उद्यमका लागि पूँजी कसरी जुटाउने:नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स

Hollywood Khabar July 12,2018 Comments

अमेरिकी राज्य टेक्ससको डालस सहरमा नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सले शुक्रबार उद्यमका लागि पूँजी कसरी जुटाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल आयोजना गरेको छ।

अमेरिकामा रहेर व्यवसाय गरिरहेका नेपालीहरुको यो संस्था तीन वर्षअघि स्थापना भएको हो। संस्थाले उद्यम गर्न चाहने तथा गरिरहेकाहरुलाई व्यवसायका लागि उत्प्रेरित गर्ने, उनीहरुका पक्षमा वकालत गर्ने तथा सूचना दिने उद्देश्यले यस्ता छलफल नियमित रुपमा चलाउँदै आएको छ। यसै प्रक्रियाअन्तर्गत शुक्रबार व्यवसायका लागि पूँजी जुटाउने विषयमा अन्तरक्र्रिया भएको थियो।

कार्यक्रममा साना व्यवसाय गर्न सहयोग गर्ने अमेरिकी सरकारको निकाय स्मल बिजनेस एडमिनिस्ट्रेसन –एसबीएकी अधिकृत ब्रिजेट मून साना व्यावसायलाई ऋण सहयोग गर्ने दुई गैर–नाफामुखी संस्था अलायन्स लेन्डिङ कर्पोरेसनका कार्यकारी निर्देशक जेम्स स्टोक्स तथा लिफ्ट फन्डकी कार्यकारी निर्देशक किम बोयडनले शीर्ष विषयमा सहभागीसँग अन्तरक्र्रिया गरेका थिए।

उनीहरुले सानो लगानीमा कसरी व्यवसाय गर्न सकिन्छ, पूँजी कसरी व्यवस्थापन गर्ने, ऋण कहाँबाट कसरी उपलब्ध हुन्छ, व्यवसायलाई कसरी फैलाउँदै लैजान सकिन्छ जस्ता जानकारी उपलब्ध गराएका थिए।

कार्यक्रममा एसबीएकी अधिकृत मूनले व्यवसाय गर्ने सोच बनाइरहेका तथा गरिरहेकाहरुलाई अमेरिकी सरकारले गर्दै आएको सहयोगबाट फाइदा लिन आग्रह गरिन्। उनले एसबीएले व्यवसायका लागि चाहिने सूचना, तालिम तथा वित्तिय संस्थाहरुसँग सम्बन्ध बनाउन सघाउने जानकारी दिइन्। एसबीए र ‘नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स’ बीच एक वर्षअघि रणनैतिक सम्बन्ध स्थापना भएको थियो। यस सम्बन्धमा एक–अर्कालाई सूचना, विज्ञ तथा स्रोत उपलब्ध गराउने सम्झौता भएको छ।

त्यस्तै, ‘अलायन्स लेन्डिङ कर्पोरेसन’का स्टोक्सले एसबीएको ऋण कार्यक्रम ‘५०४’ अन्तर्गत प्राप्त हुने ऋणको बारेमा जानकारी दिँदै यो कार्यक्रम कस्तो खालका व्यवसायलाई ठिक हुन्छ भन्ने बारेमा प्रकाश पारेका थिए। साथै उनले यो कार्यक्रमबाट नेपाली व्यवासयले भरपुर फाइदा लिन सक्ने बताएका थिए। लिफ्ट फन्डकी कार्यकारी निर्देशक बोयडनले साना व्यवसायीलाई आफ्नो संस्थाले गर्न सक्ने काम तथा कार्यक्रमको बारेमा अवगत गराएकी थिइन्।