-जनसम्पर्क अमेरिकाले महावाणिज्य दूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

जनसम्पर्क अमेरिकाले महावाणिज्य दूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

Hollywood Khabar June 15,2020 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली महावाणिज्य दूतावास न्यूयोर्क मार्फत प्रधानमन्त्री केपी ओलीलाई एक ज्ञापन पत्र बुझाएको छ।

नेपाली कांग्रेसको जेठ २६ गतेको बैठकले कोरोना महामारी विरुद्धको संघर्षमा सरकारको अर्कमण्यता, भ्रष्टाचार र गैह्रजिम्मेवार प्रवृत्तिका विरुद्ध सबै जनसम्पर्क समितिमार्फत यसरी ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो। सोही निर्णय र निर्देशनका आधारमा आज समितिले पनि महावाणिज्यदूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको थियो।

ज्ञापन पत्रमा कोरोना महामारीविरुद्ध सरकारले प्रभावकारी काम नगरेको, कांग्रेसले सुरुवातका दिनदेखि नै कोरोना नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने कार्यहरुका बारे कार्य योजना तय गर्न दिएको सुझाव कार्यान्वयन नगरेको, विज्ञहरुको सुझावलाई समेत बेवास्ता गरेको, सरकार यो महामारीका बारे संवेदनशील बन्न नसकेको जस्ता विषयहरु समेटिएका छन्। विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न सरकारले प्रभावकारी पहल नगरेको, संकटमा परेका आफ्ना नागरिकलाई राज्य छ,राज्यले अभिभावकत्व ग्रहण गर्छ र संकटबाट पार लगाउँछ भन्ने विश्वास दिलाउन नसकेको जस्ता विषयहरु ज्ञापन पत्रमा उल्लेख छ।

तपाईं र तपाईं नेतृत्वको सरकारको अभिव्यक्ति, कार्यशैली र कोरोना नियन्त्रणका लागि भैरहेको पहल हेर्दा लाग्छ, हामी जस्ता लाखौँ नेपालीहरु सरकारको भरोसा गर्न सक्ने स्थितिमा छैनन्। तपाईंहरु यो महामारीलाई गम्भीरतापूर्वक लिईरहनु भएको छैन जसले विश्वलाई तहसनहस बनाइसकेको अवस्था छ। यो स्थितिलाई एकपटक गम्भीरतापूर्वक सोच्न पनि हामी तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं।

तपाईंको अभिव्यक्ति हेर्दा र सुन्दा लाग्छ, यो संसारमा म जति जान्ने अर्को कुनै व्यक्ति छैन। म नै राज्य हुँ र मैले जे भनेको छु त्यही मात्र ठीक हो अरु सबै बेठीक भन्ने अहंकार र दम्भ सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिबिम्वित हुनु शोभनीय होइन। फ्रान्सका १६ औं शताब्दीका राजा लुई चौधौंको जस्तो अधिनायकवाद र निरङ्कुश प्रवृत्तिको अभिव्यक्तिले लोकतन्त्रको मर्यादा समेत बिर्सेको आभास हुन्छ' सभापति विष्टले हस्ताक्षर गरी बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापन पत्र बुझ्दै कार्यवाहक महावाणिज्यदूत भट्टराइले आज नै प्रधानमत्री कार्यालयमा पुर्याई दिने बताए।

ज्ञापन पत्र बुझाउन सभापति विष्टसंगै समितिका महासचिव मुनिन्द्र नेम्वाङ्ग, सचिव भोजराज थोकर, केन्द्रीय सदस्यद्वय बेदप्रसाद खरेल र सुवास लामा, समितिका केन्द्रीय सल्लाहकार कृष्ण बिष्ट, समितिका लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोलासहित जनसम्पर्क समितिका सदस्यहरु अन्जन चौलागाईं र कला खरेल महावाणिज्यदूतावासको कार्यालय पुगेका थिए।

गौतम दाहाल

प्रमूख,केन्द्रीय प्रचार विभाग

एवं केन्द्रीय सदस्य

मिति: जुन १६, २०२०