-जनसम्पर्क समिति अमेरिका, केन्द्रीय समितिको बैठक र निर्णय

जनसम्पर्क समिति अमेरिका, केन्द्रीय समितिको बैठक र निर्णय

Hollywood Khabar July 06,2020 Comments

प्रेस विज्ञप्ति

नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय समितिको बैठक यही जुलाई ३ तारिख सम्पन्न भएको छ। बैठकमा कार्य समितिका ३४ मध्ये २९ जनाको सहभागिता रहेको थियो। सभापति श्री आनन्द विष्टको सभापतित्वमा बसेको कन्फरेन्स बैठकले समितिका सांगठनिक गतिविधि र अनुशासनको विषयमा गम्भीर छलफल गरी निर्णय गरेको छ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाको बैधानिकता विगतमा टेक्सासमा दर्ता कायम रहेको संस्थाकै निरन्तरता भएको र विगतका दुई संस्थाको एकताको पृष्ठभूमिमा पनि टेक्सासमा दर्ता भएको समितिलाई नै स्वीकार गरेर जनसम्पर्क समितिका नाममा दर्ता भएका अन्य सबै संस्थालाई निष्कृय बनाउने निर्णय भएको हो। सोही अनुसार विधानमा समेत उल्लेख भएको छ।

टेक्सासमा दर्ता रहेकै समितिको बैधानिकतालाई आधार बनाई सन् २०१४ मा टेक्सासमा नै एकताको दोश्रो अधिवेशन भएको र निर्वाचित नेतृत्वले सोही अनुसार नै काम गरेको हो। सन् २०१७ मा भएको भर्जिनियाको साधारण सभा पनि सोही विधान अनुसार नै भएको हो। भर्जिनियाको साधारण सभाले तत्कालीन अवस्थामा संस्थालाई नाफारहित संस्थाको रुपमा अमेरिकी कानुन अनुसार ५०१ सी अन्तर्गत दर्ता गर्ने निर्णय गरी सोही अनुसार दर्ता गरिएको छ।

यद्यपि ५०१ सी का विषयमा समितिका केही सदस्य एवं पदाधिकारीहरुको फरक मत आएकोले भर्जिनिया साधारण सभाले समितिका कानुन विभाग प्रमूख एवं केन्द्रीय सदस्य श्री पिताम्बर भुषाल संयोजक र समितिका वरिष्ठ उपसभापति श्री धनन्जयनरसिंह केसी र समितिका पूर्व सदस्य श्री विनोद भट्ट सदस्य रहेको तीन सदस्यीय समिति गठन गरी आएका फरक मतलाई समेत सम्बोधन हुने गरी समितिलाई कुन कानून र बैधानिक हैसियतमा लैजाने भन्ने राय, सुझाव संकलन गरी केन्द्रीय समिति समक्ष सिफारिश पेश गर्न जिम्मेवारी दिएको हो।

तर समितिका तर्फबाट केन्द्रीय समिति समक्ष आजका मितिसम्म यस बारे के कति प्रगति भएको छ र समितिले के पहल गरिरहेको छ भन्ने कुनै औपचारिक जानकारी गराइएको छैन। तसर्थ यस परिस्थितिमा समितिका जिम्मेवार पदाधिकारीहरुले नै सामाजिक संजालमा संस्थाका बारे भ्रम सिर्जना गर्ने जुम बैठकबाट जुन प्रयास गरेर आफुलाई प्रस्तुत गरिरहनु भएको छ त्यसका प्रति केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको र संस्थाको बैधानिक थलोमा बसेर मात्र यस किसिमका विषयमा छलफल गर्न सबैलाई सचेत गराउने केन्द्रीय समितिको निर्णय रहेको छ।

छलफलका क्रममा उठेका सबै विषयलाई समाधान गर्न यसै बैठकले समितिका उप सभापति श्री केशव बरालको संयोजकत्वमा श्री वेदप्रसाद खरेल र श्री ज्ञानेन्द्रराज कार्की सदस्य रहनु भएको तीन सदस्यीय समिति गठन गरी एक महिनाभित्र केन्द्रीय समितिसमक्ष प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी दिइएको छ। यो समितिले सबै दस्तावेज र विगतका सहमति अनुसार टेक्सासमा दर्ता कायम रहेको समितिको बैधानिक आधारलाई थप प्रष्ट पार्नेछ। साथै समितिको आगामी कानुनी र बैधानिक हैसियत के कस्तो कायम गर्ने भन्ने बारे सबै पक्षको राय सुझाव लिई केन्द्रीय समिति समक्ष सिफारिश पेश गर्न साधारण सभाले गठन गरेको समितिलाई आफ्नो जिम्मेवारीका बारे क्रियाशील हुन निर्देश गर्ने केन्द्रीय समितिको निर्णय रहेको छ।

यसैगरी बैठकले समितिको आचारसंहिता निर्देशिका बनाउनको लागि समितिका उपसभापति श्री चेतप्रसाद पौडेलको संयोजकत्वमा सदस्यहरु श्री ज्ञानेन्द्रराज कार्की, श्री सुभेन्द्र रानाभाट, श्री परमानन्द खनाल र श्री गोविन्द लम्साललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसैगरी बैठकमा सभापति विष्टले आफुले मनोनित गरेका केन्द्रीय सदस्य श्री विष्णु सुबेदीले आपसी एकता, भाइचारा र सांगठनिक हितलाई सहयोग पुग्ने कुनै काम नगरेको भन्दै केन्द्रीय समितिको सदस्य पदबाट जुलाई ३ कै मितिदेखि लागु हुने गरी पदमुक्त गरेको केन्द्रीय समितिलाई जानकारी गराउनु भयो ।

सुवेदीले गत साता नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमूख श्री गोविन्द भट्टराई,कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं यस समितिका सभापति श्री आनन्द विष्टलगायतका पदाधिकारी र सदस्यहरु सहभागी एक छलफलमा कांग्रेस सभापति श्री शेरबहादुर देउवाज्यू,आमन्त्रित केन्द्रीय सदस्य श्री विष्ट, समितिका प्रचार विभाग प्रमूख श्री गौतम दाहाल विरुद्ध अनुशासन र सामान्य शिष्टाचारको समेत बेवास्ता गर्दै अपशब्द बोली गालीगलौज गर्ने र संगठनको छबी र मर्यादामा आँच पुर्याउने कार्य गरेको भिडियो सार्वजनिक भएपछि कारवाहीको प्रक्रिया अघि बढाउने क्रममा सभापति विष्टले आफ्नो अधिकार प्रयोग गरी सुवेदीलाई पदमुक्त गर्नु भएको हो।

सुवेदी उपर अनुशासनको कारवाही गरिपाउँ भनी केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमूख श्री गौतम दाहालले समितिको अनुशासन विभाग समक्ष उजुरी दिनु भएको विभागका प्रमूख एवं सचिव श्री भोजराज थोकरले बैठकलाई अवगत गराएपछि समितिले अनुशासन विभाग मार्फत सुवेदीलाई उक्त उजुरी उपर स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। दाहालले निज सुबेदीले जुम बैठकमा बोलेको विषय, टेक्सास अधिवेशनमा भएको सम्पूर्ण आम्दानी र खर्चको हर हिसाब पेश नगरेको,समितिको वेभ साईट हस्तान्तरण नगरी अनधिकृत रुपमा नियन्त्रणमा लिई राखेको लगायतका विषय राखेर कारवाहीको माग गरेका छन्। जस अनुसार बैठकले सुबेदीलाई स्पष्टीकरणका लागि तीन दिनको समय दिने र दिइएको समय सीमाभित्र स्पष्टीकरण प्राप्त नभएमा समितिको साधारण सदस्यबाट निलम्बन गरी कांग्रेसको साधारण सदस्यता र महासमिति सदस्यबाट समेत निलम्बन गर्न कांग्रेस केन्द्रीय अनुशासन विभाग समक्ष सिफारिश गर्ने निर्णय गरेको छ।

बैठकमा समितिका महासचिव श्री मुनिन्द्र नेम्वाङ्ग र सदस्यद्वय श्री ज्ञानेन्द्रराज कार्की र श्री किलन राईले सुवेदीलाई पदमुक्त गर्ने सभापतिज्यूको अधिकार क्षेत्रको विषय भएतापनि संगठनको हितका लागि भन्दै पुनर्विचारका लागि अनुरोध गर्नु भएको थियो। साथै उहाँहरुले सुबेदीलाई लगाइएको आरोपका विषयमा सफाई पेश गर्न पाउने अवसरका लागि स्पष्टीकरण सोधिनु पर्ने र स्पष्टीकरणका लागि अवसर दिएपछि सोही अनुसार केन्द्रीय समिति बैठकमार्फत थप निर्णय गर्नुपर्ने आग्रहसहित फरक मत पेश गर्नु भएको थियो भने वरिष्ठ उपसभापति श्री धनन्जयनरसिंह केसी र केन्द्रीय सदस्य श्री प्रमोद सिटौलाले कारवाही प्रक्रियाका सम्बन्धमा आफ्नो असहमति व्यक्त गर्नु भएको थियो। सहभागी अन्य सबै पदाधिकारी र सदस्यहरुले सभापति विष्टज्यूको प्रस्तावमा समर्थन गर्दै आ आफ्ना भनाईहरु व्यक्त गर्नु भएको थियो।

बैठकमा सहभागी हुनुहुनेहरुमा सभापति- आनन्द विष्ट, वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी, उपसभापतिहरु धर्मराज श्रेष्ठ, भगवान मैनाली, चेतप्रसाद पौडेल र केशब बराल, महासचिव-मुनिन्द्र नेम्बाङ, सचिव-भोजराज थोकरसहित सदस्यहरु वेदप्रसाद खरेल, ज्ञानेन्द्र राज कार्की, सुवास लामा, लोक लामा, गोपाल बिश्वकर्मा, सुन्दर गुरुङ, अमृत भट्टराई, हरी शर्मा, प्रमोद सिटौला, पिताम्बर भुषाल, रविन बस्नेत, सुभेन्द्र रानाभाट, पविता परियार, मान्ती शाह, ओम भट्टराई, माया कडायत, किलन राई, सन्तोष पहारी, गौतम दाहाल, प्रमानन्द खनाल र गोविन्द लम्साल हुनुहुन्थ्यो।

बैठकमा सचिव ईश्वर सापकोटा र सदस्यहरु विष्णु सुबेदी, हरिबोल भण्डारी र चन्द्रकान्त धिताल अनुपस्थित हुनुहुन्थ्यो भने कोषाध्यक्ष विजय थुलुङ्ग आफ्नो अस्वस्थताका कारण भन्दै समितिलाई लिखित जानकारी गराई नियमित बैठकहरुमा अनुपस्थित रहँदै आउनु भएको छ।

केन्द्रीय समितिको भावना र अधिकार क्षेत्रभन्दा बाहिर गएर समितिको बारे भ्रम सिर्जना नगर्न र यस बारे कुनै चासो वा जिज्ञासा भए सभापति,महासचिवलगायत पदाधिकारीहरुसंग सम्पर्क गर्न पनि केन्द्रीय समिति अनुरोध गर्दछ। संगठनको गरीमालाई उच्च राख्न अनुशासित र मर्यादित ढंगले संगठनका गतिविधिहरु अघि बढाउन केन्द्रीय समिति सबै च्याप्टर र आफ्ना सदस्यहरुलाई निर्देश गर्दछ।

गौतम दाहाल

प्रचार विभाग प्रमूख एवम केन्द्रीय सदस्य

जुलाई ७, २०२०