नेपाली अमेरिकन समाजका तथाकथित नेता र गिर्दो स्वाभिमान

Hollywood Khabar April 24,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली अमेरिकन समुदायको पहिलो पुस्ता भाग्यको लहरामा झुण्डिदै यहाँ आइपुगेको हो। केही अपवाद वाहेक त्यहि शिक्षा, दिक्षा र संस्कार भन्दा अगाडि पटक्कै छैन । ज्ञान, विज्ञान, दर्शन र प्रविधिले संसारलाई एकछत्र राज गरिरहेको समुन्नत समाजमा छिर्दा पनि हामी तिनै अभाव, अनिश्चितताले लखेटेको मानसिक तन्द्रावाट ब्युतन सकेका छैनौं। त्यसैले त सामाजिक सन्जालमा सानो प्रगतिको ठुलो खुसी साटिरहेका हुन्छौ। अभावको जिन्दगीले वोकाएको भारी हाम्रो थाप्लाबाट हटे पनि महसुस गर्न नसक्ने हामी अरुलाई के भनेर पाठ सिकाउन समाजको नेतृत्व गर्ने ? संस्थाको दर्ता अमेरिकामा गर्छौं, रिमोट नेपालमा दिन्छौ अनि त्यसको गठन विघठनका कुरा नेपालमा माग्छौं । कुनै लाजसरम नै छैन।

नेपाली अमेरिकन समुदायका नेताको शिक्षा, दिक्षा र दक्षताको त कुरे नगरौं। सवै जना अब्बल श्रेणीका। अरुलाई सल्लाह दिन विशेषज्ञ, विचौलिया भएर फाइदा खान विशेषज्ञ, लेखन्दास भएर लुट्न विशेषज्ञ, लेटर हेड वेचेर घरजम र ब्यबसाय गर्न विशेषज्ञ, सिस्टमलाइ पनि तोडेर हार्ड्ड्राइभले चुनाव जित्ने ६४ कलाका पारखी पनि हामी नै। हामीले मानेका जानेका नेता र अगुवाहरु अरु कति कति विधामा विशेषज्ञ छन् कुनै गिन्ति नै छैन। यी हाम्रा नेताका इमेल छोरा छोरी वा अरु कसैले हेरिदिनु पर्छ। फेसवुक ट्वीटरमा जान्ने सुन्ने देखिन अरु कसैले लेखिदिनु पर्छ। भाषण गर्ने बक्तब्य अरुले लेखिदिनु पर्ने, चुनावी घोषणा अरुले लेखिदिनु पर्ने, कुनै बिषयमा प्रस्तुत गर्ने कुरा अरुले तयारी गरिदिनु पर्ने। यस्ता धेरै कुरा छन्। यस्ता कतिपय नेता र अगुवाहरु आफ्नो प्रचार प्रसार मिडियाले गरिदिएन भनेर पत्रकारलाई पाठ सिकाउछन्।

यिनै मध्येका कतिपय सवालांग भएर पनि भाषाको सामान्य ज्ञानको अभावमा अपांग सिटमा टिकट काटेर ह्वीलचेयरमा नेपाल अमेरिका आवत जावत गरिरहेका छन्। तर कुनै पनि मन्चमा यिनीहरु अगाडि उभिन चुक्दैनन्। सधै मन्चमा आसन र तातो न छारोको भाषण ठोकेर आफूलाई स्वघोसित नेता देखाउन कति पनि लाज मान्दैनन। आफ्नै पुस्ताकाले नरुचाएका यिनीहरु आउने अर्को पुस्ताको पनि आफै नेताहुन खोज्छन्।

पहिलो पुस्ताका व्यक्तिहरुको सोच नेपाल र नेपालीको नाममा ढ्वाङ ठोक्ने, फुट्टी कौडी केही नजान्ने छ। हाम्रो बानी बिर्खे र ढाकाको छड्के टोपी अनि ज्वारिकोट लगाएर नेपाल देखि हैसियत हुने नहुने, सडे गलेका जस्ता पनि नेता आउँदा एयरपोर्टमा दर्शन भेट गर्न लाइनमा बस्ने। चन्दा उठाएर उनीहरुलाई सके ५० स्टेट नसके केही स्टेट घुमाउने। यति मात्र होइन त्यही नेपाल डुबाउने आलु, पिंडालु, घुषखोर, हत्यारा, लुटेरा अपवित्र नेताहरुलाई पवित्र मन्त्रले भरिएको खादा ओडाएर, ताल न तुकको अन्तरकृया राख्ने। अनि तेही कुरा कभर गर्न पत्रकार आएनन् भनेर गाली पनि गर्ने।

हो यी र यस्तै अगुवा र नेताले गर्दा नेपाली अमेरिकन समाज सवल सक्षम र गतिसिल हुन नसकेको हो। यिनैका कारण २० औं ५० औं वर्ष अगाडि स्थापना भएका नेपाली संघ-संस्था अहिलेसम्म नाममा सिमित छन्। कति त अस्तित्वमा नै छैनन्। कुनै समयमा हजारौंको उपस्थितिमा बहार ल्याएर एजियम गर्ने संस्थाको अस्थित्व वाद-विवाद, कोर्ट-कचहरी, अपारदर्सीता, आर्थिक अनियमितता, सदस्यताको गोलमाल र नेतृत्व लिन हानाथाप र योग्यता बिनाका तिनै पहिलो पुस्ताका व्यक्तिहरुले चलाएका तिनै संस्थाहरुको अवस्था ऐले आएर बत्ति बालेर खोज्ने बेला भएको छ। विगतमा दुलोमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका पछिलो समयमा पुग्दा तेही अरुसंस्था डुबाउनेहरु कै बाटोमा गएको छ। कुनै दिन यो संस्थाको पनि हालत पत्तासाफ नहोला भन्न सकिन्न। बाँकी अरु संस्था के कस्ता अरु कारणहरुले उभो लाग्न सकेनन् भनेर अर्को लेखमा चर्चा गरौंला।

हाम्रो नेपाली अमेरिकी समाजमा गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, जनजाती महासंघ, तामांग, गुरुङ, राइ, नेवार, शेर्पा, मगर, लिम्बु आदिका थुप्रै संघ संस्थाहरु छन्। उनीहरुले राजनीति, झगडा र फाटोका डोरी र तगारा धेरै लगाएका मात्र छैनन् गर्ने भन्दा नगर्ने काम धेरै गरेका छन्। अब त्यो सबै फेरेर नेपाली धर्म, संस्कृति र कलाको पाठसंगै अमेरिकी समाजमा अमेरिकी भएर प्रस्तिस्पर्धामा जाने खालका कुरा हुनुपर्छ।

जसरी शेर बहादुर देउबा वा खड्ग ओलीले फोन गरेर यहा कोही पनि सिएनएनमा जागिर खान सक्दैन। यतिमात्र होइन नेपालमा दशकौं पत्रकारिता गरेको छु भन्दैमा पनि हुँदैन। त्यसको लागि सिएनएनको आवश्यकता अनुसारको सिप, कला, गुण र योग्यता हुनुपर्छ। त्यसैगरी हामीले हाम्रो समाजलाइ नेतृत्व दिन सक्ने र दोश्रो पुस्तालाई बिकास गर्न सक्ने व्यक्तिहरुको बिकास गर्नुपर्छ।

पेशा, बिषय र प्रसङ्गले आफू पनि जोडिएकोले एउटा उदाहरण लिने प्रायस गरे। जस्तो कि पत्रकारीता यस्तो पेशा हो जसले विश्वलाई एउटा गाउ अर्थात ग्लोवल भिलेजमा परिबर्तन गरिदियो। यसैको परिणाम अमेरिकी नेपाली पत्रकारहरुका संघ संस्था र नेपाली पत्रकारका संघ संस्था विश्वका सहधर्मि र सहकर्मि संघ संस्थासँग आवद्ध भएर हातेमालो गर्दै हिड्ने परिवेश निर्माण भयो। पेशागत सहकार्य र संवन्ध विकास उत्तर आधुनिक समाजका अपरिहार्य तत्व हुन् । तर नेपाली राजनीतिक दलका झोले शाखा जस्तो वन्न मात्र नेपाल अमेरिका पत्रकार संघ-नेजा नेपाल पत्रकार महासंघसँग मिल्न जान्छ भने त्यो दुभाग्यपुर्ण हुनजान्छ। पत्रकार महासंघसँग मिल्दा नेजाका सदस्यहरुलाई आइएफजेको मेम्वर वन्न सक्ने र ग्लोवल फोरममा उभ्याउन सक्ने अवस्था छ भने त्यो सहकार्य लाभदायक हुनसक्छ। अन्यथा नेजाले नेपाल पत्रकार महासंघको सदस्यता कसरी लिने भनेर अब ठूलो अर्थ राख्दैन। नेजाले पनि अव दोस्रो पुस्ताका पत्रकारहरुको लागि सोच अनुसार आफूलाई अगाडि वढाउनु पर्छ।

यो सच्चा बोल्नु पर्ने, पारदर्सीता हुने, गरेका र भएका कुराहरु भनेको समयमा प्रमाण देखाउन सक्नु पर्ने, कानुन र मर्यादामा हिड्नु पर्ने देशमा राष्ट्रपतिले जे लिएर आउनु हुन्छ त्यो नै कार्यान्वयन हुन्छ। देउबा र ओलीको कुरा यहाँ लागु हुन्नन।

संस्था चलाउनेहरुसंग हिसाब देखा भनेर माग्नु पर्ने, अदालत जानुपर्ने, सदस्यता र कार्य संपादनका कुरालाई लिएर अदालत-मुद्धा समेत गर्नु पर्ने संसारका सबैभन्दा खराब र अझ त्यो भन्दा पनि धेरै दुर्गुणका नेतृत्व हामीले बिकास गरेका रहेछौं। संघ संस्थाका नेतृत्वलाइ बिभिन्न आरोप भ्रष्टाचार, मानव तस्करी, मात्र होइन यौन शोषणका कुरा पनि आउन थालेका छन्। यी सबैको कुराहरुका कारणले हाम्रा नेपाली अमेरिकन समाजका तथाकथित नेताहरुको सम्मान र स्वाभिमान गिर्दो र घृणित हुँदै गएको छ।

त्यसैले हाम्रो नेताहरु र नेतृत्व छनोटको लागि फरक खाले मापदण्ड बनाइएन भने भोलिका दिनमा कुनै एउटा बिन्दुमा पुग्दा धेरैजना नेतृत्वकर्ताहरु जेल जाने, आइआरएसको नजरमा पर्ने मात्र होइन पहिलो पुस्ताका संस्था र समाजका गतिबिधि नै बिलाएर जान्छन। अनि खादा ओड्न र ओडाउन लाइन बस्नेहरु लौरो टेकेर प्लेन चडेर नेपाल घुम्न जालान। अब बाँकी कुरा आफैं निर्णय गर्नुहोस।
कृष्णार्पण!