-Pratik Pande

जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन कुन बाटो कता तिर?

Hollywood Khabar February 06,2020 Comments

प्रतिक पाण्डे/अमेरिका/२/७/२०

यो हप्ता नेपाली जनसम्पर्क समिति अमेरिकाको महाधिवेशनको समाचारले अमेरिकी नेपाली समाज तरंगित भएको छ। नेपाली काँग्रेसका सदाय, कार्यकर्ता, शुभचिन्तक, जनसम्पर्क संबद्धपक्ष मात्र होइन अरुमा समेत गसिप चलेको छ।

सन् २०१४ नोवेम्बर २२-२३ मा डल्लास, टेक्ससमा भएको नेपाली जनसम्पर्क समिति अमेरिकाको दोश्रो महाधिवेशन पश्चात ३ बर्षमा हुनु पर्ने महाधिवेशन लगभग साढे ६ बर्ष पछि हुन लागि रहेको छ। जो आफैमा स्वयम लज्जास्पद हो। तर माउ पार्टी नेपाली कांग्रेसको राजनीतिबाट प्रतक्ष्य सरोकार राख्ने यस भातृ संस्थाले ढिलै भए पनि महाधिवेशन घोषणा गरेर अगाडी बढ्न खोज्नु स्वागत योग्य नै हो। तर नेपाली कांग्रेसको पुरानो रोग, अरुसँग भन्दा पनि आफु-आफु बीच नै विवाद, झै-झगडा, नयाँ पक्कै पनि होइन साथ साथै मत बाझिनु र फरक मत राख्नु -यो पनि फेरी लोकतन्त्रको एउटा अर्को मिठो रस पनि हो नै।

हालको विवाद वा मत भिन्नता

फेब्रुअरी ५, २०२० मा बसेको जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय समितिका बहुमत सदस्यहरुको सहभागिता र समर्थनमा आगामी २०२० मार्च २८-२९ मा जन सम्पर्क समिति अमेरिकाको सम्पूर्ण च्याप्टरहरुको निर्वाचन र तत् पश्चात २०२० अप्रिल ११-१२ मा केन्द्रको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ। सो निर्णयमा संस्थाका २ सदस्यहरुले आफ्नो समर्थन न रहेको भनि मिटिंग माइन्युटमा जानकारी गराउनु भयो।

महाधिवेशन हुनु पर्छ त्यसमा कसैको दुइ मत न होला र असहमति जनाउने सदस्यहरुको महाधिवेशन हुनु हुदैन भन्ने मनशाय पक्कै पनि होइन होला। तर वहाँहरुले असहमति महाधिवेशन र निर्वाचन प्रक्रियाप्रति रहेको बुझिएको छ। नेपाली कांग्रेसको भातृ संस्था भएको हिसाबले जनसम्पर्क समितिले नेपाली कांग्रेसको बिधान अनुरुप सक्रिय सदस्यता, महाधिवेशन र महासमिति सदस्य बन्नु वा वितरण हुनुपर्छ भन्ने हो। जस अनुसार अमेरिकामा बसोबास गर्ने तर नेपाली नागरिकता त्याग नगरेको नेपालीले मात्र सो सुबिधा पाउनु पर्छ भन्ने तर्क अगाडी सार्नु भएको छ। जो आफैमा शत प्रतिशत सहि हो।

के यसको अर्थ जनसम्पर्क समिति अमेरिकामा अमेरिकी नागरिकता लिएका नेपालीहरुको सहभागिता नहुने हो त ? यसको चर्चा अलि तल गरौँ।

नेपाली जनसम्पर्क समिति अमेरिका संस्थाको नाममै नेपाल पनि जोडिएको छ अनि अमेरिका पनि, तसर्थ यस संस्थाले नेपाल र अमेरिका दुबै देश र दुबै देशका कानूनलाई समान सम्मान गर्नुको बिकल्प छैन।

नेपाली कानुनको सम्मान

नेपाली कांग्रेसले नेपालको संबिधान भन्दा माथि उठेर केहि गर्न मिल्दैन र गरेको जानकारी पनि छैन। नेपालको संबिधानमा गैर आवासीय नेपालीहरुको हकमा स्पष्ट रुपमा राजनैतिक अधिकार छैन भनेर किटान गरेको छ। जस अनुसार नेपाली कांग्रेसको बिधानमा नेपाली नागरिकता न भएको व्यक्ति नेपाली कांग्रेसको साधारण सदस्य वा सक्रिय सदस्य (महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न सक्रिय सदस्य अनिवार्य) बन्न पाउने छैन।

अमेरिकी कानुनको सम्मान

नेपाली जनसम्पर्क समिति अमेरिका, हाल अमेरिकामा ५०१ (सी) ३ को रूपमा दर्ता भएको एउटा संस्था हो। अमेरिकामा दर्ता भएको संस्थामा अमेरिकी निवासी र अमेरिकी नागरिक सदस्य हुन् न पाउने भन्ने कहीं कतै हुदैन। अझै अमेरिकाको "भेदभाव बिरुद्धको नीति" अन्तर्गत जो कोहि पनि सदस्य बन्न पाउनु पर्छ, कुनै पनि राजनैतिक दल, धर्म, संस्कृति, छालाको रङ्ग, आदि इत्यादीको आधारमा कुनै पनि ५०१ (सी) ३ मा दर्ता गरेको संस्थाले भेदभाव गर्न पाउदैन।

यसो भन्दा, के जनसम्पर्क समिति अमेरिकामा नेपालका राजावादी, नेपाल कम्युनिस्ट पार्टी आदि इत्यादीसँग आबद्धले पनि यो संस्थाको सदस्यता पाउन सक्छ भन्ने प्रश्न आउनु स्वाभाविक हो। नेपाल मै त ठुला ठुला राजनेताहरुले कुनै एउटा पार्टी परित्याग गरि अर्को पार्टी प्रवेश गरेका दैनिकी उदाहरण छ। अमेरिकामा कसैले जनसम्पर्क समिति नेपाली कांग्रेसको भातृ संस्था हो भन्ने जानी जानी सदस्यता लिन आउछ भने टिका लगाएर सदस्यता दिदा फरक पर्दैन।

जनसम्पर्क समिति ५०१ (सी) ३ होइन

यहाँ अर्को तर्क यो पनि छ। जनसम्पर्क समिति ५०१ (सी) ३ अन्तर्गत होइन, यो नितान्त नेपाली कांग्रेस पार्टीको भातृ संस्था मात्र हो र यसमा नेपाली कांग्रेससँग आबद्ध मान्छेहरु मात्र र त्यो पनि नेपाली नागरिकता त्याग न गरेकाहरु मात्र सदस्य हुन पाउछन। शत प्रतिशत सहि, यो तर्क पनि आफैमा कहीं कतै गलत छैन।

तर, यो तर्कसंगत जाने हो भने, जनसम्पर्क समिति अमेरिकाले आफ्नो क्रियाकलाप कसरि गर्ने? जनसम्पर्क समिति अमेरिकाको सदस्यता शुल्क देखि लिएर बेला बखत देशमा प्राकृतिक प्रकोपको बेला उठाउने चन्दा (समग्रमा सम्पूर्ण आर्थिक क्रियाकलाप) को लेखा जोखा कसले अनि कहाँ गर्ने अनि बार्षिक करको जानकारी अमेरिकी सरकारलाई कसरि गर्ने? राम्रो सँग हिसाब किताब न देखाएमा र अमेरिकी पैसा नेपालमा अनाधिकृत रुपमा जादाँ भोलि "मनि लौन्ड्रीइंग" को मुद्दा खेप्न तयार भएर बस्नु पर्ने छ। जुन देशमा बसेको छ त्यहि देशको कानूनलाई कसरि तोड्ने?

ठिक छ, जनसम्पर्क समिति ५०१ (सी) ३ अन्तर्गत होइन, तर अमेरिकामा कानूनी रुपमा संचालन हुन अमेरिकी सरकारको कुनै न कुनै निकायमा औपचारिक रुपले दर्ता त हुनु पर्यो। त्यसको उपाय के? कि त अनौपचारिक रुप मै सबै कार्य व्यवहार गर्ने (आर्थिक सहित) अनि भोलिका दिनमा मुद्दा मामिलामा परियो भने आफ्नै देश अनि आफ्नै पार्टीलाई विश्व ब्यापी बदनाम गराउने?

यसको उपयुक्त बिकल्प नेपाली कांग्रेस पार्टीले वा यसको वकालत गर्नेहरुले जनमानस मा दिन सक्नु पर्छ, यो सबै भन्दा राम्रो र उत्तम बिकल्प।

मध्यमार्गी बाटो

अमेरिकामा नेपालसँग सम्बन्धित संस्था औपचारिक र कानूनी रूपमा संचालन गर्ने हो भने दुवै देशको कानून र संबिधानलाई सम्मान गर्नै पर्छ। एउटा स्वतन्त्र देशको अर्को स्वतन्त्र देशमा दुतावास स्थापना हुदाँ आतिथेय देशको कानून अनुसार चल्नु पर्ने हुन्छ।

तसर्थ, जनसम्पर्क समिति अमेरिकामा चाहे ५०१ (सी) ३ अन्तर्गत होस वा अरु कुनै माध्यमबाट होस, तर औपचारिक रुपमा अमेरिकी सरकारी निकायमा दर्ता भएकै हुनु पर्छ र यसले यस देशको कानूनलाई मान्ने पर्छ। साथ साथै जनसम्पर्क समिति नेपाली कांग्रेसको भातृ संस्था र नेपाल देशसँग आबद्ध भएकोले नेपाली कानून र संबिधानलाई पनि मान्नै पर्छ।

जनसम्पर्क समितिका सदस्य र यसका नेपालसँग जोडिएका प्रतक्ष्य राजनीतिलाई विश्लेषण गरि सदस्यता यसो गर्दा कसो होला:

  • साधारण सदस्य - अमेरिकावासी सम्पूर्ण नेपालीहरु
  • नेपाली कांग्रेसको क्रियाशील सदस्य-अमेरिकावासी नेपालीहरु जसले नेपाली नागरिकता त्याग गरेका छैनन्
  • महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य-अमेरिकावासी नेपालीहरु जसले क्रियाशील सदस्य पाएका छन
  • यसो गर्दा नेपालको राजनीतिमा नेपाली नागरिकता त्यागेकाहरुको प्रतक्ष्य सहभागिता पनि रहेन र अमेरिकी भुमिमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरु पनि अमेरिकामा स्थापित नेपाली संस्थाको सदस्यताबाट बन्चित भएनन।

अर्को ठुलो र अन्तिम प्रश्न

नेपाली कांग्रेसको नयाँ बिधान अनुसार जनसम्पर्क समितिका केन्द्रिय अध्यक्ष पदेन महाधिवेशन समिति सदस्य हुने प्रावधान छ। यदि जनसम्पर्क समिति अमेरिकामा नेपाली नागरिकता त्याग गरि सकेका व्यक्ति केन्द्रिय अध्यक्ष निर्वाचित हुन्छन भने उनि स्वत: त्यो सुबिधाबाट बन्चित हुने छन। र अमेरिका निवासी नेपाली जसले नेपाली नागरिकता त्याग गरेका छैनन, उनि निर्वाचित भएको खण्डमा उनले सो सुबिधा उपभोग गर्न पाउने छन।

अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया, जस्ता मुलुकहरु जहाँ अप्रवासीहरु पनि देशका नागरिक बन्न पाउने प्रावधान छ, ति सिमित देशहरुका लागि नेपाली कांग्रेस पार्टी आफु पनि अलि कति लचिलो हुनु पर्छ। अनि आफ्नो बिधान यी देशहरुका लागि १ हरफ थपि समावेशी हुनु पर्छ।

निस्कर्ष

एउटा अधिकारवादि साथीसँग कुरा गर्दा वहाँले भन्नु हुन्थ्यो दलितले बनाएको मन्दिरमा पूजा गर्दा हुने तर दलितलाई मन्दिर प्रवेश निषेध, दलितले बनाएको कुवामा पानी खान हुने तर दलितले छुएको पानी न चल्ने? ठिक त्यस्तै विदेशमा बस्ने नेपालीले पठाउने रेमिटेन्सले देश चल्ने तर विदेशमा बसेका नेपालीहरुले विदेशमा आफ्नो पार्टीको झन्डा ओढ्न न पाउने?

मन खुल्ला र ठुलो राख्नु पर्छ, निर्णय लिदा व्यक्ति हेरर हैन दिर्घकालिन सोंच लिएर गर्नु पर्छ। सबैलाई समेटेर एउटा ठुलो शक्तिको रुपमा स्थापित भएर नेपाल र नेपालीको हकहितमा बिदेशी भूमिमा स्थापित हुने कि कोठा भरिका सिमित मान्छेहरुमा मात्र रमाएर कोठे राजनीति गरेर बिस्थापित हुने, निर्णय जनताको हातमा छ।