-दिल्लीमा पानी पर्दा नेपालमा छाता ओढ्ने नेपाली राजनीतिको कोरोनारुपी च्याँखे दाउ

दिल्लीमा पानी पर्दा नेपालमा छाता ओढ्ने नेपाली राजनीतिको कोरोनारुपी च्याँखे दाउ

Hollywood Khabar April 26,2021 Comments

माधब खत्री, ललितपुर, अप्रिल २७, २०२१

दिल्लीमा पानी पर्दा नेपालमा छाता ओढ्ने हाम्रो राजनैतिक संस्कारलाइ निरंतरता दिंदै नेपाल सरकार र राजनैतिक नेताहरुलाई यसपटक दिल्लीमा कोरोनाले मृत्यूको ताण्डव मच्चाई रहँदा पनि खासै असर गरेन र गरेको पनि छैन। उसो त भयाबह बढेपनि हामीसँग ब्यबस्थापनमा लकडाउन बाहेक अर्को उपाय पनि तयारी गरिएको छैन।

यसैको फाइदा लुट्न स्वस्थका मात्र होइन हाम्रै सरकार र नेताहरुले पालेका व्यापारिक साँढेहरु नेपालमा छिटो भन्दा छिटो कोरोना फैलियोस भनेर धुप बत्ति गर्दै छन्। कोहि साँढेहरु कोरोनाको ताण्डवमा मौकामा चौका हान्ने र अरबौंको घोटाला मच्चाउने दाउ हेरिरहेका छन्। सरकार त यिनै अवसरवादी साँढेहरुको मतियार नै हो।

यो सरकारले जनस्वास्थ्यप्रति अलिकति मात्र पनि उत्तरदाइत्व महसुस गरेको भए र थोरै मात्र पनि यस विषयमा चिन्तनमनन गरेको भए यो महामारीसँग हामी सहजै भिड्न सक्थ्यौं। दिल्लीमा परेको पानी नेपालमा नपर्दै छाता ओढ्न सुरु गर्नेहरुलाई धेरै राम्रोसँग थाहा थियोकी दिल्लीको जस्तै हविगत नेपालीले पनि भोग्नु पर्नेछ। तर यसको पुर्व तयारीमा पूर्णत:व्यवस्था गरियो। नागरिकलाई २५ जना भन्दा बढी बोलाएर भोजभत्तेर नगर्न र विद्यालयहरु बन्द गर्न उर्दी जारि गर्नेहरु नै निर्लज्ज हजारौं कार्यकर्ताका भेडी गोठ बोलाएर दम्भ देखाइरहे। कार्यकर्ता तालि ठोकी रहे, नागरिकको नाममा जात्रामा रमाई रहे र कोरोनालाइ खिसी टिउरी गरिरहे।

कोरोनाको दोश्रो लहरले भारतलाई आच्छु-आच्छु पारिरहँदा यसपटक नेपाललाइ कोरोनाले पनि पुर्व तयारीको लागि प्रशस्त समय दिएको हो। तर यसको सदुपयोग गर्ने तिर भन्दा पनि यो महामारीबाट कसरी आर्थिक र राजनीतिक लाभ लिने भन्ने सोच भन्दा वाहिर हाम्रो सरकार निस्कन सकेन। अब यसको दुर्गती भोग्नु नेपाली नागरिकको नियती हुनेछ र भएको छ।

हरेक समस्याले समाधान र मौका दुवैसँगै बोकेर आएको हुन्छ। समस्या भित्रको समाधान पत्ता लगाउन सक्ने र मौकाको सदुपयोग गर्न सक्ने नेतृत्वलाइ सक्षम, भिजन र दुरदृष्टि भएको मान्न सकिन्छ। यस पटक कोरोनाले भारतमा ताण्डव देखाई रहँदा कोरोनाको दोश्रो लहर कहिले नेपाल भित्रिएला र स्वागत गरौंला भनेर बसेको वर्तमान नेतृत्वसँग यस्तो आसा गर्नु त कार्यकर्ता वाहेक अरुका लागि मुर्खता नै हो।

कोरोनाको उपचार त छैन तर कोरोना संक्रमण पछि अक्सिजनको अभावमा संक्रमितको मृत्यू सबैभन्दा धेरै भएको देखिन्छ। अक्सिजनको लागि भारतमा महाभारत युद्ध लड्नु भन्दा कठिन भैरहेको देखेपछि नेपालले युद्द स्तरमा मित्रराष्ट्र चिन लगायतको सहोग लिएरै भए पनि ८/१० वटा अक्सिजन प्लान्ट बनाएको भए नेपालमा हुने सम्भावित अक्सिजनको हाहाकारलाइ मात्र सम्बोधन हुने थिएन।अहिले भारतलाई आपत पर्दा अन्य राष्ट्रहरुले अक्सिजन सहयोग गरिरहँदा हामी पनि गर्न सक्थ्यौं। अरुले सहयोग गर्नुभन्दा छिमेकी देशको हैषियतले नेपालले सहयोग गर्नु छिट्टो र धेरै प्रभावकारी हुने थियो। अहिले भारत र नेपालमा चलिरहेको कोरोनाको दोश्रो लहर हो। संसारका अन्य देशहरुमा तेश्रो र चौंथो लहर चलिरहेको छ। यो दोश्रो लहर सकिए पनि फेरि नेपालमा तेश्रो, चौंथो रुपमा क्रमिक लहर आउने लगभ निश्चित देखिन्छ। प्रभावकारी रुपमा आएका फाइजर र मोडर्ना भ्याक्शिनले नेपाल प्रवेस पाउने संभावना तत्काल छैन। चाइनाले सहयोग दिन्छु भने पनि नेपालले भने भारतसँग मात्र किन्छुभन्छ। अहिले लगाएको अक्सिजन प्लान्टले धेरै लामो समय हामीलाई काम दिन सक्थ्यो।

भारतले कोरोनाको पहिलो लहर चलिरहँदा अमेरिकालाई सहयोग गर्यो, साउदीलाइ खोप सहयोग गर्यो र आज सहयोग पनि पाउँदै छ। तर विचरा नेपालका भिखारी नेताहरुको दिमागमा हात पसार्ने वाहेक अरु केहि भए पो। अरुलाई आपत पर्दा हामीले पनि सहयोग गर्न सक्छौं भन्ने सोचको विकास भएमा न हामीले पनि आपत विपतमा अरुबाट सहयोगको अपेक्षा गर्न मिल्छ। बुद्दिको ढकनी खोल्ने हो भने अझ पनि ढिला भैसकेको छैन धमाधम अक्सिजन प्लान्ट लगाउनको लागि।

बालुवाटारमा बसीबसी सयौं अस्पतालको सिलान्यास गरेर कार्यकर्ताको तालि खाँदैमा विकासवादी र दुरदृष्टि भएको नेता मान्न सकिंदैन। अस्पताल भनेको भवनमात्र होइन, अस्पताल हुनको लागि आवस्यक दक्ष स्वास्थ्य कर्मीहरुको साथै स्वास्थ्य उपकरणहरु पनि चाहिन्छ भन्ने सोच भैदिएको भए वालुवाटारबाट अस्पतालका भवनहरु सिलन्यास भैरहँदा दक्ष स्वास्थ्य कर्मी उत्पादन र व्यवस्थापनको योजना पनि संगसँगै आउँथ्यो। तर विडम्बना बालुवाटारबाट रिमोट दबाउनेलाई नै आफ्नो योजना आफ्नै जीवनकालमा पुरा हुन्छ भन्ने विस्वास छैन। किनकि मेलम्चीको रिमोट दबाउन लागेको समयको ज्ञानलाई राम्रैसँग हुनु पर्छ।

त्यसैले नागरिकको आँखामा बालुवाटारबाट जति सक्दो रिमोट दबाएर छारो हाल्न यो शक्तिलाई कसैले रोक्न सक्ने पनि देखिंदैन।यसमै उनीहरु रमाइरहेका छन्।अनि उनीहरुका भाडाका कार्यकर्ताले तालि ठोकिरहेका छन्।

यो कोरोनाको महामारीले एउटा राम्रो मौका दिएको छ। यदी बुझ्ने र सदुपयोग गर्ने हो भने नेपालका सरकारी अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य कर्मीहरुको अवस्थाको वारेमा सबै राम्रो सँग जानकार छन्। यही मौकामा स्वास्थ्य संकटकाल लगाएर प्रधानमन्त्रिले स्वास्थ्य मन्त्रालय पनि आफु अन्तर्गत नै राखेर हालसम्म खर्च नभएको सम्पूर्ण बजेट रकमान्तरण गरि सरकारी अस्पताल र स्वास्थ्य चौकीको अवस्था सुधारमा लगाउने हो भने नेपालको स्वास्थ्य क्षत्रले काया पलट नै गर्ने छ।

देशको स्वास्थ्य क्षत्र सवल र सक्षम हुनु भनेको सम्पूर्ण जनताको स्वास्थ्य अवस्था सवल हुनु हो। यसको दिर्घकाल सम्म धेरै फाइदा हुनेछ। यसको विपरित महामारीलाइ निम्तो दिएर यही महामारीमा नागरिकको स्वास्थ्यको दुहाइ दिंदै नागरिक नै लुट्न र भ्रष्ट्राचारमा पौडिन पल्केका व्हेल माछाहरुले यो पटक के कस्तो नौटंकी मन्चन गर्दै जाने हुन्। हामी नागरिकले यिनका नौटंकी हेर्दै जानुको कुनै विकल्प देखिदैन।