-Mr Anand Bist, NJSS USA President

जनसम्पर्क समिति र काँग्रेसको संबन्ध दुइपाटो र फरक बाटो होइन

Hollywood Khabar February 23,2020 Comments

आनन्द विष्ट/नेपाली जनसम्पर्क समिति अमेरिका सभापति तथा नेपाली काँग्रेस आमन्त्रित केन्द्रिय सदस्य

नेपाली काँग्रेस पार्टी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो। मुलुकमा जे जति परिवर्तन भयो, त्यो नेपाली काँग्रेसको नेतृत्वदायी भूमिकाका कारण मात्र संभव भएको । नेपालको पुरानो र झण्डै सात दशक लामो ईतिहास बोकेको नेपाली काँग्रेसको गौरवपूर्ण ईतिहास छ। एक सय चार वर्ष लामो जहाँनिया राणा शासनको अन्त्य नेपाली काँग्रेसको नेतृत्वमा भयो ।

जनतालाई रैतीबाट सार्वभौमसत्ता सम्पन्न नागरिक काँग्रेसको नेतृत्वले बनाएको हो। मुलुकमा राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको स्थापना पनि काँग्रेसकै नेतृत्वदायी भूमिकाबाट संभव भएको जगजाहेर छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको ग्यारेण्टी र लोक कल्याणकारी राज्यको परिकल्पना नेपाली काँग्रेसका संस्थापक महामानव वीपी कोईरालाले झण्डै सात दशकअघि देखेको सपना थियो। खुला अर्थतन्त्र र उदारवादका कारण नेपालको बाह्य देश र संसारसंगको सम्बन्ध मजबुत बनाउने कडी हो ।

मुलुकलाई संबिधान दिने श्रय पनि नेपाली काँग्रेसलाई नै जान्छ । पार्टी हारे पनि देश नहारोस भन्ने सोचका साथ गणतन्त्र नेपालका संस्थापक स्वर्गीय गिरिजा प्रसाद कोईराला, स्वर्गीय सुशिल कोईराला र बर्तमान सभापति शेर बहादुर देउवाले मुलुकलाई संबिधान सभाको निर्वाचन, संबिधानको घोषणा र तीनै तहको निर्बाचन सफलतापूर्वक सम्पन्न गरेको कुरा घाम झै छर्लङ्ग छ ।

पार्टीभित्रको गुटगत राजनीतिको असर नेपाली काँग्रेसमा मात्र परेको छैन । त्यसले देशलाई पनि असर गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठक र त्यसबाट भएका निर्णयहरुमा नेताहरुबाट व्यक्त असन्तुष्टिलाई साम्य पार्दै सभापति शेर बहादुर देउवाले सबैलाई मिलाएर लैजाने खोजेको प्रष्ट हुन्छ ।

यथास्थितिवादमा संगठन सधैं कमजोर हुन्छ भन्नेमा सभापति देउवा प्रष्ट हुनुहुन्छ। तसर्थ उहाँ सबैलाई समेटेर संगठनलाई गतिशील बनाउन प्रयत्नरत हुनुहुन्छ। उहाँको सदाशयता सहमतिमै छ र सोही अनुरुप प्रयासरत हुनुहुन्छ। तर आन्तरिक राजनीतिमा देखिएको सभापति देउवालाई काम गर्न नै असहज बनाइदिने जुन एक किसिमको अवस्था छ। त्यसलाई चिरेर अघि बढ्नुको अव विकल्प पनि छैन । अन्यौलमा मात्र राख्दा त्यसको अपजशको भागीदार पनि सभापतिले एक्लै बोक्नुपर्ने अनि त्यो अन्यौल चिरेर अघि बढ्न सहमतिको प्रयास गर्दा पनि ‘शर्त’ मात्र थप्ने काम गर्दा निकास निस्कन्न ।

निर्वाचित सभापतिलाई काम गर्न दिनु र सहयोग गर्नु सबै कांग्रेसजनको जिम्मेवारी र दायित्व दुवै हो। चुनावी मैदानमा पक्ष र विपक्ष हुनु लोकतन्त्रको अभ्यास नै हो र त्यही अभ्यासले नै नेतृत्व निर्वाचित गर्दछ । निर्वाचित भएर नेतृत्व चयन भैसकेपछि अब त्यहाँ कुनै पक्ष र विपक्ष भन्ने नै हुँदैन र हुनु पनि हुँदैन। जित्ने नेतृत्व सबैको साझा हो । यसर्थ साझा नेतृत्वलाई सबैले सहयोग गर्नुपर्छ ।

यतिबेला काँग्रेसीजन एक हुनुको बिकल्प छैन। बीपीको मेलमिलाप नीतिलाई काँग्रेसका हरेक नेता र कार्यकर्ताले स्मरण गरेर मात्र पुग्दैन। त्यसलाई आत्मसात गर्न उत्तिकै आवश्यक छ। काँग्रेस कमजोर छैन। थिएन र हुदैन पनि। तर पार्टीलाई बलियो बनाएर अघि बढ्न सबै पक्षले आआफ्ना निहित स्वार्थ त्याग्नुको बिकल्प छैन। काँग्रेस ईतिहासको अत्यन्त संगीन मोडमा छ । कम्युनिष्टहरुबाट देशको विकास र समृद्धि हुदैन भन्ने कुरा झण्डै दुई तिहाईको नजिकको बहुमतको सरकारको कार्यशैलीबाट प्रष्ट भईसकेको छ । सत्ता बाहिर रहेको काँग्रेसभित्र शुद्धिकरणको जति आवश्यक छ, त्योसंगै जनताका माझ कम्युनिष्ट सरकारले गरेको देशप्रतिको गद्दारीको भण्डाफोर गर्न पनि त्यति नै आवश्यक छ ।

रगतसंग जोडिएको जनसम्पर्क समिति

कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाले प्रवासमा रहेका कांग्रेसजनलाई समेट्नको लागि आफ्नै पहलमा नेपाली जनसम्पर्क समितिको स्थापना गर्नु भएको गौरव हामीसंग छ। तत्कालीन परिस्थितिमा भारत प्रवासमा जन्मिएको यो संस्था आज विश्वका ३५ वटा देशमा फैलिसकेको छ । जनसम्पर्क समितिसंग कांग्रेसको रगत छ । कांग्रेस हुँ भन्नेहरुको आत्माको जड र जरा दुवै जनसम्पर्क समितिमा जोडिएको र फैलिदो पनि छ । त्यसैले त आज प्रवासमा हामी जनसम्पर्क समितिको छाना मुनि संगठित छौं। भावनात्मक रुपमा कांग्रेससंग जोडिएको जनसम्पर्क समितिको आत्मालाई विच्छेद गराउने वैधानिक जटिलताका कारण आज प्रवासमा रहेका हामीहरुको चिन्ता बढेको छ।

आत्माविहीन शरीर बोकेर हामी कहाँ जाने,कुन गन्तव्यमा पुग्ने भन्ने चिन्ता प्रवासमा रहेका हामी अधिकांश कांग्रेसजनमा छ । यस बीचमा पार्टीले ६ महिनाभित्र क्रियाशील सदस्य वितरण गरी अधिवेशन गर्नु भन्ने निर्देशसहितको पत्राचार गरेको छ। कांग्रेसको क्रियाशील सदस्यताको प्रक्रियामा विदेशमा रहेका नेपालीहरु कसैको विमति छैन । तर जनसम्पर्क समितिको नेतृत्व नै क्रियाशील सदस्यबाट चयन गर्नुपर्ने अवस्था आयो भने त्यो चाँही पूर्णत अव्यवहारिक र विदेशी भूमिको कानूनी प्रावधान विपरित हुनेछ जसले कांग्रेसलाई समेत घाटा हुनेछ ।

पार्टीको पछिल्लो महासमिति भेलामा समेत जनसम्पर्क समितिलाई अधिकारविहीन बनाउने गरी कतिपय सदस्यहरुले प्रस्ताव र आवाज उठान नगर्नु भएको होइन । केन्द्रीय समितिको बैठकहरुमा समेत समितिलाई पर्यवेक्षकमा सिमित गराउनुपर्छ भन्ने आवाज नउठेको होइन । तर वीपी कोइरालापछि जनसम्पर्क समितिलाई अत्यन्त माया गर्ने नेतृत्व भनेको वर्तमान सभापतिको नेतृत्व नै हो । जसका कारण जनसम्पर्क समिति पार्टीको निकाय मात्र बनेन केन्द्रीय समितिमा पहिलोपटक दुई जनाले आमन्त्रित केन्द्रीय सदस्य बन्ने अवसर पनि पाएका छौं । यस्तो नेतृत्वबाट समितिलाई कांग्रेससंग अझ बढी भावनात्मक रुपमा जोड्ने काम हुनेछ भनी अपेक्षा गर्नु स्वाभाविक हुन्छ।

पार्टीको मूल कानुन विधानको परिच्छेद ५ मा जनसम्पर्क समिति गठन सम्बन्धी उल्लेख छ । यसैगरी केन्द्रीय समिति मातहत गठन हुने केन्द्रीय विभागमा पनि जनसम्पर्क समिति सम्बन्धी अलग्गै विभागको व्यवस्था छ । यसले पनि पार्टीले विदेशस्थित कांग्रेसजनको साझा संगठन नेपाली जनसम्पर्क समितिलाई दिएको महत्व प्रष्ट हुन्छ । अब यसलाई प्रवासमा थप गतिशील र प्रभावकारी बनाउने जिम्मेवारी हामी प्रवासी कांग्रेसजनको नै हो । यस अर्थमा नियमित अधिवेशन,सांगठनिक गतिविधिलाई तीव्रता र डेनमार्कमा यसै वर्ष सम्पन्न भएजस्तो प्रशिक्षण र अन्य कार्यक्रम गरी हामीले पार्टीलाई सहयोग पुर्याउनु पर्छ ।

पार्टीको हरेक आव्हानमा जनसम्पर्क समितिका साथीहरुले सहयोग गर्नु भएको छ,सहभागिता जनाउनु भएको छ । म स्वयम् विगत २२÷२३ वर्षदेखि निरन्तर जनसम्पर्क समिति मार्फत क्रियाशील हुँदै आज पार्टीको केन्द्रीय समितिको आमन्त्रित सदस्यको रुपमा छु । यो हामी सबै प्रवासी कांग्रेसजनप्रति वर्तमान नेतृत्वले गरेको सम्मानको अर्थमा मैले लिएको छु।

हामी नेपाली कांग्रेसका सदस्य हौँ,यसमा विमति होइन,हामीले कांग्रेसको नीति,नियम,विधान मान्नुपर्छ यसमा पनि विमति होइन । तर विदेशमा हामीले तेश्रो देशको नागरिकका हैसियतले के कसरी संगठन चलाई रहेका छौं भन्ने विषयको गहिराईमा पुग्नु आवश्यक छ । अनौपचारिक रुपमा पनि पार्टीका जिम्मेवार नेतागणहरुसंग विद्यमान वैधानिक व्यवस्था र यसले पारेको कठीनाईका बारे अवगत गराउने काम भएको छ । त्यस्तो भेट र कुराकानीमा प्रवासको समस्याका बारे सबै नेताहरुले यस्तो व्यवस्थालाई सहजीकरण गर्न सकारात्मक कुरा गर्नु भएको छ ।

जुनसुकै देशमा बसे पनि सर्वप्रथम हामीले सम्मान गर्ने भनेको सम्बन्धित देशको नीति,नियम र कानुन हो,सम्बन्धित देशको कानुनी दायरामा रहेर आफ्नो अधिकारको भोगचलन गर्ने हो । यस अर्थमा हामीले कुनै पनि देशमा जनसम्पर्क समिति सम्बन्धित देशको कानुन अनुरुप दर्ता गरी संचालन गर्नुपर्छ । जहाँ कानुनको उल्लंघन हुन्छ त्यहाँ हामी सबैलाई समस्या हुन्छ। अमेरिका,बेलायत,क्यानडा,अष्ट्रेलिया,युरोप सबैतिर अहिले हामीले सम्बन्धित देशको कानुन अनुसार संस्था दर्ता गरेर नै समितिका नामबाट वैधानिक ढंगले काम गरिरहेका छौं । यसका लागि सम्बन्धित देशको कानुनी वैधानिकता पुरा गरेको व्यक्ति वा पदाधिकारी नै त्यस्तो संस्थामा आवद्ध हुने हो । अमेरिकाको हकमा अझ प्रष्ट पार्नु उचित हुन्छ, यो भूमिमा यहींको कानुनी वैधानिकता पुरा गरेको व्यक्तिले मात्र यहाँको अधिकारको उपयोग गर्न पाउँछ ।

हामीलाई नेपाली नागरिकता बोकेर भावनाको वेगले मात्र अमेरिकी वैधानिक कानुनको मूलबाटोमा पुर्याउदैन । हाम्रो देशमा दोहोरो नागरिकताको प्रवन्ध भै नसकेको अवस्था एकातिर छ भने अर्को्तिर जुन देशमा बसेको छ त्यस देशको वैधानिकता पुरा गरेर बस्नुपर्ने हाम्रो दायित्व पनि छ । यस अर्थमा जनसम्पर्क समितिमा आवद्ध र क्रियाशील रहने भनेको सम्बन्धित देशमा कानुनी वैधानिकता पुरा गरेर बसेका कांग्रेसजनहरु नै हुन् ।

जुनसुकै देशमा बसेपनि सम्बन्धित देशको नियम,कानुन र वैधानिक हक,अधिकारको भोगचलन गर्न योग्य हुनेहरु नै बढी क्रियाशील हुने हुन् । यही अर्थमा नेपाली जनसम्पर्क समितिमा पनि सम्बन्धित देशमा वैधानिक रुपमा बसोवास गरेका र सोही देशको कानुन अनुसार संगठन दर्ता गरी चलाएका साथीहरु हुनुहुन्छ । यसको अर्को पाटो भनेको प्राविधिक पाटो पनि हो ।

प्रवासमा रहँदा,बस्दा सम्बन्धित देशको नीति,नियम अनुसार नागरिकता लिने,अधिकारको निर्वाध उपभोग गर्न पाउने,आफु र आफ्ना परिवारको आर्थिक,वैयक्तिक र आय आर्जनका अन्य उपलब्धी हासिल गर्ने,ज्ञान र सीप सिकी अन्ततस्देश हितका लागि त्यो सीपलाई प्रयोग गर्ने काम सबैले गर्दै आइरहेका हुन्छन् । यो अहिलेको अवस्थामा सामान्य कुरा पनि हो । यस अर्थमा नेपाली जनसम्पर्क समितिमा आवद्ध हुनेहरु सबै नेपाली नागरिक नै हुनुपर्छ भन्ने व्याख्या मूलतस्अत्यन्त अव्यवहारिक छ । यस्तो व्याख्या मात्र गरेर बस्ने हो भने समितिमा को व्यक्ति क्रियाशील हुन सक्छ ? किनकी नेपाली नागरिकता भनेको नेपालका लागि हो,विदेशमा नेपाली नागरिकताले परिचय दिने बाहेक अन्य अधिकार र कानुनी वैधानिकता प्राप्त भैरहेको अवस्था छैन ।

मेरो निजी विचार के हो भने जनसम्पर्क समितिमा आवध्द हुने भनेको विगतमा कांग्रेससंग जोडिएका सदस्य र शुभेच्छुकहरु नै हुन् । तसर्थ यसमा नेपाली नागरिक भन्नुको सट्टामा नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध साथीहरु भनेर सहजीकरण गरिदिनु उचित हुनेछ ।

विदेशमा वैधानिक रुपमा बसोवास गरी सम्बन्धित देशको कानुन अनुसार संगठन दर्ता गरी संचालन गरिरहेकाहरुले निर्वाध रुपमा नेपाली जनसम्पर्क समितिको सदस्यता लिने र नेतृत्व चयन प्रक्रियामा भाग लिन पाउने वैधानिक हैसियत राख्छन् । तसर्थ यही अनुसार विश्वभरका जनसम्पर्क समितिहरुलाई सहजीकरण गर्नका लागि केन्द्रीय समितिको आगामि बैठकले निर्णय गरोस् भन्ने सम्पूर्ण साथीहरुको भावनालाई कांग्रेसले सम्मान गर्नेछ भन्ने आशा गरौँ ।

सम्बन्धित देशको जनसम्पर्क समितिको नेतृत्व चयन सोही देशको कानुनी प्रावधान अनुसार दर्ता भएको संस्थाको विधि विधान अनुसार हुने र महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य नेपाली कांग्रेसको विधि,विधान अनुसार क्रियाशील सदस्यबाट हुने व्यवस्था नै उचित हो । पार्टीको क्रियाशील सदस्य नै पार्टीको पूँजी हो भने सम्बन्धित देशका साधारण सदस्यहरु नेपाली जनसम्पर्क समितिको आधार हो । यसतर्फ हामी सबैको ध्यान जानु आवश्यक छ ।

पार्टीको विधान कुनै शिलालेख होइन,आवश्यकता र औचित्य अनुसार विधान संशोधन गर्न सकिन्छ र विधानका गाँठाहरुलाई फुकाउनका लागि केन्द्रीय समितिले निर्णय गर्न सक्छ । तसर्थ हामीलाई पार्टीसंग भावनात्मक रुपमा अझ नजिक बनाउन आइपरेको यो वैधानिक व्यवस्थालाई निकास दिन केन्द्रीय समितिले निर्णय गर्नेछ भन्ने हाम्रो विश्वास छ ।