नेजस अमेरिकाको साधारण सभाका संयोजक केशब बरालको अपील

Hollywood Khabar March 31,2017 Comments

नेपाली जनसम्पर्क समिति,अमेरिकाका सम्पूर्ण सदस्य साथीहरु,

जय नेपाल !

यस समितिको पहिलो वार्षिक साधारण सभा यही अप्रिल २२ तारिख शनिवार भर्जिनियाको मनासास शहरमा आयोजना हुन लागेको यहाँहरु सबैलाई अवगत नै छ। पहिलोपटक हुन लागेको यस साधारण सभालाई सफल बनाउनु तपाईं,हामी सबैको दायित्व हो। साधारण सभालाई व्यवस्थित र भव्यतापूर्वक सम्पन्न गर्नका लागि केन्द्रीय समितिले विभिन्न समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ। यसैगरी स्थानीय तहमा पनि एक छुट्टै व्यवस्थापन समिति गठन गरी साधारण सभाका लागि गर्नुपर्ने तयारीका कार्यहरु भैरहेको छ। 

साधारण सभामा समितिको विगतका सबै गतिविधिको समीक्षा गर्ने र भावी दिनमा कसरी अघि बढ्ने भन्ने बारे सामुहिक छलफल गरी नीति समेत तय गरिनेछ। हाम्रो यस समिति अमेरिकाको सबैभन्दा बढी सदस्य भएको र विभिन्न राज्य तथा सहरमा गरी २७ वटा स्थानीय च्याप्टर गठन गरी क्रियाशील रहेको संस्था हो। यो साधारण सभा मार्फत सबै च्याप्टरहरुलाई कसरी एकरुपता दिने,समितिको विद्यमान विधानलाई समय सापेक्ष बनाई संशोधन गर्ने र आगामी केन्द्रीय अधिवेशनका लागि विधान संशोधन गरी कार्यान्वयनमा ल्याउने जस्ता कार्यहरु सम्पन्न गरिनेछ। यसका लागि समितिका सबै सदस्य र शुभेच्छुकहरुको सहभागिताको समितिले अपेक्षा गरेको छ। 

साधारण सभा मूल आयोजक समितिका तर्फबाट हामीले सहुलियत दरमा होटल रुम उपलब्ध गराउने व्यवस्था गरेका छौं। तसर्थ साधारण सभा हुन लागेको मनासासस्थित Best Western Battlefield Inn को फोन नम्वर (703) 361-8000 मा अप्रिल २ तारिखभित्र सम्पर्क गरी सहुलियत दरमा होटल बुक गर्नु हुन अनुरोध गरिन्छ। होटल बुकका लागि सम्पर्क गर्दा NPRCC कोड उल्लेख गर्नुपर्नेछ। 

साधारण सभा सफल बनाउन हामी अमेरिकामा रहनु भएका समितिका सबै सदस्य,नेपाली कांग्रेसका अग्रज व्यक्तित्व र शुभेच्छुकहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं । 

आउनुहोस् हामी सबै जुटौं र आसन्न साधारण सभालाई भव्यतापूर्वक सफल बनाऔं। हामी तपाईंहरु सबैलाई भर्जिनियामा स्वागत गर्न उत्साहित छौं।

केशब बराल

उप-सभापति,नेपाली जनसम्पर्क समिति,अमेरिका 

एवं संयोजक,प्रथम वार्षिक साधारण सभा आयोजक मूल समिति