Bishnu Subedi

नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समितिको औचित्य-सुवेदी

Hollywood Khabar August 02,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समितिको औचित्य भन्ने एक प्रेस विज्ञप्ति हलिउड खबरलाइ प्राप्त भएको छ।
प्राप्त बिज्ञप्ति अनुसार नेपाली कांग्रेसको सम्पर्कमा रहेका प्रवास स्थित नेपालीहरुको समन्वय र सम्पर्क गरि उक्त पार्टीको सपोर्ट र सहायोगको लागि गठन भएको नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति हो भनिएको छ।
जना नायक विपी कोइरालाले भारतबाट गठन गरेको नेपाली जनसम्पर्क समिति हाल विश्वका धेरै देशहरुमा रहेको र सोहि क्रममा नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समितिले सबैको समन्वय गर्ने लगायतका कुरा उल्लेख गरिएको छ।  
बिष्णु सुवेदी, सभापतिको नामबाट प्राप्त उक्त विज्ञप्त मा विभिन्न १२ बुंदे औचित्यहरु समेत उल्लख गरिएको छ।
विज्ञप्तिको प्रति जस्ताको तेस्तै:

मिति :- अगष्ट २ , २०१८
प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरू,
नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति "विश्व सञ्जाल” गठनको आवश्यकता र औचित्य ।

नेपाली जनसम्पर्क समिति भन्नासाथ नेपाली काँग्रेससँग आवद्द प्रवासमा रहने नेपालीहरूको संगठन भन्ने बुझिन्छ जसको परिकल्पना जननायक  वी पी कोइरालाले गर्नु भएको थियो । भारतबाट शुरू भएको यो संगठन सन २००७ सालदेखि नै विभिन्न अन्य मुलुकमा फैलन थालेको हो । मुलुकमा प्रजातन्त्रमाथि धावा बोलिदा त्यसको विरूद्धमा आवाज उठाउन होस् वा प्रजातन्त्र स्थापनाका लागि अन्तर्राष्ट्रिय रूपमा दवाव सिर्जना गर्न होस् नेपाली जनसम्पर्क समितिहरूको महत्वपूर्ण भूमिका रहँदै आएको कुरा सर्वविदित नै छ। नेपाली काँग्रेस पार्टीले पनि जनसम्पर्क समितिको भूमिकालाई उच्च मूल्याँकन  गर्दै पार्टीको केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व समेत गराउँदै आएको छ।

शुरूका दिनमा केही देशमा मात्र सिमित रहेको नेपाली जनसम्पर्क समिति आज विश्वका धेरै देशहरूमा फैलिइसकेको छ र बाँकी देशहरूमा यसको बिस्तार हुने क्रम जारी छ । नेपाली जनसम्पर्क समिति कतिपय देशमा भर्खर मात्र गठन प्रक्रियामा रहेको छ भने अन्य कतिपय देशमा पाँचौ, छैठौं अधिवेशन समेत सम्पन्न भइसकेका छन् ।

नेपाली जनसम्पर्क समितिमा आवद्द रहेर पार्टीको महाधिवेशन र महासमितिमा भाग लिइसक्नुभएका महाधिवेशन प्रतिनिधिज्यूहरू, महासमिति सदस्यज्यूहरू, विभिन्न देशका पूर्व सभापति लगायत पदाधिकारीहरू र नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत संघर्ष गरी पार्टीको महत्वपूर्ण स्थानमा रहेर आफ्नो ज़िम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका अग्रजहरू ठूलो संख्यामा देश बाहिर हुनुहुन्छ । हजारौंको संख्यामा रहेका पार्टीका यस्ता होनहार कार्यकर्ता र  नेताहरू संगठनको संरचनाका कारण निस्क्रीय रहनुपर्ने स्थिति देखिएको कुरा महशुस हुँदै आएको थियो । यस्ता अत्यन्त महत्वपूर्ण अग्रज एव साथीहरू संगठनको संरचना भन्दा बाहिर रही निस्क्रीय हुँदा पार्टीलाई ठूलो घाटा भइरहेको महशुस गरी एउटा वृहत अन्तर्राष्ट्रिय संगठन निर्माण गर्ने निष्कर्षमा हामी पुगेका हौँ । करिब चार वर्ष अगिदेखि नै यस्तो किसिमको अन्तर्राष्ट्रिय संजाल निर्माण गर्ने संबन्धमा पार्टीका विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफल, विचार-विमर्श भइरहेका थिए । तत्कालीन पार्टी सभापति सुशील कोइरालाज्यूलाई पनि यसको लागि अनुरोध गरिएको थियो । त्यस बेलादेखि नै अहिलेसम्म विदेशमा रहेका सम्पूर्ण साथीहरू यस्तो सञ्जाल गठनको पक्षमा रहनु भएकोले अब थप ढिलाइ गर्दा काम गर्न इच्छुक साथीहरूमा निराशा उत्पन्न हुने कुरालाई हृदयंगम गरी वर्तमान अवस्थामा पार्टीलाई सांगठनिक रूपमा थप ऊर्जा प्राप्त होस् भन्ने हेतुले भविष्यमा हुने राष्ट्रिय, प्रान्तीय र स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको बहुमतीय सरकार बनाउन आवश्यक सहयोग गर्ने मुख्य उद्देश्यका साथ नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल“ गठन गरिएको प्रस्ट पार्न चाहन्छु ।

संगठनको नेतृत्व र कार्यसमिति
नेपालको वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई सांगठनिक रूपमा अझ बढी सहयोग गर्नुपर्ने आवश्यकता महशुस गरी विभिन्न देशका नेपाली जनसम्पर्क समितिका सभापतिज्यूहरू, पूर्व सभापतिज्यूहरू, महासमिति सदस्यज्यूहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू एंव पार्टीका अग्रज तथा शुभचिन्तक र शुभेच्छुकहरू बीच उच्च संचार प्रविधिको समेत प्रयोग गरी विभिन्न चरणमा भएको लामो वहस र छलफल पश्चात् वहाँहरूकै सुझाव अनुसार अहिले सकृय पदीय जिम्मेवारीमा रहनुभएका सभापतिज्यूहरू पदेन सदस्यको रूपमा रही समिति गठन गर्ने निर्णयका साथ म नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व संयोजक एव महासमिति सदस्य विष्णु सुवेदीको नेतृत्वमा नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल“ गठन गरिएको यहाँहरू सबैमा अवगत गराउँदछु ।

नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल” संसारभरिका नेपाली जनसम्पर्क समिति , नेपाली काँग्रेसका अग्रज , शुभचिन्तक एव शुभेच्छुकहरूसँग समन्वय गरी वृहत संगठन निर्माण गर्ने उद्देश्यले गठन भएको हो । माथि उल्लेख गरिसकिएको छ कि यस तदर्थ समितिमा रहेका अधिकांश साथीहरू विभिन्न देशमा नेपाली जनसम्पर्क समितिको नेतृत्वमा रहेर काम गरिसक्नु भएका पूर्व सभापतिहरू,पदाधिकारीहरू र महासमितिका सदस्हरू हुनुहुन्छ ।  म स्पष्ट पार्न चाहन्छु कि यो समिति पूर्ण भएको छैन । थप साथीहरूलाई समावेश गरी यस समितिलाई यथासक्य चाडो पूर्णता दिइनेछ।

तदर्थ समिति :-
नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व संजाल “ को तदर्थ समिति देहाय बमोजीम गठन गरिएको छ ।
सभापति :-     बिष्णु सुवेदी (अमेरिका)
उप सभापति :- चित्र के सी (युएई )
उप सभापति :- कंचन पोखरेल (अष्ट्रेलिया )
उप सभापति :- नवराज शिवाकोटी (साउथ कोरिया )
महामन्त्री     :- चिन्तामणि सापकोटा (स्पेन )
सह महामन्त्री :-नविन आचार्य (डेनमार्क )
सह महामन्त्री :-भुपि गोविन्द श्रेष्ठ( जापान )
कोषाध्यक्ष :-   सुभाष घिमिरे (अमेरिका)
सदस्यहरू :-
कुल बहादुर गुरूड  - (हंगकंग)
विराट श्रेष्ठ - (भारत)
डि पि कँडेल (जापान)
राजेन्द्र जमरकट्टेल- (जापान )
अंबिर जोशी- (मकाऊ)
उत्तम कडेल (नेदरल्याड )
टिका राम सापकोटा -(वेलायत )
पूर्ण तिमिल्सिना - (बेल्जीयम )
दिपक रेग्मी (नेदरल्याड )
कुश वस्नेत (वेलायत )
उषा भुसाल  सुवेदी - (ईजरायल )
हेमराज पाण्डे (क्यानडा)
बेदनिधि आचार्य - (ओमान)
नवराज लामिछाने (साउदी अरव)
बिष्णु सापकोटा (पोर्चुगल)
राजेन्द्र बिरही- (कुवेत)
भवानी शंकर तिवारी (मलेशिया )
तारा प्रसाद बंजाड़े- (चीन )
ज्ञानेन्द्र खत्री - (युएइ )

नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व संजाल” को सांगठनिक  ढाँचा ।
नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल”को  प्रस्तावित सागठानिक ढाँचा दुई तहको हुनेछ केन्द्र र क्षेत्र । क्षेत्रहरू सात वटा रहनेछन् साथै केन्द्रमा अावश्यकता अनुसार विभिन्न विभागहरू गठन गर्न सिकिने छ  । प्रत्येक क्षेत्रहरूमा क्षेत्रीय संयोजक र उप संयोजक रहनेछन । जसको कार्यक्षेत्र विधानले तोके वमोजिम हुनेछ।

क्षेत्रहरू
१)अमेरिका क्षेत्र
२)अफ्रिका क्षेत्र
३)गल्फ क्षेत्र
४)पूर्वी एसिया क्षेत्र
५)दक्षिण एसिया क्षेत्र
६)यूरोप क्षेत्र
७)अष्ट्रेलिया क्षेत्र

नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समवन्य समिति “विश्व संजाल “ को उद्देश्य र योजना ।
१)मातृपार्टी नेपाली कांग्रेस लाई वैचारिक , प्राविधिक र आर्थिक सहयोग गर्ने ।
२)नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिहरु बीच सहकार्य र समन्वय कायम गरी विधानमा एकरूपता ल्याउन पहल गर्ने । राष्ट्रिय समितिहरूको विधान सम्मत अधिकारमा कुनै हस्तक्षेप गरिने छैन ।
३)नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिसँग समन्वय गर्ने ।
४)यस संगठनका साथीहरू बीच व्यवसायिक र आर्थिक उन्नति लगायतका विषयमा सक्रीय सहयोग गर्ने ।
४)विदेशमा रहेका नेपालीहरुको हकहितका विषयमा काम गर्ने ।
५)NRN लगायत विभिन्न समाजिक संघ संस्थाहरूमा सक्रीय एवं प्रभावकारी भूमिका निर्वाह गरी सहकार्य र सहमतिका साथ अघि बढ्ने।
६)नेपाली जनसम्पर्क समिति विस्तार नभएका देशहरूमा विस्तार गर्न पहल गर्ने ।
७)नेपाली काँग्रेस र यसको भातृ संस्थामा काम गरि सक्नुभएका र हाल विभिन्न देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूमा कार्यरत विज्ञ, वैज्ञानिक प्राध्यापकहरूको ज्ञान र सीपलाई नेपाली काँग्रेस पार्टी र देशको हितमा उपयोग गर्न समन्वय गर्ने ।
८)मुलुकमा लोकतन्त्रका र मानव अधिकारका विरूद्धमा हुने कुनैपनि क्रियाकलापको विरूद्दमा संगठित रूपमा विश्वभरिबाट खबरदारी गर्ने ।
९)प्रवासमा रहेका नेपालीहरूले आफू बसेको देशबाट मतदान गर्न पाउने व्यवस्थाका लागि  पहल गर्ने ।
१०)विदेशमा सिकेको प्रविधि, ज्ञान र सीपलाई स्वदेशको बृहत्तर हितका लागि उपयोग गर्ने वातावरण बनाउन पहल गर्ने।
११)नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल” लाई निकट भविष्यमा हुन गइरहेको नेपाली काँग्रेसको महासमिति बैठकबाट विधानमा व्यवस्था गर्न पहल गर्ने ।
१२)नेपाली नागरिकताको निरन्तरताको लागि आवश्यक कानून बनाउनको लागि पहल गर्ने ।

बिष्णु सुवेदी
सभापति
नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति