-डिसीमेट्रोमा चलचित्र महोत्सवको समिक्षा तथा तयारी कार्यक्रम सम्पन्न

डिसीमेट्रोमा चलचित्र महोत्सवको समिक्षा तथा तयारी कार्यक्रम सम्पन्न

Hollywood Khabar July 03,2019 Comments

आयोजकबाट प्राप्त समाचार

यहि जुनको २८, २९ र ३० सम्म मेरील्याण्डमा आयोजना भएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समिक्षा तथा आगामी २०२० को तयारीबारे छलफल सम्पन्न भयो।

गैर-नाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले वाशिंगटन डीसी महानगर क्षेत्रमा सन् २०१७ देखि निरन्तर आयोजना गर्दै आएको महोत्सवको तेस्रो संस्करण झन् भव्य भएको समिक्षा गरियो।

नेपालीहरुका साथै अन्य विविध संस्कृति माथी काम गर्नेहरुका लागि दक्षिण अमेरिकाको साझा मंच बन्न सक्ने कुरा पनि समिक्षामा बताइयो। मेरील्याण्ड फिल्म अफिस, मेरील्याण्ड पार्क्स तथा प्लानिङ्ग कमिसन, आर्ट काउन्सिल लगायत अन्य अमेरिकी संस्था तथा स्थानिय चलचित्रकर्मीहरुको उपस्थितिले चासो बढेको छ ।

समीक्षामा वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा, भर्खरै फ्रान्समा आयोजना भएको फिल्म फेस्टिवलमा अर्को फिल्म बनाउन ६० हजार पुरस्कार जितेका मिन बहादुर भाम, बुलबुल फिल्मका निर्देशक र निर्माता बिनोद पौडेल र अभिरल थापा, सिंहदरबार टेलीसिरियलका निर्माता युबाकर राजकर्णिकार, महोत्सवका निर्देशक पूर्णसिंह बराइली, फिल्म सोसाइटीका सह-अध्यक्ष किरण पौडेल उपस्थित थिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका नवनिर्वाचित उपाध्यक्ष कृष्णजीबी पन्थ, एनआरएनए आइसीसी सदस्य राजन त्रिपाठी, समाजसेवी किरण पन्थ लगायत चलचित्र महोत्सवका केहि प्याट्रोंन समुहका व्यक्तित्वहरुले आगामी वर्षको तयारीबारे बोलेका थिए भने चलचित्रकर्मीहरुले फेस्टिवलको महत्वबारे प्रस्ट्याएका थिए।

नवनिर्वाचित उपाध्यक्ष कृष्णजीबी पन्थले महोत्सवलाई गैरआवासीय नेपाली संघको अभियानसंग जोड्ने प्रतिबद्धता ब्यक्त गरे भने आइसीसी सदस्य राजन त्रिपाठीले पनि एनआरएन आइसीसीमा सहयोगका लागि पहल गर्ने बताए । समाजसेवी तथा रियल्टर किरण पन्थले म्यारिल्याण्डका संघ संस्था तथा कलाकारहरुलाई महोत्सवमा जोड्न नेतृत्व लिने कुरा बताए ।

चलचित्र महोत्सवको समिक्षा तथा २०२० को तयारीबारेको कार्यक्रम गैरआवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित उपाध्यक्ष कृष्णजीबी पन्थको संयोजनमा भएको थियो। उपाध्यक्ष पन्थको योगदान र सक्रियतालाई नवीन सुब्बा र बिनोद पौडेल लगायत उपस्थित सबैले खुलेर प्रसंसा गरेका थिए ।