नेवा: नख: न्युयोर्कको आयोजनामा पाँचौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न

Hollywood Khabar August 08,2018 Comments

नेवा: नख: न्यूयोर्कको आयोजनामा, नेपाल संवत ११३८  दिल्लागा द्वितीया (Sunday July 29, 2018) का दिन, न्यूयोर्कमा पाँचौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ।

नेवा: गुभाजु (पुरोहित) श्री समन्तश्री  बज्राचार्यज्यूले नेवा: बिधिपूर्वक ईही सम्पन्न गराउनु भयो। उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख: का महासचिव श्री महेन्द्र बिर बज्राचार्यज्युले  थाकुलि ( मूख्य कर्ता) भै सहयोग गरी पुजा गर्नु भएको थियो।
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक ईहीमा ३ जना बालिकाहरु रोज श्रेष्ठ, आड्रिका शाक्य र अर्पिता गोसांइ सहभागी रहेका थिए।

नख:का सचिव डा. नरेश मान शाक्यले सम्पूर्ण अतिथि र सहभागीहरूलाई स्वागत गरी कार्यसमितीका पदाधिकारीहरूको परिचयबाट सुरू गिरिएको उक्त कार्यक्रममा नख:का कार्यबाहक अध्यक्ष राजा शाक्य, उपाध्यक्ष श्री विष्णु मान प्रधान, महासचिब महेन्द्र बिर बज्राचार्य र संस्थाका सल्लाहकार अजय मान छोचूंज्युहरूले ईही गर्ने बालिकाहरूलाई सहभागिताको सर्टिफिकेट बितरण गरी उहाँहरूको उज्जल भबिष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

महिला स्वयमसेवकहरू, नख:का सदस्यहरू नम्रता प्रधान, संगिता मुखिया छोचूं, श्रुति अमात्य, श्रीकमल शाक्य, लघु श्रेष्ठ, कमला प्रधान र मैना बज्राचार्यहरूले सहभागीहरूका लागी पुजा तयारी र सगुन वितरण गरेका थिए भने, सबिना शाक्यले कार्यक्रमको फोटोग्राफी गर्नु  भएको थियो ।
नेवा: नख: न्युयोर्क, नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवा: संस्था हो। यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

अमेरिकाबाट नेपालमा गएर ईही गर्दा धेरै खर्चिलो हुने भएकाले न्युयोर्कमै यसरी गरिएको नेवारी परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित भएको आयोजक संस्था नेवा:नख: न्युयोर्कका उपाध्यक्ष विष्णु मान प्रधानले जानकारी दिनुभयो। यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृति र परम्परा समेत संरक्षण र प्रबर्दन हुने उहाँको भनाई थियो।