-नेपाली काँग्रेसले अमेरिका सहित १६ देशका जनसम्पर्क समिति दोश्रो पटक मार्यो

नेपाली काँग्रेसले अमेरिका सहित १६ देशका जनसम्पर्क समिति दोश्रो पटक मार्यो

Hollywood Khabar June 19,2020 Comments

कृष्ण के सी/अमेरिका/६/१९/२०

मैले गत फेब्रवरी २०, २०२० मा नेपाली काँग्रेस पार्टीले नेपाली जनसम्पर्क समिति अमेरिका सहित १६ देशका समितिहरुलाई अधिवेशनका लागि फाल्गुन ८, २०७६ मा दिएको निर्देशनबारे लेखेको थिएँ।

आज सोहि कुरालाई अलिकति सन्दर्भ मिलाएर स्मरण गराउने जमर्को गरेको छु। अब आएर पछिल्लो पत्र अनुसार ६ महिनामा अधिवेशन गर्न दिएको निर्देशन पनि समाप्त भएको छ। काँग्रेस पार्टीले आफ्ना सबै जनसम्पर्क समितिहरुलाई निरिह र म्याद गुजारेर दोश्रो पटक मारेको छ।

नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी हो तर पनि धेरै कुरा चाहिँ कम्यूनिष्टहरुको जस्तो गर्छ। थुप्रै पद मनोनित गरिन्छन, सदस्यता क्रियाशील र साधारण भनेर बनाएको छ। एउटा प्रजातान्त्रिक पार्टीको सदस्यता उमेर कानुनी रुपमा पुगेका, कानुनले बर्जित गरेका बाहेक जो कोहिले पनि पार्टीको आदर्श मान्छु भनेपछि लिन पाउनुपर्छ। सदस्यता दिने होइन लिने हो।

यसै क्रममा नेपाली काँग्रेस पार्टीले विदेश स्थित आफ्ना कार्यकेर्ता, शुभचिन्तक, समर्थक र आस्थावानहरुलाई अटाउने भनेर नेपाली जनसम्पर्क समिति दोश्रो पटक सुरु गरेको थियो। यसै क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको पनि २००६ देखि छलफल भएर २००७ मा सुरुवात भएको थियो।

कनेक्टिकटमा भएको पहिलो अधिवेशनले डा सुरेन्द्र देवकोटाको नेतृत्वमा निर्वाचित कार्यसमिति बनाएको थियो। त्यसलाई पार्टीबाट तेजोबध गराइयो। त्यसपछि खगेन्द्र जिसीको संयोजकत्वमा दुइ-दुइ पटक समिति बन्यो। त्यो समय केहि राज्य च्याप्टर बनाउने काम भयो तर केन्द्रिय अधिवेशन भने हुन सकेन।

त्यो बिचमा क्यालिफोर्निया र न्यूयोर्कमा दुइ-दुइ वटा जनसम्पर्क समिति बने। काम भन्दा आपसी झगडा धेरै थियो। क्यालिफोर्नियामा त भूतपूर्व पार्टी सभापति सुशील कोइरालालाई दुइ गुटले ताना-तान गर्दा बुढा कोइराला झण्डै च्यात्तिएर दुइ टुक्रा बनाएका थिए। एउटा गुटले अर्को गुटको कार्यक्रम भाँड्न कोइरालालाई अपहरण शैलीमा झुक्याएर लगेर ३ घण्टा टाढा लेक टाहो सम्म पुर्याएको थियो।

पछि बिष्णु सुवेदीको संयोजकत्वमा बनाइएको संयुक्त तदर्थ समितिले २०१४ मा पुगेर टेक्ससमा एकताको दोश्रो अधिवेशन सम्पन्न गर्यो। अधिवेशनबाट आनन्द बिष्टको अध्यक्षतामा तीन बर्षको लागि नयाँ नेतृत्व निर्वाचित भयो। जसको अबधि २०१७ मा समाप्त भएको हो। त्यसको एक वर्षपछि २०१८ मा बिष्ट नेतृत्वले अधिवेशनमा जान लाग्दा नेपाली काँग्रेस पार्टीले एक पत्र काटेर रोकिदियो।

त्यसैबीच नेपाली कांग्रेसले पार्टीले एक्कासी फाल्गुन ८, २०७६ मा अर्को पत्र पठायो। अमेरिका सहित १६ देशका जनसम्पर्क समितिलाई तोकेर लेखिएको पत्रमा अब उपरान्त जनसम्पर्क समिति भन्ने नाम नै नरहने कुरा उल्लेख छ। पत्रको प्रकृति हेर्दा उपरान्त जनसम्पर्क समितिको सदस्यता नै हुँदैन। केवल नेपाली काँग्रेस पार्टी क्रियाशील सदस्यता मात्र रहन्छ। यो अवस्थामा जनसम्पर्क समिति होइन पार्टीको अमेरिका एकाइ हुनेछ।

यहानेर सम्झनुपर्ने कुरा के पनि हो भने ११२ महासमिति र महाधिवेशन प्रतिनिधिको भोटको लागि यो सबै गरिएको हो। पार्टीको १४ औं महाधिवेशन पछि अर्को पत्र आउँछ र उपरान्त सबैले समितिको सदस्यता लिन पाउने भन्ने हुनेछ। फेरी १५ औं महाधिवेशन आउनुपूर्व अहिलेको जस्तो पत्र आउनेछ। यो खेल यसैगरी चल्दै जानेछ, केवल चुनाब जित्नको लागि।

अब नेपाली काँग्रेसलाइ मायाँ गर्ने, करोडौं आर्थिक सहयोग गर्ने ठूलो जमात यसबाट बाहिर लखेटिएको छ। अब नेता आउँदा खादा ओडाउने, जाउलो ख्वाउने, दारु पिलाउने अनि सिटी-सिटी घुमाउने व्यक्तिहरुको लुर्कन घटेर जानेछ। आतेजाते टिकेट र रिटर्न गिफ्ट दिएर पठाउने जमात पनि घट्ने छ। दोश्रो पुस्ताले त नेपाली काँग्रेस पार्टी भन्ने कुरा नै भुल्नेछन। उपरान्त बिपी कोइरालालाइ गुगलमा खोज्नु पर्नेछ। केवल ७ भोट पाउनको लागि नेपाली काँग्रेसको वर्तमान नेतृत्वले यो कदम चालेको प्रष्ट नै देखिन्छ।

यदि कथंकदाचित अधिवेशन भयोभने पनि सदस्य बन्ने बहुमत व्यक्ति भनेका भिजिट भिसाका व्यक्ति, कानुनि हैसियत लिन लागेका र गैर कानुनी रुपमा रहेका व्यक्ति अनि बिधार्थी र हात मल्ने केहि व्यक्तिहरुको गुट मात्र रहन्छ।

नेपाली नागरिक, नेपाली काँग्रेसप्रति बफादार जो कोहि जहाँ कहिं भएपनि पार्टीको साधारण र क्रियाशील सदस्यता लिन पाउनुपर्छ, त्यो कुरा मनासिव हो।

अहिले आएर नेपाली कांग्रेसले दिएको ६ महिनाको म्याद पनि सकियो। पार्टीले ति सबै जनसम्पर्क समितिलाई अबैधानिक बनाएको छ। यसप्रति अध्यक्ष आनन्द बिष्ट या अन्य देशका नेताहरु पनि म्याद सकिएर मरेको सिनो समितिको पदमा नै आसन ग्रहण गर्दै छन। दैनिक जसो जुम बैठकमा केन्द्रिय नेताहरु आउँछन तर पनि नेपाली काँग्रेस यस विषमा मौन छ। कृष्णार्पण !