तस्बिर साभार वेब

नेपालको विकासमा सहयोग गर्ने राष्ट्रपति सीको घोषणा

Hollywood Khabar October 11,2019 Comments

२५ असोज,काठमाडौं।नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय भोजमा राष्ट्रपति सीले नेपालको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। राष्ट्रपति सीले नेपाललाई चीनसँग रेलमार्गबाट जोड्ने विषयको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले केरुङ-रसुवा-काठमाडौं जोड्ने ३० किलोमिटर लामो सुरुङमार्ग निर्माण गर्ने पनि घोषणा गरेका छन्। उक्त सुरुङमार्गले नेपाल र चीनबीच व्यापारमा सहयोग पुग्ने उनको विश्वास थियो। 

त्यसैगरी अरनिको राजमार्गलाई थप स्तरोन्नती गर्ने पनि सीले घोषणा गरेका छन्। राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरूलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताएका थिए। उनले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताए।

नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उनले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गरेका थिए। राष्ट्रपति सीले भने, ‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ।’ चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताए। उनले भने, ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ। बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ। भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ।’ सीले चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि भूमिका लेख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गरेका थिए। विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उनले व्यक्त गरेका थिए। आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरूमा विचार आदानप्रदान गर्ने बताए। सीले नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाइरहेको र नेपाल गौतम बुद्धको देश भएकाले चीनका जनता यहाँ पर्यटकका रूपमा आउने विश्वास व्यक्त गरेका थिए।