Nepal Army Official LOGO/Seal from Google Search

लिबियाको विकसित परिस्थिति सम्बन्धमा नेपाली सेनाको विज्ञप्ति

Hollywood Khabar April 07,2019 Comments

अफ्रिकी राष्ट्र लिवियामा केही दिनदेखि विद्रोही समुह The Libyan National Army (LNA) ले आक्रमक कारवाहीलाई तीब्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि त्यहाँको सुरक्षा स्थिति तनावपूर्ण बन्दै गईरहेको छ ।

विशेषगरि मिति २०७५/१२/२२ गते (तदनुसार ५ April २०१९) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिवियाको बेङ्घाजीमा वार्ता भएको थियो । वार्ताबाट निष्कर्ष ननिस्केसँगै विद्रोही नेता खलिफा हफ्तारले आफ्नो समुहलाई सैनिक कार्वाहीको निरन्तरताको लागि निर्देशन दिएका छन्। यस विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चासो व्यक्त गरेका छन्।

हाल विद्रोहीले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई No Fly Zone घोषणा गरेतापनि त्रिपोलीबाट ट्युनिशियामा जाने सडकमार्ग चालु अवस्थामा नै रहेको छ । त्यहा तैनाथ United Nations Support Mission in Libya (UNSMIL) मिशनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिशनले सडकमार्गको प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिशियामा पठाउने कार्य शुरु गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन्। मिशन हेडक्वार्टर तथा मिशन हेडक्वार्टरमा कार्यरत रहेका UN Staff हरुको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसंघिय शान्ति स्थापनार्थ United Nations Support Mission in Libya (UNSMIL) अन्तर्गत त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका छन्। उक्त मिशनमा कार्यरत रहेका २३१ जना नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेका छन् ।