाहेक) १०,७६,७९८